आत्मनिर्भरता नेपालको आवश्यकता

विचार/दृष्टिकोण

मनोज यादव

नेपाल एक ऐतिहासिक, सांस्कृतिक, र प्राकृतिक रूपमा धनी देश हो । हिमालयको काखमा अवस्थित हाम्रो देशले हजारौं वर्षदेखि आफ्नै पहिचान जोगाइरहेको छ । तर, आधुनिक युगमा हाम्रो अर्थतन्त्र विदेशी सहायता, रेमिट्यान्स, र अन्य मुलुकहरूको सहयोगमा अत्यधिक निर्भर बन्दै गएको छ । यो परनिर्भरता दीर्घकालीन रूपमा टिकाउ हुन सक्दैन। आत्मनिर्भर नेपाल निर्माण गर्नका लागि अब गहिरो आत्ममूल्यांकन र ठोस कदम चाल्ने समय आइसकेको छ ।

हालै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई लिएर दिएको विवादास्पद अभिव्यक्तिले अन्तर्राष्ट्रिय समुदायमा चर्चा पाएको छ । ट्रम्पले क्यानडालाई अमेरिका अन्तर्गतको ५१औं राज्य बन्न सुझाव दिँदै, क्यानडालाई दिइने अमेरिकी सहयोग अनावश्यक रहेको बताएका थिए ।

ट्रम्पको यो भनाइले अमेरिका–क्यानडा सम्बन्धमाथि प्रश्न उठाएको मात्र होइन, दक्षिण एसियामा पनि विभिन्न परिप्रेक्ष्यमा बहस जन्माएको छ । यदि यही सोचलाई नेपाल–भारत सम्बन्धसँग तुलना गरियो भने, के नेपाल भारतको सहयोग बिना आत्मनिर्भर हुन सक्छ ?

परनिर्भरताको वर्तमान अवस्था

नेपाल लामो समयदेखि विभिन्न माध्यमबाट भारतको आर्थिक, व्यापारिक तथा भौतिक सहयोगमा निर्भर रहँदै आएको छ । व्यापार, ऊर्जा आपूर्ति, पूर्वाधार निर्माण, र लगानीमा भारत प्रमुख साझेदार हो । नेपालले आवश्यक पर्ने धेरै उपभोग्य वस्तुहरू भारतबाट आयात गर्छ, जुन नेपाल–भारत सम्बन्धको अभिन्न पक्ष हो ।

त्यसैगरी, नेपालले ठूलो मात्रामा विदेशी अनुदान, रेमिट्यान्स, तथा अन्य आर्थिक सहयोगमा भर पर्छ । यदि भारत वा अन्य सहयोगी मुलुकहरूले आर्थिक तथा व्यापारिक समर्थन रोक्ने स्थिति आयो भने, नेपालको अर्थतन्त्र गम्भीर संकटमा पर्ने विज्ञहरू बताउँछन् ।
नेपालको आर्थिक संरचना विदेशी सहयोगमा निकै निर्भर छ ।

हाम्रा धेरै पूर्वाधार विकास परियोजनाहरू विदेशी अनुदान र ऋणमा आधारित छन्। साथै, नेपालका लाखौं युवाहरू वैदेशिक रोजगारीमा निर्भर छन्, जसले ठूलो परिमाणमा रेमिट्यान्स पठाइरहेका छन् । तथापि, यसरी बाह्य स्रोतहरूमा मात्र भर पर्नु दीर्घकालीन समाधान होइन । यदि कुनै कारणवश भारत वा अन्य मुलुकहरूले नेपाललाई दिँदै आएको सहायता रोक्यो भने, हाम्रो देशको अर्थतन्त्र ठूलो संकटमा पर्न सक्छ ।

आत्मनिर्भर बन्ने उपायहरू

नेपाललाई आत्मनिर्भर बनाउनका लागि विभिन्न क्षेत्रहरूमा सुधार आवश्यक छ ।

औद्योगिक विकास – नेपालमा पर्याप्त कच्चा पदार्थ उपलब्ध छ, तर ती संसाधनलाई उपयोग गरेर उद्योग खोल्ने नीति प्रभावकारी छैन । कृषि, जलस्रोत, खनिज, र अन्य प्राकृतिक सम्पदालाई उपयोग गर्दै नेपाललाई उत्पादनशील बनाउनु जरुरी छ ।

कृषिको आधुनिकीकरण – नेपाल कृषिप्रधान देश भए पनि हामी खाद्यान्नमा आत्मनिर्भर छैनौं। कृषि क्षेत्रमा प्रविधिको प्रयोग, वैज्ञानिक अनुसन्धान, र आधुनिक उपकरणहरूको उपयोग गरेर उत्पादन बढाउनु आवश्यक छ ।

