बजेट खर्च पारदर्शी छ : भरत साह

अध्यक्ष, गौर नगरपालिका, वडा नं. १

स्थानीय सम्वाद्

9/17/2018

० गएको आर्थिक वर्ष २०७४।२०७५ मा वडामा कति बजेट विकास निर्माणमा खर्च गर्नु भयो ? 
— गएको आर्थिक वर्षमा वडाको विकास निर्माणको कार्यमा ८६ लाख रूपैयाँ खर्च भएको छ । वड़ा स्तरमा भएको भेलाबाट छनौट गरिको योजना मध्ये प्राथमिकतामा परेका सड़कको निर्माण, मुस्लिम समुदायको मदरसा मर्मत, विद्युतको पोलहरूमा सड़कवती जडान, विद्यालयको अवस्था सुधार, स्वास्थ्यको क्षेत्रमा सवैको सहयोगमा पारदर्शी रूपमा खर्च गरिएको छ ।


० जनप्रतिनिधि भईसकेपछि कस्तो महसूस भइरहेको छ ?
— सामाजिक सेवामा रहेको बेला जनताको लागि काम गर्दै आएको क्रममा निर्वाचन हुँदा तत्कालीन मधेशी जनाधिकार फोरम लोकतान्त्रिकबाट आफ्नो वड़ाका जनताको सल्लाह अनुसार उठेकोमा सेवाको मौका दिएका वड़ाबासीप्रति आभार व्यक्त गर्न चाहन्छु । जनप्रतिनिधिको रूपमा निर्वाचित भएकोमा हर्षित पनि छु । साथै काम काज गर्न धेरै चुनौतीको सामना गरिरहनु परेको छ । राजनीतिक कारणले गर्नु चाहेको कार्यमा सहमतिको खाँचो रहेकोले गर्हो महसूस भैरहेको छ । १५ वर्षको जनप्रतिनिधि विहीनताले अहिले पनि असर परिरहेको अनुभव भइरहेको छ । आफु गर्न नचाहने र अरूले गर्न खोज्दा अनेक किसिमको बाधा अवरोध उत्पन्न गर्नुको साथै विभिन्न किसिमको आरोप प्रत्यारोपले गर्दा विकासको कार्यमा चुनौती थपिदै गएको छ ।


० तपाइको वड़ामा के कस्ता समस्याहरू रहेका छन् ? 
— नेपाल भरतको सीमासँग जोडिएको मेरो वड़ा रहेको छ । दलित समुदाय, मुस्लिम समुदायको साथै विभिन्न जातजाति, वर्ग, लिंग धर्मको व्यक्तिको बसोबास भएको वडामा पूर्वाधार सडक, नालाको बढी समस्या रहेको छ । शिक्षा, स्वास्थ्यको साथै सामाजिक विकासको मूलभूत समस्याको रूपमा रहेको छ । स्थानीयहरूले समाजमा रहेको समस्यालाई कसरी समाधान गर्ने विषयमा जनचेतनाको आभाव देखिएको छ । अशिक्षित परिवारले गर्ने कार्यलाई शिक्षित परिवारले न्यूनीकरण गर्ने तर्फमा सुझाव नदिई मौन बस्ने र त्यसलाई राजनीतिक मुद्दा बनाएर अगाडी बढ्ने प्रबृतिले कुनै न कुनै रूपमा असर परिरहेको छ ।


