स्वतन्त्र मधेश गठबन्धनसँग ११ बुँदे सहमति मधेशको लागि मात्र नभइ समग्र नेपालको लागि हो । यो देशको हितमा छ । त्यसैले हामीले सकारात्मक रूपमा लिएका छौं ।
यो सहमति दुई देशको बीचमा भएको जस्तो भनेर सत्तारूढ दलकै नेताहरूले गुनासो गर्नुको कुनै तुक छैन । कसैको सोचाई त हामीले परिवर्तन गर्न सक्दैनौं । हाम्रो स्वतन्त्र मधेश गठबन्धनलाई उहाँहरूले अर्कै देशको गठबन्धन हो भनेर मान्नुहुन्छ भने त्यसमा हामीले स्पष्टीकरण दिन जरूरी नै हुँदैन ।
पहिलेको गतिविधिमा केही परिवर्तन अवश्य हुन्छ । हामीले सरकारसँग गरेको सहमती भित्र नै बसेर कार्यक्रमहरू अगाडि बढाउँछौं ।
मधेशको जनतालाई के चाहिएको छ त्यसको आधारमा अलग राष्ट्र हुने कि नहुने भन्ने निर्णय हुन्छ । त्यसमा हामीले रोकेर पनि रोक्न सक्दैनौं । मधेशमा अनेक किसिमका आन्दोलनहरू भइराखेका हुन्छन् त्यसमा जनताको आवाज नै मुख्य हुन्छ । हामी नै मधेशको ठेकेदार हौं हामीले जे भन्यौं त्यही हुन्छ भन्न मिल्दैन ।
मधेश छुट्टै देश चाहिन्छ भनेर यदि जनताको माग थिएन भने सरकारले यति धेरै जनालाई किन जेलमा राखिरहेको थियो ? सरकार हामीसँग किन डराइरहेको थियो ? आज देशको प्रमुखले सीके राउतलाई किन प्रचण्डजीसँग तुलना गर्नुभयो त ? त्यहाँका जनताले नै चाहँदैन भन्दै थिए भने हामीसँग किन सम्झौता गरेको यस्ता धेरै प्रश्न उठाउने ठाउँहरू रहन्छ ।
मधेशी जनताका लागि नै स्वतन्त्र मधेश गठबन्धन उब्जेको थियो । अब केही दिनमा हामी जनता माझमा जानेछौं र जनताको चाहना के हो बुझ्छौं र त्यही अनुरूप अगाडि बढ्छौं ।
जनमत संग्रह र जनअभिमतबीचको फरक बुझ्न सक्नुपर्छ । मैले यी दुई शब्दको बीचमा खासै फरक देख्दिन । मधेशका जनताले बुझेका छन् कि सीके राउतको माग के हो भनेर ।
मधेशी दलहरूले ११ बुँदे सहमतिप्रति आपत्ति जनाउनुको कुनै अर्थ छैन । उहाँहरू त दुई वटा पार्टी हुनुहुन्थ्यो अब अर्को तेस्रो पार्टी पनि आएको छ भनेर खुसी हुनुपर्ने हो । अब एकअर्काको विरोध गरेर बस्ने समय छैन । विगतमा भएका कमीकमजोरीलाई सच्याउँदै समाधानको दिशामा मिलेर अगाडि बढ्न मधेशी दलहरूलाई म आग्रह गर्छु ।
अब पनि टुटफुटको राजनीति गरिरहने हो भने अन्त्य निश्चित छ । मधेशी जनताको हक, अधिकार र पहिचानका लागि काम गर्ने जति पनि राजनीतिक दल, संघ र संगठन छ सबै मिलेर जाऊँ भन्ने हाम्रो आग्रह छ । आजसम्म मधेशी दलहरूले हामीलाई बेवास्ता नै गरेर हिंडेको हो । जब आज हामीले अल्लि बाटो परिवर्तन ग¥यौं भनेर चित्त दुखाउनुको कुनै तुक छैन ।
एउटा कुरा के स्पष्ट छ भने हामीले मधेशी दलको विपक्षमा हामी कहिल्यै बोलेनौं । उहाँहरू आफैंले बोलेको कुरा पूरा नगर्ने अनि हामीले त्यहीं विषय उठाउँदा विपक्षमा बोलिदियो भन्न त भएन नि । हामीले मधेशी दललाई राम्रो वा नराम्रो देखाउन जरूरी नै छैन । उनीहरूले जस्तो क्रियाकलाप गर्दैछ्रन् त्यसकै आधारमा कुनै विषयमा आउँदा जवाफ दिने मात्र हो ।
मधेश आन्दोलनमा शहिद भएकाहरूलाई ५० लाख दिने विषय, विगतको दिनमा यो–यो काम गर्छु भनेर जनतालाई आश्वासन दिएर मत लिएको थिए । ती कामहरू किन भएन भनेर प्रश्न उठाएका मात्र हो । मधेशी दलहरूले जनतालाई बारम्बार धोका नदिएको भए मधेशमा सीके राउतको जन्म हुने नै थिएन ।