ऊर्जा तथा जलस्रोतको उपयोग – नेपाल जलस्रोतमा विश्वकै दोस्रो धनी देश हो। यदि जलविद्युत् उत्पादनलाई व्यावसायिक रूपमा विकास गरियो भने नेपालले आफ्नै ऊर्जा आवश्यकतामात्र होइन, छिमेकी देशहरूलाई पनि बिजुली निर्यात गर्न सक्छ ।

पर्यटन प्रवद्र्धन – नेपालमा पर्यटनको अपार सम्भावना छ । हिमाल, सांस्कृतिक सम्पदा, वन्यजन्तु, धार्मिक स्थल आदि नेपालका प्रमुख पर्यटकीय आकर्षण हुन् । तर, हाम्रो पर्यटन पूर्वाधार कमजोर छ । यसको विकासले देशलाई ठूलो मात्रामा राजस्व आर्जन गर्न सहयोग पु¥याउँछ ।

शिक्षा तथा प्रविधिमा लगानी – गुणस्तरीय शिक्षा र प्रविधिमा लगानी नगरीकन आत्मनिर्भर अर्थतन्त्र सम्भव छैन । शिक्षालाई रोजगारमुखी बनाउँदै वैज्ञानिक अनुसन्धान र नवीनतम प्रविधिहरूको विकास गर्नुपर्छ ।

भ्रष्टाचारको अन्त्यः आत्मनिर्भरताको पहिलो शर्त

विश्लेषकहरूका अनुसार, नेपालको आर्थिक अवस्था सुधार गर्न दीर्घकालीन योजना आवश्यक छ । जलविद्युत् उत्पादन तथा निर्यात, पर्यटन प्रवद्र्धन, औद्योगिक विकास, र कृषिको आधुनिकीकरणले नेपाललाई आत्मनिर्भरतातर्फ डो¥याउन सक्छ । साथै, भ्रष्टाचारको अन्त्य र सुशासनको स्थायित्वले मुलुकलाई बलियो बनाउनेछ ।

अर्थशास्त्री भन्छन्, “नेपालले आफ्नो प्राकृतिक स्रोतसाधनलाई अधिकतम रूपमा उपयोग गरेमा र सही नीति अपनाएमा नेपाल आत्मनिर्भर बन्न सक्छ । तर, अहिलेको जस्तो अवस्था रहिरहेमा विदेशी सहयोग रोकिँदा ठूलो आर्थिक संकट निम्तिन सक्छ ।”

नेपालको समृद्धि र आत्मनिर्भरताको बाटोमा सबैभन्दा ठूलो अवरोध भनेको भ्रष्टाचार हो । सरकारी स्रोतसाधनको दुरुपयोग, राजनीतिक अस्थिरता, र भ्रष्टाचारले गर्दा मुलुकको विकास सम्भव भएको छैन । यदि नेपाललाई साँच्चिकै आत्मनिर्भर बनाउने हो भने, पहिलो आवश्यकता पारदर्शिता, इमानदार नेतृत्व, र सुशासन हो ।

निष्कर्ष

ट्रम्पको अभिव्यक्तिले अमेरिका–क्यानडा सम्बन्धको संवेदनशीलता उजागर गरेको छ । तर, यसबाट सिक्दै नेपालले दीर्घकालीन रूपमा आत्मनिर्भर बन्ने उपायहरू खोज्नु अपरिहार्य देखिन्छ । नेपाललाई स्थायी रूपमा परनिर्भरताको सञ्जालबाट मुक्त गराउन राष्ट्रिय एकता, सुशासन, र उचित नीतिगत सुधार जरुरी रहेको विज्ञहरू बताउँछन् ।

नेपाल अब सधैं विदेशी सहायतामा भर पर्न सक्दैन । देशको समृद्धि नेपाली जनताकै हातमा छ। आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि उद्योग, कृषि, जलस्रोत, पर्यटन, र प्रविधिमा लगानी गर्नुपर्छ । भ्रष्टाचारमुक्त शासन, सक्षम नेतृत्व, र राष्ट्रिय एकताको भावना नै नेपाललाई आत्मनिर्भर बनाउने प्रमुख आधार हुन् । अब हामी सबै नेपाली एकजुट भएर मेहनत गर्नुपर्छ, ताकि हाम्रो देश दानमा होइन, आफ्नै श्रममा टिक्ने राष्ट्र बनोस् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