जनताका अपेक्षा धेरै छन् : धनवीर मण्डल

वडाध्यक्ष, नगराइन नगरपालिका–६, धनुषा

स्थानीय सम्वाद्

12/13/2019

० तपाई निर्वाचित भएर आएदेखि के–के काम गर्नुभयो ?

— मैले निर्वाचत भएपछि आफ्नो वडाभित्रको समस्यालाई केन्द्रित गरेर विकास निर्माण थालेको छु ।हामी जनताबाटै जनताकै लागि निर्वाचित भएका आएर हौं । त्यसैले हामीले जनताको भावना र समस्यालाई समाधानको बाटा पहिल्याउनु हाम्रो कर्तव्य हो ।

० कस्ता योजनाहरू प्राथामिकतामा राख्नुभएको छ ?

— विकासको प्रमुख आधार भनेकै सडक हो । वडाभित्र रहेका ग्रामीण सडक विस्तार तथा स्तरोन्नतिलाई प्राथामिकताका साथ हेरको छु । वडाध्यक्ष निर्वाचित भएपछि वडालाई व्यवस्थित रूपमा सञ्चालनमा ल्याएर शिक्षा, स्वास्थ्य, सडक लगायतको पूर्वाधार अपरिहार्य छ । त्यसैले यस्ता विकासमा केन्द्रित भएको छु । वडाको पर्यटकीय र खेल क्षेत्रको विकासमा लागेको छु ।

० शिक्षा क्षेत्रको सुधारमा कस्ता योजना छन् ?

— विकासको मूलआधार शिक्षा हो । त्यसैले वडाको शौक्षिक क्षेत्रको सुधारमा जोड दिएको छु । शैक्षिक सुधारअन्तर्गत सामुदायिक विद्यालयमा नेपाली र अङ्ग्रेजी दुवैबाट कक्षा संचालन गरेको छु । अहिलेको चासो र विद्यार्थीको आर्कषण भएकाले प्राविधिक शिक्षामा पनि जोड दिएका छौं ।

० वडाको स्वास्थ्य र मातृ शिशु स्वास्थ्यको क्षेत्रमा केके गर्नुहुन्छ ?

— मातृ शिशु स्वास्थ्य र पोषणलाई नीति तथा कार्यक्रममा प्राथमिकताका साथ आफूले सञ्चालन गरेको छु । सुत्केरी महिलाका घरमै पुगेर आफैँ पोषणयुक्त आहारप्रदान गर्ने गरेको छु । सुत्केरी महिलाको घरमै पुगेर एकवटा भाले, गेडागुडी, आयोडिनयुक्त नुन र सरसफाइका सामग्री प्रदान गर्ने गरेको छु । गरिब र आर्थिक अवस्था कमजोर भएको परिवारमा सुत्केरीलाई पोषणयुक्त खानेकुरा वितरण गरेपछि महिला र बच्चाको स्वास्थ्यमा समेत थप टेवा पुग्गेको अपेक्षा राखेको छु । वडाको स्वास्थ्य सुधारलाई थप प्रभावकारी बनाउँन सामुदायिक स्वास्थ केन्द्र निर्माण गरि अहेब, अनमी र कार्यालय सहयोगीको समेत व्यवस्था गरि सञ्चालनमा ल्याएको छु ।

० वडाध्यक्षमा निर्वाचित भएर आएपछि जनताबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

— म वडाध्यक्ष निर्वाचित भएर आएपछि जनताको सेवामा अहोरात्र खटेको छु । जनताको सेवा सुविधामा कुनै कसर राखेको छैन । त्यसैले होला, जनताबाट मैले सकारात्मक प्रतिक्रिया पाएको छु । देश संघियतामा गैसकेपछि सबै सेवा जनताले गाउँमै सहज रूपमा आफूले चुनेको जनप्रतिनिधिबाट पाउँदा खुसी नै छन् जस्तो लाग्छ ।

० जनप्रतिनिधिको रूपमा काम गरिरहँदा कतिको अप्ठ्याराहरू आउँछन् ?

