देवानगजञ्ज गाउँपालिका राष्ट्रको नयाँ संरचनाअनुसार सीमामा पर्ने एउटा स्थानीय तह हो । विभिन्न पाँच वटा साविकको गाविसहरूलाई मिलाएर यो गाउँपालिका बनेको छ । नेपालका ७५३ स्थानीय तहमध्ये सुनसरीमा १२ वटा स्थानीय तह रहेका छन् जसमध्ये देवानगञ्ज पनि एक हो । यो गाउँपालिका पूर्ण मधेशी, मुस्लिम, दलित र जनजातिको बाहुल्यता भएको क्षेत्र हो । देवानगञ्ज गाउँपालिकामा साविकको राजगञ्ज सिनुवारी, साहेवगञ्ज, कप्तानगञ्ज, मध्यहर्षाही र देवानगञ्ज गाविसलाई मिलाएको छ । यो गाउँपालिकामा ७ वटा वडाहरू रहेका छन् । यस गाउँपालिकाको दक्षिणी सीमा भारतको विहार राज्यको सुपौल जिल्लासँग जोडिएको छ ।
० देवागन्ज गाउँपालिकाको अध्यक्षको रूपमा निर्वाचित भएर आएदेखि अहिलेसम्म के कस्ता कामहरू गर्नुभयो ?
— यो गाउँपालिकाका अधिकांश जनजीवन कृषिमा आधारित छ । त्यसैले हामीले कृषिलाई नै बढी प्राथमिकता दिएका छौं । कृषिमा हामी सबभन्दा बढी लगानी पनि गरेका छौं । यहाँका जनताले कृषि उत्पादन गरिसकेपछि त्यसलाई ढुवानीका लागि बाटोघाटो थिएन । कृषि उत्पादनलाई ढुवानी गर्नका लागि हामीले पक्की बाटोघाटो निर्माण गरिरहेका छौं । हामीले १५ किलोमिटर पक्की बाटो निर्माण गर्ने लक्ष्य लिएका छौं, त्यहींअनुसार द्रूतगतिमा काम भइरहेको छ । यस वर्षभित्र निर्माण कार्य सम्पन्न हुन्छ ।
० अन्य क्षेत्रमा के–के काम भएका छन् ?
— भौतिक पूर्वाधार निर्माणतर्फ हामी बाटाघाटो निर्माण गरिरहेका छौं । त्यस्तै, विद्यालयहरूको शिक्षामा स्तरोन्नतिका लागि कार्यहरू अगाडि बढाएका छौं । जुन विद्यालयमा भवन छैन, त्यहाँ निर्माणका लागि कार्य गरिरहेका छौं । स्वास्थ्य क्षेत्रमा पनि हामीले उल्लेखनीय कार्य गरेका छौं । यहाँ बर्थिङ्ग सेन्टर पनि स्थापना गरेका छौं । केन्द्रलाई अनुरोध गरेर हामीले दुईटा एम्बुलेन्सको व्यवस्था पनि गरेका छौं ।
० कृषकलाई के–के सामग्रीहरू उपलब्ध गराउनु भएको छ ?
— कृषकलाई हामीले विभिन्न किसिमका बीउ, मलखाद्यको पनि व्यवस्था गरेका छौं । हामीले ७० देखि ७५ प्रतिशतसम्म अनुदानमा कृषि सामग्रीहरू उपलब्ध गराएका छौं । त्यस्तै यहाँको सिंचाइको पनि समस्या थियो । यहाँ कुनै नहर नभएकोले बोरिङको व्यवस्था गरी सिंचाइमा सहुलियत भएको छ ।
० स्थानीय निर्वाचनपश्चात् सिंहदरबार गाउँ–गाउँमा भनिएको थियो, यो नारा देवागन्जमा लागू भएको छ ?
— यो नारालाई यहाँका जनताले धेरै हदसम्म अनुभूति गरेका छन् । स्थानीय सरकारको तर्फबाट पाउने हरेक सेवासुविधा हामीले दिइरहेका छौं । पहिला सानो कामका लागि जिल्लाको सदरमुकाम जानुपर्ने अवस्था थियो । तर, अहिले हामीले जनताका सबै आवश्यकताहरू पूरा गरिरहेका छौं । जनताले गाउँपालिकाबाट सिंहदरबारको अनुभूति गरिरहेका छन् ।
० निर्वाचनका बेला तपाइँले गर्नुभएको प्रतिबद्धताहरू कतिको पूरा भयो ?
