२० वर्षदेखि जनप्रतिनिधिविहीन स्थानीय निकायलाई ट्रयाकमा ल्याउन गाह्रो छ : रिताकुमारी मिश्र

उप–मेयर जनकपुरधाम उप–महानगरपालिका

स्थानीय सम्वाद्

9/17/2018

० जनकपुरधाम उपमहानगरपालिका अहिले के गर्दैछ ?
— अहिले वर्षात्को मौसम भएकोले पानीको निकासका लागि विशेष कार्यक्रम सञ्चालन गर्दैछौं । वार्ड–वार्डमा भ्रमण निरीक्षण गर्दै पानीको निकास हाम्रो प्राथमिकतामा छ ।


० उपहानगरका मुख्य समस्याहरू के–के हुन् ?
— यहाँका मुख्य समस्या सरसफाई नै हो । त्यसपछि पानीको निकास गर्नु पनि प्राथमिकतामा छ । पहिला–पहिला वर्षात्को मौसममा जनकपुरधाम जलमग्न हुने गरेको थियो । तर, हामी आएदेखि नालालाई व्यवस्थित गर्दै जलमग्न हुने समस्या केही हद सम्म कम भएको हो । हामीले डोजर लगाएर पानीको निकासका लागि पहल गर्दैछौं । तर, यहाँ सरसफाई नै ठूलो समस्याका रूपमा देखिएको छ । हामी आएको नौ महिना भइसक्यो तर सरसफाई क्षेत्रमा सुधार गर्न सकेका छैनौं । सुरूवाती अवस्थामा हामीसँग स्रोतसाधन थिएन, व्यवस्थाविहीन थियो । स्रोतसाधनको व्यवस्था मिलाउँदैमा नौ महिना बितिसक्यो । सबैभन्दा पहिलो एजेन्डा नै नगरलाई सरसफाई गरी कसरी स्वच्छ र सुन्दर बनाउने नै हो ।


० तपाइँहरूले सर्वप्रथम के–के काम गर्नुभयो ?
— सबैभन्दा पहिले हामीले एशियाली विकास बैंकसँग भएको योजनाको समय बढायौं, जसको समय सकिन लागेको थियो र फिर्ता जाने अवस्थामा थियो । जनकपुर बाहेक अन्य ठाउँहरू जस्तै विराटनगर, वीरगन्ज, पोखरा लगायतका ठाउँमा एडिबीको योजनाअनुसार धेरै नै काम भइसकेको थियो । तर जनकपुरमा ४० प्रतिशत पनि काम नभएको हाम्रा मेयरसँग स्पष्टीकरणसमेत सोधिएको थियो । त्यसैले, हामीले एडिबीको योजनालाई कसरी बढीभन्दा बढी काम गर्ने भन्नेमा बढी ध्यान दियौं । तर, जनकपुरधामका जनता विकासप्रेमी छन्, उनीहरूलाई पनि थाहा भयो कि जब त्यो योजना फिर्ता जानेबाला छ, त्यसपछि यहाँका जनताले पनि चासो देखाए । त्यो कार्यक्रमअनुसार हामीले उल्लेखनीय कार्य गरेका छौं । अहिलेको अवस्थामा हामीले ८० प्रतिशत काम सम्पन्न गरिसकेका छौं । यहाँ लामखुट्टेको समस्या पनि विकराल छ । लामखुट्टे मार्नका लागि हामीले कोशिस ग¥यौं । जबसम्म पानीको निकास हुँदैन तबसम्म लामखुट्टेको समस्या समाधान हुँदैन ।


० जनकपुरधामको मुख्य समस्या अहिले लामखुट्टे र अनियमित लोडसेडिङ्ग रहेको जनगुनासो छ, यसबाट यहाँका जनताले कहिलेसम्म मुक्ति पाउने ?
— जबसम्म विनाश हुँदैन तबसम्म विकास हुँदैन । अहिले जनकपुरधाम विनाश जस्तै देखिएको छ । किनकि जताततै विद्युतका पोलहरू ढलेका छन्, बाटो खनिएको छ, विद्युतीय तारहरू अव्यवस्थित छन् । त्यसकारणले अहिले विनाश जस्तै देखिएको हो । तर, डेढ दुई वर्षभित्रै हामीले धेरैभन्दा धेरै विकास गर्नेछौं । खानेपानी, टेलिफोन लगायतका विषयमा जनकपुरबासीले अहिले धेरै सास्ती भोगिरहनुपर्ने अवस्था छ । त्यस्तै, अनियमित लोडसेडिङ्गको सन्दर्भमा हामीले बुझ्दा विद्युत प्राधिकरणका कर्मचारीले राम्रोसँगे जवाफ दिन्छन् तर जनकपुरवासी अनियमित लोडसेडिङ्गको मारमा छन् । विद्युतका कर्मचारीहरूले हामीलाई विभिन्न कारणहरू देखाउँदै हाम्रा गुनासाहरूलाई टार्ने काम गर्दै आएका छन् । करिब २० वर्षदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन थियो, त्यसलाई ट्रयाकमा ल्याउन हामीलाई अलि गाह्रो भइरहेको छ ।


