नगरपालिकालाई हामीले नमूनाको रुपमा लैजाने प्रयास गर्‍यौं : मेयर मण्डल

स्थानीय सम्वाद्

7/4/2021

० विरोधका बाबजुद मटिहानी नगरपालिकाले आफ्नो नगरसभा सम्पन्न ग¥यो । आगामी आर्थिक वर्षका लागि केकस्ता कार्यक्रमहरु ल्याउनुभएको छ ?

— हाम्रो नगरसभा सफलतापूर्वक सम्पन्न भएको छ । नगरसभा भएको ठाउँमा कुनै किसिमको विरोध भएको छैन । हाम्रो कार्यालयमा केही मान्छेहरु बिना जानकारी तालाबन्दी गर्नुको साथै विरोध गरेका थिए । तरपनि हामीले नेपाल सरकारको मापदण्डअनुसार नगरसभाका सम्पूर्ण सदस्यहरुको उपस्थितिमा ऐतिहासिकरुपमा सम्पन्न गरेका हौं । यो नगरपालिकाको कूल बजेट ४० करोड ७७ लाख ५७ हजारको बजेट प्रस्तुत गरेका छौं । त्यसमा विविध क्षेत्रहरुलाई समेटेर हामीले लैजाने प्रण गरेका छौं । अहिलेसम्म हामीले मटिहानी नगरपालिकालाई एउटा उचाइको बिन्दूमा पु¥याउने प्रयास ग¥यौं । त्यसअन्तर्गत यसपटक पनि हामी नयाँ–नयाँ कार्यक्रम थपेर मटिहानी नगरपालिकालाई विकास र गतिशीलरुपमा अगाडि बढिरहेका छौं । उद्योग तथा वाणिज्य, पर्यटन, शिक्षा र स्वास्थ्यलाई विशेष ध्यान दिएका छौं । कोभिड–१९ को तेस्रो लहर पनि नेपालमा फेला परिसकेको अवस्थामा त्यसलाई पनि मध्यनजर गरेका छौं । यसैगरी हामीले खानेपानी तथा सरसफाइलाई पनि प्राथमिकताका साथ अगाडि बढाएका छौं ।

० तपाइँहरुको कार्यकालको अन्तिम वर्ष हो । यो अवधिमा जनताले स्थानीय सरकारको अनुभूति गरेका छन् त ?

— हामी जनप्रतिनिधिको रुपमा निर्वाचित भएर आउँदा शून्यबाट सुरु गरेका थियौं । यो हाम्रो लागि ठूलो चुनौती थियो । यो नगरपालिका ग्रामीण क्षेत्र र छिमेकी मित्रराष्ट्र भारतको सीमामा रहेको छ । विगतको चारवटा गाउँ विकास समितिलाई मिलाएर यो नगरपालिका बनाइएको हो । पहिला यहाँ लथालिङ्ग अवस्थामा थियो । आवतजावत गर्न पनि समस्याहरु थिए । हामी निर्वाचित भएर आउँदा जनतालाई सोध्यौं कि मूलभूत समस्या के हो । उहाँहरुले सबभन्दा पहिला सडकको समस्या उठाउनुभयो । हामीले सबभन्दा बढी सडकमै काम ग¥यौं । यस नगरपालिकालाई हामीले नमूनाको रुपमा लैजाने प्रयास ग¥यौं ।

० चालु आर्थिक वर्षको कतिसम्म बजेट खर्च गर्न सक्नुभयो ?

