कटहरिया नगरपालिकाको संक्षिप्त परिचय
स्थापना : २०७३
जम्मा वडा :९
क्षेत्रफल : ४०.६९ (वर्ग कि.मी.)
जनसंख्या : ३८,४१३
पूर्व : गुजरा नगरपालिका, वृन्दावन नगरपालिका, गरूडा नगरपालिका
पश्चिम : फतुवा विजयपुर नगरपालिका
उत्तर : गुजरा नगरपालिका
दक्षिण : मौलापुर नगरपालिका, देवहीगोनही नगरपालिका
समावेश गाविसहरू : बभसेडवा, हथियाही, बिर्ति प्रस्टोका, कटहरीया, बगही र पिपरा पोखरीया गा.वि.स.
० कटहरिया नगरपालिका जहिले पनि किन विवादित भइरहन्छ त ?
— आ–आफ्नो अधिकार क्षेत्र नबुझेर विभिन्न किसिमका विवादहरू उत्पन्न भइरहेका छन् । म पुरानो मुद्दामा गत वर्ष जेल परें, त्यसपछि उपमेयर कार्यवाहक मेयर हुनुभयो । मेयरको प्रतिदिनको कामबारबाहीको रिर्पोटिङ हुन्छ । जब जेलबाट बाहिर आएँ, त्यसपछि त्यो रिर्पोटिङ्ग ममाथि केन्द्रित भयो । त्यसबाट उपमेयर आक्रोशित हुनुभयो । नगरको बैठक बस्न खोज्दा उपमेयरले नबस्ने खालका कुराहरू गर्न थाल्नुभयो । उपमेयरले आफ्नो अधिकार क्षेत्रभित्रको काम नगरेर अनावश्यकरूपमा विवाद खडा गर्ने काम मात्र गर्दै आउनुभएको छ । आगामी आर्थिक वर्षको पनि बजेट नआओस् भन्ने मानसिकता उहाँको देखियो ।
० तर, तपाइँले विकास बजेटको व्यापक अनियमितता गर्नुभएको, पारदर्शिता नगरेको लगायतका आरोपहरू छन् नि ?
— गुनासो गर्नेहरूलाई म आग्रह गर्छु कि हाम्रो वेभसाइटमा गएर हेर्नुस् । गत आर्थिक वर्षमा के–के योजनाहरू सञ्चालन भएको, कुन–कुनमा कति रकम विनियोजित भएको ती सबै विवरण विस्तृतरूपमा हामीले राखेका छौं । यसरी हामीले पारदर्शीरूपमा राखिसकेपछि कसरी अनियमितता भएको भन्ने । यदि अनियमितता भएको हो भने त्यसको छानबिन गर्ने निकायहरू त छन् । हामीले राम्रो काम गरेका छौं ।
० तपाइँले उपमेयरलाई धम्की पनि दिनुभयो ?
— मैले उपमेयरलाई धम्की दिएको कुरा निराधार हो । एउटा नगरप्रमुख आफ्नो टिम मजबुत बनाउँछ कि धम्की दिएर तर्साउँछ ? उहाँले ममाथि निराधार र कपोल्कल्पित आरोप लगाउनुभएको छ । हाम्रो नगरमा रहेका सदस्यहरूमध्ये उपमेयरबाहेक सबैले नगरसभा गर्नुपर्छ भन्नुभयो । म उहाँकै घरमा गएर सबै जना मिलेर जानुपर्छ भन्नका लागि छलफल ग¥यौं । त्यसपछि गत आर्थिक वर्षको बजेट बाट २ करोड, यसपटकको बजेटबाट ४ करोड उहाँले माग्नुभयो । हामीले त्यसरी दिन मिल्दैन तपाइँ आफ्नो योजनाहरू दिनुस् भनेर भन्यौं । उहाँले आफ्नो योजनाहरू दिनुभयो र सबै योजनाहरू हामीले अभिलेख राख्यौं । ती योजनाहरू हामीले नगरसभामा प्रस्तुत पनि गरेका छौं ।
० उपमेयरले गत वर्षको २ करोड र आगामी वर्षबाट ४ करोड किन माग्नुभयो ?
