उत्कृष्ट सेवा प्रवाह गरेका छौं : वासुदेव घिमिरे

मेयर, तिलोत्तमा नगरपालिका, रूपन्देही

स्थानीय सम्वाद्

4/26/2019

समुद्र सतहबाट १६० देखि १७५ मिटरको उचाइ“मा रहेको तिलोत्तमा नगरपालिकाको नामकरण पवित्र तथा प्राचीन नदी तिलोत्तमाबाट रहन गएको हो । पुराणप्रसिद्ध स्वर्गलोककी एक सुन्दरी अप्सरा तिलोत्तमाका नामबाट रहन गएको उक्त नदीले राणाकालको आरम्भस“गै स्थानीय थारू जमिन्दारको विशेष पहलमा सिंचाइको व्यापकता पाएको बुझिन्छ । यही तिलोत्तमा नदीबाट सिंचित भूमिलाई साविकका सात गाविस (आनन्दवन, शंकरनगर, करहिया, मक्रहर, मधवलिया, टिकुलीगढ र गंगोलिया) जोडेर यस नगरको नाम तिलोत्तमा राखिन गएको हो । वर्षामासमा पहाडी पाँगो बोकेर आउने तिलोत्तमा नदीले यस क्षेत्रलाई अन्न, तरकारी र फलफूलका लागि अत्यन्त उर्वर बनाएको छ । यस्तै विविध विषयमा  तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेसँग  मधेशवाणीले गरेको कुराकानीको सम्पादित अंश :

० तिलोत्तमा नगरपालिकाको ऐतिहासिक पृष्ठभूमि के हो ?

— हाम्रो नगरपालिका अत्यन्त सुन्दर रूपमा नामाकरण भएको छ । परापूर्वक कालदेखि नै यहाँ तिलोत्तमा भन्ने एउटा नदी थियो । यो नगरपालिका त्यही नदीको नामबाट नामाकरण भएको हो । स्वर्गको अप्सराको नामबाट तिलोत्तमा नाम रहन गएको भन्ने विश्वास पनि गरिन्छ । ७ वटा गाउँ विकास समितिहरू मिलेर यो नगरपालिकाको निर्माण भएको छ ।

० तपाईहरू निर्वाचित भएको लगभग २ वर्ष हुन लाग्यो । अहिलेसम्म त्यहाँ के–कस्ता परिवर्तनहरू भए ?

— मूलभूत रूपमा यहाँका नगरवासीले जनप्रतिनिधि पाएको महसुस गर्न थालेका छन् र फरक खालको अनुभूति गरेका छन् । विभिन्न विकास निर्माणका काम, सेवा प्रवाह अथवा सामाजिक सशक्तिकरण लगायतका कामहरू हामीद्धारा सम्पादन भएको छ । यसबाट आम नगरवासी प्रवाहित भएका हुुन । तिलोत्तमा नगरपालिकामा जनताहरूलाई छिटो र सहज ढंगले सेवा प्रवाह गर्नका लागि वडा कार्यालयहरू व्यवस्थित बनाएका छौं र छिटो र सहज ढंगले सेवा दिँदै सूचना प्रविधिलाई अत्याधुनिक बनाउँदै सेवा प्रदान गर्नतिर लागेका छौं । नेपालको इतिहासमा सबैभन्दा पहिलो पटक स्थानीय सरकारको तर्फबाट हामीलाई दिएको अधिकारको प्रयोग गरेर ऐनहरू निर्माण गर्ने आफ्नो कानुन आफैं निर्माण गर्ने श्रेय तिलोत्तमा नगरपालिकाले पाएको छ । यो गर्वकोे विषय हो ।
नगरपालिकाको आफ्नो भवन थिएन । अहिले भवन निर्माण सुरू गरेका छौं । ६ वटा वडा कार्यालय निर्माण हुँदैछ । नगरपालिकाको अतिथि गृह र विभिन्न सामुदायिक कार्यक्रम गर्न सकिने खालको अत्याधुनिक सभाहल पनि निर्माण कार्य भइरहेको छ । त्यसैगरी अत्याधुनिक बहुउद्देश्यीय भ्यू टावर निर्माणको काम सुरू गरेका छौं । यस्ता निर्माणका कामहरूबाट पनि जनताहरू उत्साहित भएको हामीले पाएकाछौं । तिलोत्तमा नगरपालिकाले शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउनका लागि सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्नका लागि सामुदायिक विद्यालयमा अध्ययन गर्ने साना छात्रछात्राहरूलाई नगरपालिकाले आफ्नो बजेटबाट दिवा खाजाको व्यवस्था गर्ने विषयहरू, प्रत्येक विद्यालयमा इलेक्ट्रोनिक हाजिरी मेसिन राख्ने व्यवस्थाले सामुदायिक विद्यालयप्रति आम नगरवासीको चासो बढेको छ ।
कृषि क्षेत्रको विकासको लागि पकेट क्षेत्र घोषणा गरेर गहुँ बालीका लागि विशेष अनुदान दिएका छौं । दुग्ध उत्पादक, पशुपालक किसानहरू र कृषि व्यवसायसँग सम्बन्धित महिलाहरूका लागि विभिन्न आकर्षणका कार्यक्रमहरू ल्याएका छौं । सुन्दर नगर निर्माण गर्नका लागि हरियाली र सरसफाई अभियानलाई महत्वका साथ अगाडि बढाएका छौं । हरितगृह नगर निर्माण गर्ने काममा पनि अगाडि बढेका छौं । सरसफाईसँग जोडिएको प्लाष्टिकको झोला निषेधित नगरपालिका घोषणा गर्नका लागि विभिन्न आधार तयार भइसकेको छ । अब आउने साउन १ गते तिलोत्तमा नगरपालिका प्लाष्टिकको झोला मुक्त भएको घोषणा गर्नेछौं ।