० अहिलेको अवस्थामा प्रदेश सरकार पनि तपाइँहरूकै पार्टीको छ, यी समस्याहरूबाट मुक्ति पाउन अब कतिको अप्ठ्यारो छ ?
— अहिले प्रदेश सरकार र स्थानीय सरकार हाम्रो भएपनि जनअपेक्षाअनुसार काम गर्नका लागि यहाँ सबभन्दा पहिला कर्मचारीको आवश्यकक्ता छ । जब काम गर्ने बेला आउँछ कि सरकारले उसलाई सरूवा गरिदिन्छ । चार महिनासम्म हामी कर्मचारीविहीन थियौं । नयाँ कर्मचारी आएको छ, त्यसपछि हामी नगरसभा गर्न लाग्दा फेरि कर्मचारीलाई सरूवा गरिदियो । यस्तो हुँदाखेरि नयाँ कर्मचारी आउँदा उसलाई यहाँका अवस्थाबारे बुझ्नै तीन÷चार महिना लाग्छ जसले गर्दा काममा समस्या भइरहेको छ । सरकारले कर्मचारी पठाउँदा एक वर्षसम्म बस्न दिनुपर्छ । अहिले पनि कतिपय फाँटमा हामीलाई आवश्यक अनुसारका कर्मचारी छैनन् ।


० भनेपछि, तपाइँहरूलाई कर्मचारी अभावले गर्दा समस्या भइरहेको छ ?
— कर्मचारीकै अभावका कारणले समस्या भएको हो । किनकि हामी विज्ञ होइनौं । तर, अब हामी सबै कुरा बुझिसकेका छौं । यहाँका शिक्षा, स्वास्थ्य, सडक र कृषिलाई हामीले प्राथमिकता दिएका छौं । हामीलाई थाहा छ कि मधेशमा कुन सिजनमा के बाली लगाउँदा उब्जनी बढीभन्दा बढी हुन्छ । आगामी दिनमा जनकपुरबासीलाई विश्वास दिलाउन चाहन्छौं कि चाँडोभन्दा चाँडो राम्रो काम गरेर देखाउँछौं ।


० अहिले जनकपुरधाममा असारे विकास भइरहेको जस्तो देखिन्छ नि ?
— हामीले त्यस्तो असारे विकास गर्ने काम गरेका छैनौं । यसपाली हाम्रो बजेट पनि फ्रिज भएको छैन । असारमा पैसा खर्च गरिहाल्ने जस्तो हाम्रो नीति छैन । जे कुराका लागि बजेट आएको छ हामी त्यहीं विषयमा सदुपयोग गर्ने हिसावले काम गर्दैछौं ।


० जनकपुरधाममा अहिले भइरहेको निर्माण कार्यमा नगरपालिकाले कति निगरानी गरिरहेको छ त ?
— हेर्नुस्, हामी अहिलेसम्म राम्रोसँग काम गरिरहेका छौं । कतै कतै गुनासाहरू आइरहेका छन् । मैले बारम्बार मिडियामार्फत भन्दै आएको छु कि अहिले भइरहेको काम यहाँका जनताका लागि हो र जनता स्वयम्ले त्यसको निगरानी गर्नुपर्छ । किनकि जनताले तिरेको करबाट नै यी सारा कामहरू भइरहेको छ । आफ्नो ठाउँमा गुणस्तरीय काम भइरहेको छ कि छैन भन्ने कुरा निगरानी जनताले पनि गर्नुपर्छ । किनकि ठेकेदारहरूले पैसा बचाउन कमसल काम गर्न सक्छन् । यदि जनताले भनेको कुरा ठेकेदारले मानिरहेको छैन भने जनकपुरधाम उपमहानगरपालिकामा कम्प्लेन गर्न सकिन्छ । र, त्यस्ता कमसल काम गर्नेलाई तुरून्त कारबाही हुन्छ । यस्तै, कुनै ठाउँमा काम गुणस्तहीन भएको गुनासो आउने बित्तिकै हाम्रो मेयरसाहेब आफै गएर निरीक्षण गर्दै आउनुभएको छ । त्यसैले गर्दा जनकपुरधाम उपमहानगरलाई नेपालकै नमूना उपमहानगर बनाउने हाम्रो लक्ष्य छ ।


प्रकाशित मिति : २०७५ साल असार २९ गते शुक्रबार ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