— त्यो त मलाई थाहा भएन । नगरपालिकामा दुई चरणका योजना लागू हुन्छ । एउटा वार्डस्तरीय र अर्को नगरस्तरीय योजनाहरू । हामीले नगरभित्र के–के योजना ल्याउँदा राम्रो हुन्छ भनेर योजना मागेको थिएँ । यसरी सिधै पैसा दिन सक्दिँन भनेको हुँ । त्यसैले, उहाँले केका लागि पैसा माग्नुभयो, त्यो उहाँले भन्ने हो ।
० यतिका विवादका बीच जनताले अनुभूति गर्ने खालका के–के कामहरू गर्नुभएको छ ?
— विगतमा कटहरिया बजार एउटा केन्द्रको रूपमा रहेको थियो । तर, पहिला बाटोघाटो मर्मत र निर्माण हुन नसकेकोले विस्तारै पछाडि पर्दै गयो । यो कटहरिया बजारलाई पुनः केन्द्र बनाउन हामीले राजमार्गसँग जोड्दै छौं । कटहरिया बजार एउटा ऐतिहासिक बजार थियो । हामीले त्यसलाई पुनः उजागर गर्नका लागि जनकपुर–वीरगन्ज सडकमा जोड्ने काम गर्दैछौं । जनताका म्यान्डेटअनुसार काम गरिरहँदा विकासविरोधीहरूले बाधा अवरोध पु¥याउने षड्यन्त्रहरू गरिरहेका छन् । तर, आम जनसमुदायलाई धन्यवाद दिन चाहन्छु कि उहाँहरूको साथ जहिले पनि रहेको छ ।
० कटहरियावासीले स्थानीय सरकारको अनुभूति गरेका छन् ?
— हो । हामीले यहाँका जनताको आवश्यकतालाई मध्यनजर गर्दै काम गर्दै आएका छौं । हाम्रो कामबाट जनताबाट कुनै किसिमको गुनासो छैन । महिला, युवा लगायतको रोजगारीका लागि विभिन्न किसिमका सीपमूलक तालिमहरू आयोजना गरेका छौं । किसानसँग मेयर कार्यक्रमअन्तर्गत बीउ, मल लगायतका सामग्रीहरू उपलब्ध गराएका छौं । स्वास्थ्यको क्षेत्रमा पहिला एउटा पनि चिकित्सक थिएन, अहिले तीन जना चिकित्सकको व्यवस्था गरेका छौं । यसपटक हामीले ४० करोडको औषधि खरिद गरेका छौं । यसै वर्षदेखि हामीले २४सैं घन्टा इमर्जेन्सी सेवा सञ्चालन गरेका छौं । विशेषज्ञ चिकित्सक पनि हप्तामा दुई व्यवस्था गरेका छौं । यसरी हामीले स्वास्थ्य, शिक्षा, कृषि, भौतिक पूर्वाधार लगायतका क्षेत्रमा कार्य गर्न सफल भइरहेका छौं ।
० सिंहदरबार गाउँ–गाउँमा भन्ने नारा लागू भएको छ कि नारामै सीमित छ ?
— यो नारा धेरै गम्भीर छ । करिब २० वर्षसम्म जनप्रतिनिधिविहीन थियो स्थानीय तह । त्यसले गर्दा यहाँ धेरै ग्याप भएको थियो । केन्द्रबाट सिंहदरबार गाउँ–गाउँमा भन्दियो, अधिकार पनि दियो । तर, त्यो अधिकार उपयोग गर्न हामीसँग म्यानपावर अर्थात् कर्मचारी छैन । जनताको आकांक्षा धेरै छन्, ती सबै पूरा गर्न हामीसँग पर्याप्त कर्मचारी नभएर अप्ठ्यारो भइरहेको छ ।
तपाईको प्रतिक्रिया