तालाबन्दीका कारण विकास निर्माणमा असर पर्यो : अभय कुमार सिंह

स्थानीय सम्वाद्

3/22/2019

० बलरा नगरपालिकामा २/३ महिना तालाबन्दी हुनुको कारण के थियो ?

— यहाँ कुनै किसिमको विवाद थिएन र अहिले पनि छैन । सबै कामहरू नियमित भईराखेकै थियो । यहाँको ४ नम्बर क्षेत्रको सांसद हुनुहुन्छ डा.अमरेश कुमार सिंह । उहाँले २० वर्षसम्म यो ठाउँमा एकलौटी राज गर्नुभएको थियो । उहाँको इच्छा विपरित जनताले मलाई अभिमत दिएर चुनाव जिताए, यो कुरा उहाँलाई सैह्य भइरहेको छैन । गत साल पनि २० दिन तालाबन्दी भएको थियो त्यसपछि पनि हामीे जुन काम गरेका छौं त्यो सर्लाही जिल्ला भरिमा मै उदाहरणीय छ । हामीले गरेको काम देखेर उहाँलाई असैह्य भएको छ र विभिन्न मुद्दा उठाएर विवाद सिर्जना गराउने काम गरिराख्नुभएको छ । नयाँ नयाँ प्रतिनिधिहरू जितेर आएका छा्, उनीहरूलाई नीति नियमको विषयमा खासै जानकारी छैन त्यस्ता व्यक्तिहरूलाई उचालेर पुस ४ गते नगरपालिकाको कार्यालयमा तालबन्दी भयो । हामीले पटक पटक आग्रह गर्दा पनि ताला खोलिएन । विगत दुई दिनदेखि वार्ता चलिरहेको थियो नियम अनुसार चल्ने सहमतिमा ताला खोलेर काम अगाडि बढेको छ ।

० नेपाली कांग्रेसका सांसद डा. अमरेश सिंहमाथि विभिन्न किसिमका आरोपहरू लगाउनुभयो, तर तपाईकै पार्टीबाट जितेका उपमेयर र वडाअध्यक्षहरूले तालाबन्दी गरेको चर्चा छ नि ?

— मैले अमरेशजीलाई मात्र आरोप लगाएको होईन । उहाँलाई मैले यत्तिकै आरोप लगाएको पनि छैन । मसँग तर्कपूर्ण आधार छ । हाम्रो पार्टीका अग्रज नेताहरूले चुनावको समयमा टिकट वितरण गर्दाखेरी राम्रो मान्छे छान्नुभन्दा पनि हतार हतारमा टिकट वितरण गर्नुभयो । आफ्नो पार्टीमा निरन्तर काम गरेकाहरूलाईभन्दा पनि अन्य पार्टीबाट भर्खर आएकाहरूलाई टिकट दिनुले पनि विभिन्न समस्याहरू थपिएका हुन् जस्तो मलाई लाग्छ ।

० २० वर्षदेखि जनप्रतिनिधिविहिन भएको स्थानीय तहमा तपाईहरू आएपछि पनि यसरी तालाबन्दी हुँदा जनताले पाउनुपर्ने सुविधा पाएका छैनन् । यस्तो अवस्थामा ताला खुलाउन किन पहल गर्नुभएन यति लामो समयसम्म ?
— नगरपालिकामा तालबन्दी हुने बित्तिकै केन्द्रीय नेतृत्व पंक्तिलाई पटक–पटक जानकारी गराएको छु । हामीले आफ्नो केन्द्रीय कार्यालयमा पनि जानकारी गरायौं, जनकपुरधाममा भएको भेलामा पनि तालाबन्दीबारे जानकारी गराएका थियौं । उहाँहरूले पक्कै कुन न कुनै ठोस निर्णय निकाल्नुहुन्छ ।

० तपाइँले एकलौटी ढंगले नगरपालिका चलाउन खोज्नुभयो भन्ने आरोप छ नि ?

