कुराभन्दा पनि काममा विश्वास राख्ने कृष्ण कुमार स्थानीय जनता तथा जिल्लावासीको मात्रै नभएर सीमा पारीको जनताको बीच पनि निकै परिचित छन् । उनको बुवा प्रधानपञ्च हुँदादेखि नै घरमा सधैं जनताहरुको आवत–जावत लागीरहन्थे र जनताको समस्याको समाधान निकै सरल तरिकाले गर्दै आइरहेको हुनाले उनको मनमा पनि राजनीतिले विस्तारै–विस्तारै पलाउँदै गएको थियो । कृष्ण कुमार अर्थात कृष निःस्वार्थ जनताको सेवामा निरन्तर लागीरहे । फलस्वरुप आफ्नो बुवाको सपना साकार पार्नका लागि आफ्नो जनताको आग्रहमा २०७९ सालको स्थानीय चुनावमा वडा अध्यक्षका लागि चुनावी मैदानमा उत्रिए र भारी मतका साथ विजय पनि हासिल गरे । उनै कृष्ण कुमार यादवसँग मधेशवाणीका प्रतिनिधि कमल मण्डलले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ ।
० रम्पुरा मल्हनीयाको विकासका लागि के–के कुरा प्राथमिकतामा राख्नु भएको छ ?
— शिक्षा, स्वास्थ्य, ठोस विकास निर्माणका काम लगायत सबै विषयलाई प्राथमिकतामा राखेर विकासका लागि काम गर्नेछु । रम्पुरा मल्हनियालाई सफा र हराभरा बनाउने पनि मेरो योजना छ । यो लक्ष्य पूरा गर्न स्थानीयवासीको सहयोग पनि आवश्यक हुन्छ । प्रत्येक घरधनीले ५ वटा रुख रोप्नुपर्छ ।
० रम्पुरा मल्हनियाको विकासमा सबभन्दा बढी चुनौती के हो ?
— हेर्नुस, राजनीति गर्ने मान्छेलाई त २४ घण्टा चुनौती हुन्छ । चुनौतीबाट भाग्नु हँुदैन । चुनौतीलाई भगाउन सक्नुपर्छ । त्यसमा पनि निर्वाचित भएपछि एकै दिन दर्जनौं सम्स्या लिएर जनताहरु आउँछन् । म अहिलेसम्म कसैलाई पनि निराश बनाएर पठाएको रेकर्ड छैन । म आफ्नो ठाउँबाट जति सक्छु जनताकै लागि गर्दै आएको छु । मेरो बुवा प्रधानपञ्च भएको समयमा धेरै कम समस्या र चुनौती आउँथ्यो । अहिले त कति हो कति ? वडा नम्वर १४ अर्थात् रम्पुरा मल्हनिया ह.क.न.पा. को ३ वटा वार्ड बराबर एउटै वार्ड छ । जनता पनि धेरै काम पनि धेरै समस्या पनि धेरै छ । कोशीको किनारामा । वर्षको समयमा जनताहरु राति सुत्न डराउँछन् । कतिवेला बस्तीमा बाढी पस्ने हो र बगाएर लाने डर छ ।
० कोशीको बाढीबाट बच्न के छ त योजना ?
— हाम्रो वडाको जनता दुई महिना निकै सावधानीपूर्वक बस्छन् । वार्डको युवाहरु एकदम तयार भएर बसेका छन् । हाम्रो वार्डको बारेमा नगरपालिका, प्रदेश सरकार र संघीय सरकार सबै निकाय वर्षायाममा चासो राख्छन् र सहयोग पनि गरिरहेका छन् ।
० कति जना त कृष यादव डन हो भन्छन् । के तपाई साँच्चिकै डन हो त ?
— हेर्नुस, काम गर्ने बेलामा कहिलेकाँही जनताको भलाईका लागि कठोर निर्णय लिनु पर्ने हुन्छ । सहि निर्णय लिँदैमा डन भन्न मिल्दैन । म त जनताको सेवक हुँ । सेबक भएर काम गरिरहेको छु । चुनावमा भाग लिनुभन्दा अगाडि पनि म सेवक थिए । जनताको सुख–दुःखमा २४ घण्टा साथ रहन्छु । अहिले त झन् जिम्मेवारी पाएको छु, पाँच वर्षका लागि जनताको सेवा गर्नलाई ।
० नमुना वार्ड बनाउन के छ योजनाहरु ?
— हेर्नुस्, नमुना वार्ड बनाउन धेरै काम गर्नुपर्छ । बाटोघाटो, शिक्षा, स्वास्थ्य, स्थानीय वातावरण, युवालाई आफ्नै गाउँमा रोजगारी लगायतका धेरै योजनाहरु तयार पारेको छु । हाम्रो वार्ड ३ वटा वार्ड बराबर एउटै वार्ड छ । जनता पनि धेरै छन् । पहिला एउटा टोलबाट अर्को टोलसम्म जानका लागि हिलो, पानी भएर जानुपथ्र्यो । एक वर्षभित्र ढलान, बाटो–घाटो लगायतको ठोस काम सम्पन्न गर्ने योजना छ । स्कुलहरुलाई व्यवस्थित र सुधार गर्दैछांै । हाम्रो वार्डमा बर्थिङ्ग सेन्टर र एउटा एम्बुलेन्स २४ घण्टा जनताको सेवामा तयार अवस्थामा राखेको छु । विवाह, भोजभतेर, खेलकुद, सामूहिक छलफल, आपत विपतको समयमा प्रयोग गर्नका लागि तीन वटा सामुदायिक भवन पूर्ण आधुनिक तरिकाले निर्माण भएर तयारी अवस्थामा छ । युवाहरुका लागि सिपमूलक तालिम र रोजगारको व्यवस्था लगायतका धेरै योजनाहरु छन् । जनताले पनि एकदमै साथ दिइरहेको हुनाले नमुना वडा बनाउन धेरै समय लाग्दैन ।
० गाउँ–गाउँमा सिंहदरवार भन्छ । तपाईको पालिकामा जनताले त्यस्तो अनुभूति पाएका छन् ?
— पहिला त थिएन तर अहिले हामीले सम्पूर्ण कर्मचारी, शिक्षक, स्वास्थकर्मीलाई दुई घण्टामा हुँदै आएको काम पाँच मिनेटमा गर्नुपर्छ भनेर भन्दै आएका छांै । अनावश्यक रुपमा जनतालाई दुःख दिन मिल्दैन । एउटै कामका लागि पटक–पटक वडामा धाइरहनु नपरोस् । यसका लागि हामी सचेत छौं । म त भ्याएसम्म जनताको घरमै गएर नियम अनुसारको सिफारिस लगायतका काम गर्दै आएको छु । बृद्धबृद्धा र अपाङ्गहरुलाई घरमै गएर सम्पूर्ण सुविधाको व्यवस्था मिलाएका छौं । गरिब जनतालाई बिजुली र शुद्ध खानेपानी लगायतका योजनाहरु छ । यसै वर्षदेखि शुद्ध खानेपानी वितरण सुरु गराउँछु । नमुना वार्ड बनाउन सबै जनता सहमत भएको हुनाले धेरै समय लाग्दैन । सिंहदरबार गाउँमा छ भन्ने अनुभूति जनतालाई हामी दिलाउँछौ ।
तपाईको प्रतिक्रिया