— मैले निर्वाचनका बेला गरेको प्रतिबद्धताहरू क्रमिकरूपमा लागू हुँदै गइरहेको छ । म निर्वाचित भएको दुई वर्ष मात्र सम्पन्न भएको छ र अहिले मेरो कार्यकालको तीन वर्ष समय बाँकी नै छ । तीन वर्षमा मैले गरेका सबै प्रतिबद्धताहरू पूरा गर्छौं भन्ने अठोटका साथ कार्यहरू अगाडि बढाइरहेका छौं ।
० तपाइँको प्रतिबद्धता के–के थियो त ?
— हाम्रो देवागन्ज गाउँपालिका एउटा ग्रामीण एरिया हो । यहाँ यातायातका लागि सडकहरूको अवस्था अत्यन्तै दयनीय थियो । कृषिमा पनि धेरै समस्याहरू थियो । विद्यालयमा पनि शिक्षाको स्तर राम्रो थिएन । यहाँ एउटा पनि एम्बुलेन्स थिएन । यी सब कुरालाई मध्यनजर गर्दै हामीले बाटोघाटो बनाउने, कृषिमा उत्पादन बढाउनका लागि विभिन्न कार्यक्रमहरू ल्याउने, शिक्षामा सुधार गर्ने, स्वास्थ्य क्षेत्रमा काम गर्ने लगायतका प्रतिबद्धताहरू हामीले गरेका थियौं । अहिलेसम्म हामीले दलितहरूका लागि ३८ वटा घर बनाएर हस्तान्तरण गर्न लागेका छौं ।
० काम गरिरहँदा के कस्ता चुनौती आउँछन् ?
— काम गरिरहँदा विभिन्न चुनौतीहरू आउँछन् । तर, ती चुनौलाई सामना गर्दै अगाडि बढ्दै आएका छौं । त्यस्तो खासै चुनौती आएको महसुस भएको छैन । हामी जनतालाई सेवा गर्ने भावनाका साथ अगाडि बढिरहेका छौं । जसले काम गर्छ उसलाई चुनौती आउनु स्वाभाविक हो । त्यो चुनौतीबाट भागेर होइन, त्यसलाई सामना गर्दै अगाडि बढ्नुपर्छ । चुनौतीलाई हामीले अवसरको रूपमा हेरिरहेका छौं । हाम्रो लागि चुनौतीका साथसाथै ठूलो अवसर पनि हो । किनभने करिब दुई दशकदेखि जनप्रतिनिधिविहीनताको अवस्थामा हामी स्थानीय सरकारको रूपमा आएका हौं । त्यसैले चुनौती नआउने त कुरा नै हुँदैन ।
० लामो समयदेखि प्रतिनिधिविहीन थियो स्थानीय तह, तपाइँहरू निर्वाचित भएर आएपछि जनताका अपेक्षाहरू कस्तो पाउनुभयो ?
— लामो समयपछि स्थानीय प्रतिनिधिहरू जनताबाट निर्वाचित भएर जनताका बीच, जनताका लागि र जनतासँगै मिलेर आफ्नो गाउँ–ठाउँलाई विकास गर्नका लागि हामी आएका छौं । निश्चितरूपमा जनताका अपेक्षाहरू धेरै देखिएका छन् । जनतालाई विकास, स्वास्थ्य, शिक्षा लगायतका कुराहरू नै चाहिन्छ । त्यो हामीले गरिरहेका छौं । जनताका अत्यधिक चाहना हुनु स्वाभाविक हो । त्यसलाई हामी विस्तारै पूरा गर्दै गइरहेका छौं ।
० देवानगन्ज गाउँपालिकाले करको दायरा कस्तो राखेको छ ?
— हामीले कुनै पनि नयाँ कर लागू गरेका छैनौं । हाम्रो एकदम न्यून छ । पहिलादेखि रहेको करलाई नै हामीले निरन्तरता दिएका छौं । यहाँका जनता करबाट पीडित छैनन् । जनताबाट कर मात्र उठाएर हुँदैन । कर लिएर नगरपालिकाको विकास पनि हुने होइन ।
तपाईको प्रतिक्रिया