निर्वाचनको समयमा कोठा बाहिर मतदान गर्नु भनेर हामीले जनतालाई आग्रह गरेका थियौं । मधेशी दललाई कमजोर बनाउनु हाम्रो रणनीति थिएन । उनीहरू नै निर्वाचनको विरोधमा थिए तर पछि एक्कासी किन निर्वाचनमा गए यो अहिलेसम्म रहस्यमयी नै छ । आन्दोलन २२ जिल्लामा गर्ने अनि निर्वाचन ८ जिल्लामा आएर सीमित हुने यो त जनतामाथि अन्याय नै गरेको हो ।
केपी ओली प्रधानमन्त्री हुनुहुन्छ । सरकारले कसैको विरोध गर्दैन सबैलाई समेटेर जाने सोच बनाएको हुन्छ । सरकारले हाम्रो समस्याको समाधान गर्छ भने त्यसमा आपत्ती मान्नुपर्ने कारण केही छैन । विगतमा माओवादीले १७ हजार मान्छे मारेर १० वर्ष जनआन्दोलन गरेर आउँदा पनि गिरिजाबाबुले समेट्नुभएको होइन ? केपी ओली दुई तिहाईको सरकार संचालन गरेर बसिराख्नुभएको छ । देशमा रहेका विरोधका आवाजहरूलाई उहाँले सम्बोधन नगरे त अर्को विकल्प नै छैन ।
सरकारसँग ११ बुँदे रातारात भएको सम्झौता होइन । सम्झौताको विषयमा विगत पाँच महिनादेखि कुरा भइरहेको थियो । सीके राउत जेलमा गएदेखि नै हामीले वार्ताको प्रयास सुरू गरेका थियौं । सोमबहादुर पाण्डेको संयोजकत्वमा गठन भएको सरकारी वार्ता टोली स्वतन्त्र मधेश गठबन्धनकै लागि बनेको थियो । यो परिणाम लामो समयको कसरत पछि आएको हो । हामीले अरू संगठन र पार्टीले जस्तो सबै विषयलाई बाहिर ल्याउन नचाहेका हौं ।
हाम्रो कुनै पनि नेता कार्यकर्ता सीके राउतजीको सम्बोधनबाट असन्तुष्ट छैन भन्नु गलत हो । असन्तुष्टी हुन्थ्यो भने र त्यस्ता खबर बाहिर आउँथ्यो । हाम्रो विरोधीहरूले अफवाह मात्र फैलाइरहेका हुन् । आफ्नो नेतृत्वमा विश्वास गर्नैपर्छ ।
केहीले राउतजीले ओली सामु आत्मसमर्पण ग¥योे भन्छन् केहीले ओलीजीले राउत सामु आत्मसमर्पण ग¥यो भन्छन् । यस्ता भनाईहरू राजनीतिमा चलिरहन्छ । हामी एकअर्काको सहमतिमा अगाडि बढेका हौं । कोहीले कोहीसँग आत्मसमर्पण गरेको छैन ।
हामी पहिले बैठक बस्छौं । डा. सीके राउजी अहिले बिरामी अवस्थामा हुनुहुन्छ उहाँलाई आराम भएपछि हामी आगामी योजनाको विषयमा छलफल गरेर अगाडि बढ्छौं ।
जनकपुरमा हाम्रा कार्यकर्ताहरूले स्वतन्त्र मधेश गठबन्धन जिन्दावाद, डा. सीके राउत जिन्दावाद भन्ने नारा लगाएका हुन् । आम जनताले के बोलेको छ त्यतातिर अहिले नजाऔं । जनताले बोलिरहेको समयमा यस्तो नभन्नु भनेर हामीले रोक्न त सक्दैनौं नि ।
लोकतान्त्रिक व्यवस्था अनुरूप अगाडि बढ्ने भन्ने हाम्रो सम्झौतामा उल्लेख छ । त्यहाँका जनताले त्यही व्यवस्था अनुरूप नै नाराबाजी गरेका थिए । त्यो आवाज रोक्ने हामीसँग अधिकार छैन ।
सरकारले सम्झौतामा उल्लेख गरेजस्तो मधेशी जनताको माग सम्बोधन गर्ने हो भने स्वतन्त्र मधेशको आवश्यक्ता रहँदैन । तर यो विषय फेरि उठ्छ वा उठ्दैन त्यो सरकारकै व्यवहारमा भर पर्छ । सरकार इमान्दार भयो भने हामी नि इमान्दार हुन्छौं ।
(स्वतन्त्र मधेश गठबन्धनका नेता यादवसँग गरिएको कुराकानीमा आधारित)
तपाईको प्रतिक्रिया