० चालू आर्थिक वर्षमा वड़ाका लागि के कस्ता नीति, योजना बनाउनु भएको छ ?
— गत वर्षदेखि निःशुल्क रूपमा वडा कार्यालयबाट बालिकाहरूका लागि सञ्चालन गरिएको कम्प्यूटर तालीम यस वर्ष पनि निरन्तरता पाउने छन् । वड़ाको सडकको स्तर उन्नति गरिनुको साथै विस्तार गरिने, नाला निर्माण गरिने, शिव मन्दिर बनाउने, दलित, मुस्लिम समुदायको बाल बालिकालाई शिक्षामा पहुँच सुनिश्चितता गर्नुको साथै स्तरीय शिक्षा प्रदान गर्नकोलाई विशेष सहयोग गर्ने, स्वास्थ्यका लागि दक्ष चिकित्सक व्यवस्था गरी सुलभ रूपमा स्वास्थ्य सेवा प्रवाह गराउने, पर्यटकीय क्षेत्रको विकास गर्नुको साथै बेटी पढ़ाउ बेटी बचाऊ अभियानको सफलताको लागि सहयोग गर्ने, बालबालिका, जेष्ठ नागरिक, महिला, दलित, मुस्लिम, सिमान्तकृत वर्ग, अपांग, जेष्ठ नागरिक तथा बेरोजगार युवा, महिला, युवतीलाई आर्थिक अवस्था मजबूत बनाउनलाई शिप विकासलाई शिपमूलक कार्यक्रम सञ्चालन गर्ने नीति योजना बनाएको छु ।


० तपाइँको विचारमा गौर नगरपालिकाले गएको आर्थिक वर्षमा कस्तो कार्य गरेको छ ?
— गौर नगरपालिकाले गत आर्थिक वर्षमा राम्रो कार्य गरेको छ । नगरपालिकाको कार्यले पूर्ण रूपमा सन्तुस्ट छु । विगतको जनप्रतिनिधि विहीनताको अवस्थामा लथालिंग भएको व्यवस्था जनप्रतिनिधि आइसके पछि सुधार गर्दै अघि बढिरहेको क्रममा प्रशासनिक सुधार स्रोत साधनको आभावलाई पूर्ति गर्दै नगरपालिकाले विगतको तुलनामा राम्रो कार्य गरेको छ । गौर नगरपालिकाको विकासमा नगरप्रमुख अजय कुमार गुप्ताले राम्रो कार्य गर्नु भएको छ । नगरपालिकाका लागि मेयर गुप्ता विकास पुरूषको रूपमा रहेका छन् । गौरको सुन्दर स्वच्छ बनाउने लक्ष्य लिएर अगाडी बढिरहेको मेयर गुप्ताको सोच, कार्य गर्ने नीति चुस्तदुरूस्त रहेको छ । निःस्वार्थ भावले विकास प्रति ध्यान केन्द्रित गरेको मेयर र उपमेयरलाइ बदनाम गर्ने षड्यन्त्र समेत भैरहेको छ । कार्य गर्नेलाइ सहयोग गर्नुको साटो भ्रमित गरेर उद्देश्य पूर्ति गर्नुबाट बंचित गर्ने कार्य बढी भैरहेको देखिएको छ । गौर राईस मिलको जग्गा अधिग्रहण गर्नु मुख्य चुनौती भएकोले त्यसलाई जसरी भएपनि अधिग्रहण गरी जनताका लागि बनाउने हामी सबैको साझा संकल्प रहेको छ ।


० अन्तमा तपाई आफ्नो नगरबासी र वडाबासीलाइ के भन्न चाहनु हुन्छ ?
— गौर नगरपालिकाका हाम्रा आदरणीय नगरवासी र वड़ाबासीहरूलाई नगरको विकासको कार्यमा सहयोग गर्न आग्रह गर्दछु । सरकारले दिएको बजेटको पारदर्शी रूपमा सवै सहभागितामा खर्च गरिने छ । विकासको विषयमा बाधा अवरोध नगरी सहयोग गर्नु पर्छ हामी जनताको सेवक भएर जनताको हकÞहितमा काम गर्ने प्रतिवद्धता गर्दछु र आगामी दिनमा सवैको सहयोगको अपेक्षा गरेको छु ।

प्रस्तुती : राकेश यादव

प्रकाशित मिति : २०७५ साल भदौ १ गते शुक्रबार ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