म सधै मधेश आरक्षण कोटाका लागि लेखमार्फत आन्दोलन गर्ने, आज भन्दै छु मधेशी कोटा खारेजी गरौं । मधेश आन्दोलनबाट प्राप्त महत्वपूर्ण उपलब्धिहरूमध्ये आरक्षण पनि एक हो । मधेशमा बसोबास गर्ने पिछडिएका मधेशीहरूका लागि आरक्षणको व्यवस्था गरिएको हो । तर मधेशी कोटाको फाइदा आफूलाई गैरमधेशी भनिने उन्नत वर्गका मान्छेले लिएको देखेपछि कि त मधेशी कोटा खारेजी गरौं नभए यसलाई व्यवस्थापन गरी पिछडिएका वर्गहरूमा स्वस्थकर प्रतिस्पर्धा गराउ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सबै ठाउँमा मधेशी कोटाको चरम दुरूपयोग हुँदै गरेको देखिन्छ ।
भर्खरै सकिएको विभिन्न राजनीति पार्टीको महाधिवेशनको परिणाम हेर्दा पनि मधेशी कोटाको चरम दुरूपयोग भएको देख्न पाइयो । राजनीतिकरूपमा पिछडिएका व्यक्तिहरूका लागि छुट्टयाइएको कोटाबाट बौद्धिकरूपमा सम्पन्न देखिने राजनीतिकर्मीहरूले लिएको फाइदा देख्दा, अब कोटा हटाएकै बेस हुन्छ जस्तो लाग्ने थाल्यो । नेपालको सबैभन्दा ठूलो धनी भनिने एक जना महासय पनि मधेशी कोटाबाट कुनै राजनीति पार्टीको केन्द्रीय सदस्यमा विजयी भएको भन्दै विजय जुलुस निकालेको देखियो । यो विजय जुलुस हेर्दा बच्चामा शिक्षकले घरबाट गृहकार्य गरेर ल्याउभन्दा दिदी बहिनीबाट गृहकार्य गराएर शिक्षक अगाडि छाती फुलाएर शानले गएजस्तै लाग्यो । त्यति मात्र कहाँ हो र !
पूर्वमन्त्रीज्युहरू पनी मधेश कोटाबाट सहमहामन्त्री, केन्द्रीय सदस्य आदि पदमा निर्वाचित भएको देख्दा मधेशको पिछडिएका वर्गलाई सधैं पछाडी धकेल्ने काम मधेशका उन्नत वर्गका मान्छेले नै पिछडिएका वर्गको भागको हिसा खाइदिएर हो जस्तो लाग्यो । तर अर्को अनौठो कुरा त के हो भने हालसालैमा भएको विभिन्न पार्टीहरूको महाधिवेशनमा मधेशी कोटाबाट पदाधिकारीमा जित्ने नेता कर्याकर्ताहरूले मधेश÷ मधेशवादी पार्टीले गरेको आन्दोलनलाई कहिले समर्थन गरेको देखिएन उल्टै मधेशको जायज मागहरूको बारेमा कहिले बोलेको देखिएन तर आज तिनै मधेश आन्दोलनबाट प्राप्त आरक्षण कोटाको प्रयोग गरेर पार्टी भित्र आफ्ना स्थान पाएका छन् ।
पार्टीको चुनावमा मात्र होइन, विगतको तीनै तहमा भएको पदाधिकारीको संख्या हेर्ने हो भने महिला कोटामा सामन्ती परिवारको पहुँच धेरै नै देखिन्छ । राजनीतिमा महिलाको पहुँच हुनुपर्छ भनेर महिला कोटाबाट राजनीतिमा छिरेकाहरू आफ्नो परिवारमा भएका पुरूषकै हेडलाइट बनेर आएका छन् ।
