धनुषामा शैक्षिक संस्था खुल्ने

शिक्षा

जनकपुरधाम, १७ भाद्र । धनुषामा कोरोना महामारीको कारण बन्द रहेका शैक्षिक संस्था खोल्न दिने निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको अध्यक्षतामा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले ६ कक्षाभन्दा माथिका कक्षाहरु भौतिक रुपमा संचालन गर्न दिने निर्णय गरेको हो ।

शिक्षण सिकाइका गतिविधिलाई निरन्तरता दिने सम्बन्धमा नेपाल सरकारबाट जारी स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि २०७८ र सिसिएमसीबाट स्वीकृत कोभिड महामारीको अवस्थामा हुन सक्ने निषेधाज्ञाको प्रकृति अनुरुप शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित क्रियाकलापहरुको कार्यान्वयन सम्बन्धी कार्ययोजना तथा शिक्षण सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार विद्यालय खोल्न दिने निर्णय भएको हो ।

प्रजिअ बास्तोलाले विद्यालय संचालन सम्बन्धी कार्य ढाँचा २०७७ को पूर्णपालन गर्ने गरी सम्बन्धित स्थानीय तहले संक्रमणको अवस्थालाई विश्लेषण गरी आवश्यक व्यवस्था मिलाएर विद्यालय संचालन गर्न पाउने निर्णय भएको बताए ।

विद्यालयहरु सञ्चालन भएपछि विद्यालयमा तापक्रम थर्मल गनबाट अनिवार्य परीक्षण गर्नुपर्ने, मास्क अनिवार्य गर्नुपर्ने, हात धुने स्थानको व्यवस्था र कक्षा कोठामा स्यानिटाइजर राख्नुपर्ने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