— हाम्रो नगरपालिकाको बजेट फ्रिज हुने अवस्था आउँदैन । अन्तिम समयमा संघ र प्रदेशले पठाएको पैसा चलाउन अलिकति अप्ठ्यारा हुन्छन्, किनकि त्यसलाई शतप्रतिशत खर्च नै गर्न सकिन्न । तर त्यसलाई काममा सदुपयोग गर्ने प्रयास हामी गर्छौं । बजेट फ्रिज गर्ने सवालै आउँदैन । किनभने हामीलाई काम गर्नकै लागि पैसा पठाएको हुन्छ । अहोरात्र खटेर पनि हामीले काम गरिरहेका छौं । तर अहिले महामारीका कारण निर्माण सामग्रीको अभाव हुने जस्ता अन्य कारणहरुले प्रभावित भएको हो ।

० मटिहानी नगरपालिका छिमेकी मित्रराष्ट्र भारतको सीमासँगै टाँसिएको छ । कोरोनाको तेस्रो भेरियन्ट पनि देखा पर्न थालेको छ । कोरोनालाई मध्यनजर गर्दै बजेटमा के–कस्ता कुराहरु ल्याउनुभएको छ ?

— कोरोना महामारीबाट बच्नका लागि सबभन्दा महत्वपूर्ण कुरो हो सतर्कता र जनचेतना । हरेक स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउने, टोल–टोलमा गएर उपचार गर्ने, यदि कोरोनाका विरामी फेला परे भने उसको निगरानी गर्ने लगायतका कुराहरुमा बढी जोड दिएका छौं । यसैगरी, कोरोनाविरुद्धको भ्याक्सिनका लागि जिल्लासँग समन्वय गरेर हरेक नागरिकका लागि उपलब्ध गराउने र त्यसलाई प्राथमिकताका साथ अगाडि बढाउने योजनाहरु समावेश गरेका छौं । यस्तै, स्वास्थ्यकर्मीहरुको पनि जीवन रक्षाका लागि विशेष जोड दिने लगायतका कुराहरु गरेका छौं । त्यसकारणले हामी सजग छौं । भारतको सीमासँग टाँसिएको भएपनि हामी कोरोनाबाट त्यति प्रभावित भएनौं । कोभिडका कारण यो पालिका दुई जनाको मृत्यु भयो । बाँकी संक्रमितहरु स्वास्थ्य लाभ गरेको अवस्था छ । हामीले यसअघि नै एउटा कोष खडा गरेका छौं ।

० भनेपछि सीमासँग टाँसिएकोले उच्च जोखिममा रहँदा पनि मटिहानी नगरपालिका खासै प्रभावित भएन ?

— कोभिड महामारी फैलिने बित्तिकै हामीले त्यसबाट बच्नका लागि विभिन्न उपायहरु अपनाउन थाल्यौं । अहिले प्रविधिको युग छ र सञ्चार माध्यमको पनि ठूलो भूमिका रह्यो । हामीले सञ्चारका विभिन्न माध्यमहरुमार्फत् व्यापकरुपमा जनचेतना फैलायौं र जनता पनि त्यसप्रति सचेत भए । जसले गर्दा कोरोना महामारीबाट यो पालिकामा खासै प्रभाव परेन । अर्को कुरा महोत्तरी जिल्लाले बेलैमा निषेधाज्ञा पनि जारी ग¥यो । त्यसको कडाईका साथ हामीले पालना ग¥यौं ।

० जनप्रतिनिधिको रुपमा तपाइँको कार्यकालको अन्तिम वर्ष हो । आगामी चुनावमा तपाइँको योजना के छ ?

— म एउटा पार्टीमा आबद्ध भएको कार्यकर्ता हुँ । जिम्मेवारी दिने काम पार्टी हो । हाम्रो पार्टीपंक्तिले जे निर्देशन दिन्छ त्यहीं गर्ने हो । यदि पार्टीले मलाई फेरि पनि स्थानीय तहको जनप्रतिनिधिको रुपमा काम गर्ने जिम्मेवारी दियो भने त्यसलाई स्वीकार गर्छु । यदि अब यसभन्दा पनि अगाडि बढाउने निर्देशन आयो भने त्यसलाई पनि स्वीकार गर्छु । पार्टीले जिम्मेवारीलाई पूरा गर्ने मेरो पहिलो कर्तव्य हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