० दुई दशक जनप्रतिनिधिविहीन भएको ठाउँमा आफू जनप्रतिनिधि भएर काम गर्दा कति अप्ठ्याराहरू आएको छ ?
— हामीले नागरिकको आवश्यकता विपरितको कामहरू गरेको भए त्यहाँ समस्या उत्पन्न हुन्थ्यो तर हामीले कार्य सम्पादन गरेका विषयहरू, नीतिगत विषयमा पनि आम नगरवासीको सहयोग रहको छ । त्यसबाट हामीलाई कार्य सम्पादन गर्नका लागि, जनताको सेवा गर्नका लागि र पूर्वाधार विकासका लागि खासै समस्या भएको अनुभूति अहिलेसम्म भएको छैन ।

० सिंहदरबार गाउँ गाउँ भन्ने नारा तपाईको नगरवासीले महसुस गरेका छन् ?

— लामो समयदेखि जनप्रतिनिधिविहीन भएको अवस्था र अहिले जनप्रतिनिधि आएपछिको अवस्थालाई आकलंन गरेर हेर्दा जनताले नजिकबाट सेवा पाएका छन् । अन्य विभिन्न क्षेत्रमा पनि फरक अनुभूति गरेका छन् । हामीबाट सम्पादन भएको काम र त्यस समयमा नगरमा भएको परिवर्तनको हिसाबले छोटो समयमा नै उल्लेख्य उपलब्धी हासिल हुन सक्ने रहेछ भनेर नगरवासी खुसी भएका छन् । नारामा मात्र होइन, यहाँका नगरवासीले सिंहदरबार गाउँमा आएको अनुभूति गरेका छन् भन्ने मलाई लाग्छ ।

० करबाट जनता पिडीत भए भन्ने गुनासो आएको थियो । तपाईको नगरपालिकामा करको अवस्था कस्तो छ ?

— ऐच्छिक सम्पत्ति करको रूपमा नगरपालिकाले कर बढी लगाएर हामीलाई मार्का पर्ने हो कि भन्ने जनतामा आशंका नभएको होइन । कर वद्धि गर्नुभन्दा पनि करको दायरा वृद्धि गर्नेतिर हामी लाग्यौं । जसले गर्दा चालू आर्थिक वर्षमा नयाँ व्यवस्थाअनुसार करको दायरा तोकेका छौं जसले गर्दा स्वभाविक ढंगले तल्लोभन्दा तल्लो वर्गका जनताले पनि तिर्न सक्ने भएको छ र तल्लो तहका जनतालाई करमा विभिन्न छुटको व्यवस्था पनि गरेका छौं । अहिलेसम्म यहाँका जनताले करको विषयमा त्यस्तो असन्तुष्टि जनाएका छैनन् ।

० तिलोत्तमा नगरपालिकामा पर्यटनका सम्भावना कति छ ?

— पर्यटनका हिसाबले सम्भावना बोकेको नगरपालिका हो । पहाडबाट नजिकको नगरपालिकाको रूपमा रहेको छ  । केही महिनापछि सेवा सुरू गर्ने तयारीमा रहेको गौतम बुद्ध विमानस्थलबाट पनि नजिकको दुरीमा रहेको र लुम्बिनीबाट पनि नजिक त्यसमा बुटवलबाट सुनौलीसम्मको सबैभन्दा बढी भाग तिलोत्तमा नगरपालिकाले ओगटेको छ । पश्चिमबाट ऐतिहासिक नदी तिलोत्तमा बगेको छ । यस्ता विभिन्न कारणले गर्दा यहाँ पर्यटनको प्रचुर सम्भावना रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