— कसैमाथि आरोप लगाउन सजिलो छ तर त्यसको पुष्टि पनि गर्न सक्नुपर्छ । यदि मैले नगरपालिकाको सबै बजेट आफ्नै खल्तीमा राखेको छु,, आफ्नै छोरा बुहारीलाई दिइसकेको छु भने त्यो प्रमाणित गर्नुपर्छ । मैले यहाँ गरिरहेको काम हेर्नुपर्छ । यदि त्यस्तो भएको छ भने दोषी छु । तर, मैले गरेको कामले भन्छ कि एकलौटी गरेको छैन भने आरोप लगाउन मिल्दैन । बजेट दिँदा कसैलाई केही बढी, केही कम परेको हुनसक्छ ।

० तीन महिनासम्म जसरी तालाबन्दी थियो, त्यसले गर्दा विकास निर्माणको काम कतिको प्रभावित भयो त ?

— नयाँ संरचनाअनुसार काम सुरू गर्दा तीन महिनासम्म तालाबन्दी हुँदा निश्चितरूपले विकास निर्माणको काम प्रभावित भएको हो । म झुठो कुरा गर्दिँन कि तालाबन्दी हुँदा पनि काम गरें भनेर । अहिले अमरेश सिंहका मान्छेहरू अनावश्यकरूपमा विवादहरू खडा गर्न खोजिरहेका छन् । अधिकृतलाई अनावश्यक दबाब दिने काममा छन् । यो नगरपालिकामा सडक ढलानकै काम बढी छ । तनमन धनले लाग्यो भने तीन महिनामा जति काम हुन सकेन त्यो पूरा गर्न सकिन्छ । यसभन्दा पहिलो हाम्रो काम गराइले एक नम्बरमा पुगेका थियौं । यसपटक पनि हामी एक नम्बरमा पुग्छौं भन्ने विश्वास छ ।

० अब फेरि पनि नगरपालिकामा तालाबन्दी हुँदैन भन्ने कुराको के ग्यारेन्टी छ ?

— अब फेरि ती असन्तुष्टहरूले तालाबन्दी गर्दैन भन्ने कुरामा केही बाउण्ड बनेको छैन । अब नियम कानूनले चल्नुपर्ने हो, नगरसभाबाट पारित भएका कुराहरू लागू गर्ने, छुट भएका कुराहरू समेटिने लगायतका विषयमा सहमति भएको छ ।

० तपाइँकै पार्टीका वडाअध्यक्षहरूले पनि तालाबन्दी गरेका थिए, के थियो समस्या ?

— वडाअध्यक्षहरूले आफ्ना समस्याहरू मलाई पहिले नै बताइदिएको भएको त्यस्तो अवस्था नै आउने थिएन । दशैंको बेला भगवती मन्दिरमा खसी चढाउन जाँदा उनीहरूलाई पनि माला लगाउनुपर्ने, गुलियो खाना दिनुपर्ने अनि मात्रै बली प्रदान गर्नुपर्ने माग थियो । तर, मलाई त यसबारे जानकारी नै थिएन । यस्तै सानोतिनो निहुँहरू खोजेर कसैको उक्साहटमा तालाबन्दी गर्न पुगेका थिए । म सर्लाहीबाट काठमाडौं आएँ त्यहीं दिन तालाबन्दी गरे । मलाई त जानकारी नै भएन, पछि थाहा पाएँ कि मेरो नगरपालिकामा तालाबन्दी भयो ।

० नगरपालिकामा विकास निर्माणको सवालमा कतिको काम भएको छ ?

— मेरो नगरपालिकामा मैले कति काम गरें भन्ने कुरा मैले आफै भनेर हुँदैन । यहाँका जनतासँग सोध्नुस्, अनि जनताले त्यसको जवाफ दिन्छन् । तपाइँलाई निम्तो छ, एकचोटि यहाँ आएर अनुगमन गर्नुस् कि कति काम भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