सामुदायिक विद्यालयको नतिजा सुधारमा जोड

शिक्षा

4/5/2019

कपिलवस्तु, २२ चैत । जिल्लाका विभिन्न स्थानीय तहमा सामुदायिक विद्यालयहरुको नतिज खस्कदै गइरहेको छ । नतिजालाई विश्लेषण गरि सुधार गर्नका लागि थप कदम चाल्नुपर्ने बुद्धभूमि नगरपालिकाले जनाएको छ ।

बुद्धभूमि नगरपालिकाले सामुदायिक विद्यालयको पढाईलाई गुणस्तरीय बनाउनका लागि दीर्घकालीन योजना बनाउने भएको छ ।

शिक्षा क्षेत्रको विकास बिना अन्य विकासको अर्थ नहुने भन्दै नगरपालिकाले सामुदायिक विद्यालयको स्तरलाई गुणस्तरीय बनाउन लागेको हो ।

अहिलेसम्म विभिन्न कारणले पढाइको स्तर सोचेजस्तो नभए पनि अबदेखि दीर्घकालीन योजना बनाएर काम गर्नुपर्नेमा नगर प्रमुख केशव कुमार श्रेष्ठले जोड दिएका छन् ।

संविधानले आधारभूत तहसम्मको शिक्षाको रेखदेख गर्ने अधिकार स्थानीय सरकारलाई दिएको अवस्थामा पुरानै पाराले शिक्षा क्षेत्रमा परिवर्तन नआएको लक्षण देखिएकाले बुद्धभूमिले विशेष योजना बनाएर काम गर्ने नगर प्रमुख श्रेष्ठले बताएका छन् ।

यो शैक्षिकसत्रको अन्तिम समयमा राखिएको नगरपालिका स्तरीय प्रधानाध्यापक बैठकलाई विहीबार गोरुसिंगेमा सम्बोधन गर्दै उनले यस बर्ष पनि सामुदायिक विद्यालयको नतिजा सोचेजस्तो आउन नसकेको भन्दै चिन्ता व्यक्त गरे ।

भर्खरै सकिएका कक्षा ५ र कक्षा ८ को नतिजालाई नजिकबाट नियाल्नुभएका उनले यो नतिजाले आफुलाई लज्जित बनाएको बताए ।

शिक्षकले वर्षभरि पढाए पनि नतिजा बालुवामा पानी खन्याय सरी आएको भन्दै अगामी दिनमा पनि यस्तो नतिजा आए सबैभन्दा दुर्भाग्य हुने बताए । अब नगरपालिकामा शिक्षाको गुणस्तर सुधानका लागि विशेष योजना बनाइने उनले बैठकमा बताए ।

प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले समयानुकुल शिक्षण सिकाईमा केन्द्रित हुन शिक्षकलाई आग्रह गरे । शिक्षामा हरेक दिन नयाँ नयाँ कुरा आइरहने भन्दै उहि पुरानै तरिकाको पठनपाठनले सामुदायिक विद्यालयको शिक्षा नसुध्रिने तर्क गरे ।

सामुदायिक विद्यालयको पढाई सोचेजस्तो नहुनुमा थुप्रै कारण भएपनि शिक्षकनै त्यसका प्रमुख जिम्मेवार व्यक्ति भएको बताए । यो बर्ष पनि नगरको शिक्षामा खासो राम्रो उपलब्धी नदेखिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत पाध्याले अब विशेष योजना बनाएर काम गर्नुपर्नेमा जोड दिए ।

बुद्धभूमि नगरपालिकाका शिक्षा शाखा प्रमुख लिल बहादुर राउतले नगरको शिक्षा सुधारमा आफु सक्दो प्रयास गर्ने बताए । नगरपालिकामा पहिलो पटक हाजिरी हुन आउनुभएका राउतले शिक्षा क्षेत्रको सुधार अभियानमा आफुलाई सघाउन आग्रह गरे ।

सबैको साथ विना कुनै काम गर्न नसकिने भन्दै आफुले सबैको साथ खोजेको बताए । स्रोत व्यक्ति खेमराज पौडेलको सञ्चालनमा भएको बैठकमा नगरपालिकाका सामाजिक विकास अधिकृत हिमलाल विश्वकर्मा, सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापक लगायतको उपस्थिती रहेको थियो ।

बैठकमा नयाँ शैक्षिकसत्रमा भर्ना अभियान कसरी सफल पार्ने र शिक्षको सुधार कसरी गर्ने भन्ने बारेमा वृहत छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