— करिब दुई दशकदेखि स्थानीय तह जनप्रतिनिधिविहीन थियो । यत्रो लामो समयपछि स्थानीय तहमा जनप्रतिनिधि आएका छन् । विगतमा वडामा केही पनि काम भइरहेको थिएन । सानोभन्दा सानो कामका लागि पनि जनताले सदरमुकाममै जानुपर्ने अवस्था थियो । हामी निर्वाचित आउँदा जनताको अपेक्षा धेरै ठूलो थियो । विकास निर्माण हुन नसक्दा जनताका धेरै अपेक्षाहरू छन् । तर हामीले विस्तारै जनताका सबै अपेक्षाहरू पूरा गर्दै गइरहेका छौं । जनताले हामीलाई काम गर्नका लागि पठाएका हुन्, त्यसैले अप्ठ्याराहरूलाई हामीले अवसरको रूपमा लिँदै अगाडि बढिरहेका छौं । खासै अप्ठ्याराहरू छैनन् । काम गर्ने इच्छा शक्ति भएपनि कुनै किसिमको समस्या हुँदैन ।

० अन्य प्रतिपक्षीहरूसँग कतिको सहयोग हुन्छ ?

— स्थानीय तह भनेको कुनै राजनीतिक अखाडा होइन, जनताका लागि काम गर्ने हो । यहाँका प्रतिपक्षीहरूले पनि हामीलाई सहयोग नै गरिरहेका छन् । सबैको सहयोगमा नै हामीले कामहरू अगाडि बढाइरहेका छौं । कुनै किसिमको बाधा वा अवरोध छैन । आफ्नै समाजमा विकास र समृद्धिका लागि सबैको आआफ्नो ठाउँबाट सहयोग गरिरहेका छन् । हामीले सबैको सल्लाह र सुझावलाई आत्मसात गर्दै कामहरू अगाडि बढाइरहेका छौं । त्यसैले यहाँ कोही पनि प्रतिपक्षी जस्तो देखिएका छैनन् । सबैको सहयोग नै पाइरहेका छौं ।

० तपाइँ आफ्नो कार्यकालभित्र वडालाई कस्तो बनाउने सोच्नुभएको छ ?

— हाम्रो कार्यकालको लगभग आधा समय हामीले बिताइसकेका छौं । अब करिब आधा समय अर्थात अढाई वर्ष जति समय मात्र हामीसँग छ । हामीले विभिन्न किसिमका योजनाहरू छनौट गरेका छौं र सोहीअनुसार काम कारबाही अगाडि बढाइरहेका छौं । यहाँको शिक्षा, स्वास्थ्य, सडक र कृषिलाई नै उच्च प्राथमिकतामा राखेका छौं । शिक्षाको अवस्थालाई सुधारका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराएका छौं । भौतिक पूर्वाधार निर्माणतिर पनि हामीले जोड दिइरहेका छौं । प्राथमिक स्वास्थ्यका लागि पनि केही हदसम्म सुधार भए पनि अझ प्रभावकारीरूपमा जनताको घरआँगनमै सेवा दिनेका लागि प्रयासरत छौं । बाटोघाटो निर्माणलाई पनि हामीले उत्तिकै प्राथमिकता दिएका छौं । किनभने विकासको मुख्य पूर्वाधार भनेकै सडक हो । आवतजावतको सुविधा भएपछि मात्रै जनताले विकासको अनुभूति गर्न पाउँछन् । हाम्रो वडा कृषिमा आधारित हो । त्यसैले कृषकहरूका लागि पनि विभिन्न किसिमका योजनाहरू ल्याएका छौं । समग्रमा भन्नुपर्दा म आफ्नो कार्यकालभित्र वडालाई समृद्धिको बाटो लिएर जान्छु ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