मधेशका अधिकांश जनजीवन कृषिमा निर्भर छन् । किसानका समस्या अहिलेको होइन, वर्षौंदेखिको हो । किसानले खेतीपाती गर्ने र त्यसका लागि चाहिने मलखाद्य, बीउबिजन र सिंचाइको आवश्यकता नै अहिलेको हो । त्यसकारणले किसानहरूका लागि यो महत्वपूर्ण समय भएकोले अहिले किसानको आन्दोलन अत्यावश्यक देखियो ।
जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले मधेश यात्रा गर्दा धेरै किसानहरूले आफ्ना समस्या राख्नुभयो । म आफै पनि कैलाली, कञ्चनपुर, मोरङ, सुनसरी लगायतका जिल्लामा जाँदा त्यहाँ किसानहरूको पीडा हेरें । कैलाली, कञ्चनपुरका किसानहरूले उब्जाएको धान काटिसकेको अवस्था डुब्यो ।
त्यहाँका किसानको अवस्था एकदमै विकराल देखिसकेपछि यो आन्दोलन अहिले नै गर्नुपर्छ र राज्यले क्षतिपूर्ति दिनुपर्ने, मलखाद्य उपलब्ध गराउनुपर्नेलगायत किसानहरूको जकडिएर रहेका समस्याहरूको समाधान गर्नुपर्छ भनेर यो आन्दोलन सुरू भएको हो । यो हामीलाई मात्रै लागेर होइन, आम किसान, आम सर्वसाधारणलाई महसुस भएर यो आन्दोलन सुरू भएको हो ।
जनमत पार्टीले आफ्नो राजनीतिक रोटी सेक्नका लागि मात्रै यो आन्दोलन चर्काएको भन्ने खालका आरोपहरू पनि लाग्यो । तर म एउटा कुरा सोध्न चाहन्छु कि जनमत पार्टीमा कति किसानहरू होलान् ? वा जनमत पार्टीको नेतृत्वमा मात्रै कति किसानहरू होलान् ? त्यसो भए उखु किसानको भुक्तानी भए जनमत पार्टीका नेता कार्यकर्ताहरूको मात्रै भुक्तानी हुन्छ ?
मलखाद्य समयमा उपलब्ध गराइयो भने के जनमत पार्टीकै नेता कार्यकर्ताले मात्रै पाउँछन् ? के किसानका समस्याहरू समाधान भयो वा पेन्सन दिइयो भने जनमत पार्टीकै नेता कार्यकर्ताले पाउने हो ? यो अफवाह फैलाइएको हो । यो आन्दोलनको नेतृत्व जनमत पार्टीले मात्रै गरिदिएको हो । यो आमकिसानहरूको आन्दोलन र माग हो । जुन किसिमले किसान विरोधीहरूले यो आन्दोलनलाई बदनाम गराउन खोजे, त्यो सत्यता होइन ।
अहिले भइरहेको किसान आन्दोलनको जनमत पार्टी नेतृत्व मात्रै गरिदिएको हो । यसमा आमकिसानको समर्थन छ, प्रदर्शन र विरोध कार्यक्रममा किसानहरूको पनि सहभागिता छन् । जनमत पार्टी वा किसानहरू कहिल्यै पनि हिंसात्मक आन्दोलनमा विश्वास गर्दैन ।
जहिले पनि शान्तिपूर्ण तरिकाले आन्दोलन गर्ने, आफ्नो माग राख्ने तर जहाँ प्रहरीले दमन गर्छ, किसानले आफ्नो माग राख्दै गर्दा कसैले अवज्ञा गर्छ भने त्यहाँ प्रतिवाद हुनु स्वाभाविकै हो । यो जुनसुकै आन्दोलनमा हुन्छ । धेरै यस्ता तत्वहरू छन् जसले किसानहरूलाई जहिले दबाएर राख्नेहरू यो आन्दोलनको विरोधमा देखिएका छन् ।
किसानको आन्दोलनलाई दबाउन खोज्नेहरू नै आन्दोलनको अवज्ञा गर्न खोज्ने, उक्साउने, आक्रोशित पार्ने जस्ता कार्यहरू गरिरहेकाले यो आन्दोलन अलिकति उग्र देखिएको हुनसक्छ । तर नीतिगत रूपमा यो आन्दोलन हिंसात्मक हुनुपर्छ भनेर कसैले भनेको छैन । तर जसले आन्दोलनको अवज्ञा गर्छ, किसानमाथि हस्तक्षेप, लाठीचार्ज, गोली प्रहार गर्छ, त्यस्तो अवस्थामा तिनीहरूमाथि पनि किसानले प्रहार गर्नेछ ।
(कुराकानीमा आधारित)
तपाईको प्रतिक्रिया