अदि आरक्षण कोटालाई सहि व्यवस्थापन गर्न सकिएन भने भोलिको दिनमा पिछडिएका वर्गलाई त्यहीं समुदायको मान्छेले यिनलाई झन् पछाडि धकेल्ने काम गर्नेछ । आरक्षणले मधेशलाई झन् कमजोर हुँदै गरेको देखिन्छ । आफूलाई केन्द्रीयस्तरको राजनेता ठान्ने व्यक्तिले यसरी कोटाबाट केन्द्रसम्म पुग्न थालेपछि, मधेशमा रहेको पिछडा वर्गलाई कसरी केन्द्रीय नेतृत्वमा पु¥याउने त । सधै काठमाडौं÷मधेश बाहिर बस्ने नेतागणले ती पीडित समुदायको आरक्षणमा गएकोले कसरी केन्द्रसम्म पीडितका लागि लड्छ भन्ने हेर्न बाँकी छ ।
त्यसैगरी, सरकारी तथा गैरसरकारी जागिरमा पनि यस्तै एउटा अर्को समूहको भिड छ । स्थायी पदका लागि लिइने विभिन्न परीक्षाहरूको सिफारिसको नतिजा हेर्दा पनि यस्तै एउटा नयाँ समूहले मधेश कोटाको दुरूपयोग गरेको देख्न पाइन्छ । माध्यमिकसम्मको शिक्षामा राम्रोसँग पढ्ने अवसर नपाएको विद्यार्थीहरूका लागि दिइएको आरक्षणमा नर्सरीदेखि स्नातकोत्तरसम्मको शिक्षा भौतिक सुखसुबिधा तथा ठूला–ठूला लगानीकर्ताको लगानीमा बनेका निजी विद्यालयमा पठनपाठन गरेका वर्गले जागिर खाएको देख्न पाइन्छ ।
यी वर्गका व्यक्तिहरूलाई आफू मधेशी हो भन्ने भावना अलिकति पनि होइन । यी वर्गका व्यक्तिहरूले अवसर लिने बेलामा मात्र मधेशी बन्छ त्यो पनि नेपाल सरकारको परीक्षा र अन्तर्वार्तामा मात्र मधेशी बन्छ फेरि परीक्षा बाहिर आउँदा यिनीहरू गैरमधेशी बन्छ । यस्ता वर्गका मान्छेहरूले त कतिसम्म गर्छन् भन्दा आफ्नो नाममा भएको मधेशी पहिचान भएको शब्द पनि हटाउने गरेको देख्न पाइन्छ । जस्तै साहको साटो शाह, यादवको साटो अधिकारी, रायको साटो राई आदि । यस्ता वर्गका मान्छेहरू प्रायः गैरभौगोलिक मधेश हुन् ।
यिनीहरू धेरैले कोर मधेशबाट बसाइँसराइ गरी पहाडीको बाहुल्यता भएको ठाउँमा बसोबास गर्दै गरेको पाइन्छ । यिनीहरूले आफ्नो नाममा परिवर्तन गर्न सकेन तर आफ्नो सन्तानको नामको पछाडिको टाइटल चाहिँ परिवर्तन गर्छन् । जातिवादको विरोधमा यस्तो गर्ने भए आफ्नो टाइटल हटाएर पहाडी जातीयसँग मेलखाने टाइटल किन राखेको त ? योबाट प्रष्ट हुन्छ कि यिनीहरू जातीवादी विरोधी होइन यिनीहरू त आफूलाई मधेशी भएकोमा लज्जित छन् । मधेशीभन्दा लज्जित हुने अनि मधेशी कोटामा अवसर पाउन अगाडि आउने ?
आरक्षणमा लड्नका लागि ग्रामीण भेगबाट सरकारी विद्यालयबाट पढेलेखेकालाई मात्र अवसर पाउने खालको नीति ल्याउनुपर्ने देखिन्छ । नत्र प्रत्येक १० वर्ष आरक्षण परिमार्जन हुँदा राज्यले मधेशीको पहुँच भयो भनेर आरक्षण काटिन्छ तर मधेशको गाउँको अवस्था जस्ताको जस्तै रहन्छ ।
तपाईको प्रतिक्रिया