राजविराज, ६ फागुन । सप्तरी जिल्लाका ७१ वटा सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोटमा परेका छन् ।
संघीय सरकारअन्तर्गतको उक्त कार्यक्रममा विद्यालयमा भवन निर्माण, सूचना प्रविधि प्रयोगशाला र विज्ञान प्रयोगशाला निर्माणलगायत कार्य हुने गरेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा रहेको कार्यक्रमको निर्देशक समितिले निर्णय गरी उक्त कार्यक्रमका लागि सार्वजनिक गरेको हो, जसमा सप्तरीका ७१ सामुदायिक विद्यालय छनोट भएका हुन् ।
कार्यक्रमका लागि कञ्चनरूप र बोदेवरसाइन नगरपालिका तथा बलान बिहुल गाउँपालिकाका ६–६ वटा, राजविराज, हनुमाननगर कंकालिनी र खड्ग नगरपालिका र अग्निसाइर कृष्णासवरण गाउँपालिकाका ५–५ वटा विद्यालय छनोट भएका छन् ।
यस्तै, शम्भुनाथ र डाक्नेश्वरी नगरपालिका तथा महदेवा, तिरहुत र विष्णुपुर गाँउपालिकाका ४–४ वटा विद्यालय छनोटमा परेका छन् । राजगढ र छिन्नमस्ता गाउँपालिकाका ३–३ वटा तथा रुपनी र तिलाठी कोइलाडी गाँउपालिकाका २–२ वटा विद्यालय छनोटमा पनि परेको हो ।
छनोट भएका सबै विद्यालय गरी कुल १२ करोड ६० लाख ५० हजार रुपैयाँ खर्च हुनेछ । छनोट भएका ७१ वटा विद्यालयमध्ये २१ विद्यालयमा ४ कोठे भवन निर्माण हुने छन् ।
४ कोठे भवन निर्माण हुने विद्यालयले ३६ लाख रुपैयाँ पाउने छन् । यस्तै, १५ वटा विद्यालयमा २ कोठे भवन निर्माणका लागि १८ लाखका दरले पाउने छन् ।
३३ वटा विद्यालयमा सूचना प्रविधि प्रयोगशाला निर्माण हुनेछ । जसका लागि ती विद्यालयहरूमा प्रतिविद्यालय ६ लाख ५० हजार रुपैयाँ जानेछ । त्यस्तै, प्रयोगशालाका लागि छनोट भएका २ वटा विद्यालयले १०–१० लाखका दरले रकम पाउने छन् ।
तपाईको प्रतिक्रिया