नमूना वडा बनाउँछौं : जगरनाथ साह

वडाध्यक्ष, जनकपुरधाम उपमहानगरपालिका–६, धनुषा

स्थानीय सम्वाद्

12/19/2019

० जनकपुरधाम–मा अहिलेसम्म उल्लेख्य कामहरू के–के भयो त ? 

— जनकपुरधाम एउटा ऐतिहासिक तथा धार्मिक नगरी हो । त्यो हिसावले विगतमा कुनै किसिमको काम हुन सकेको थिएन । हामी निर्वाचित भएर आएपछि जनताका धेरै अपेक्षाहरू पायौं । मैले निर्वाचत भएपछि आफ्नो वडाभित्रको समस्यालाई केन्द्रित गरेर विकास निर्माण थालेको छु । हाम्रो वडा कार्यालय थिएन, भाडामा हामी कार्यालय सञ्चालन गरेका थियौं । अहिले हामीले आफ्नै कार्यालय बनाइसक्यौं र मेयर लालकिशोर साहज्यूबाट उद्घाटन पनि गराइसकेका छौं । यस्तै, हामी जनताबाटै जनताकै लागि निर्वाचित भएका आएर हौं । त्यसैले हामीले जनताको भावना र समस्यालाई समाधानको बाटा पहिल्याउनु हाम्रो कर्तव्य हो ।

० कस्ता योजनाहरू सञ्चालनमा छन् ?

— वडाभित्र रहेकासडक विस्तार तथा स्तरोन्नतिलाई प्राथामिकताका साथ कार्य अगाडि बढाउँदै छौं । वडाध्यक्ष निर्वाचित भएपछि वडालाई व्यवस्थित रूपमा सञ्चालनमा ल्याएर शिक्षा, स्वास्थ्य, सडक लगायतको पूर्वाधार अपरिहार्य छ । त्यसैले यस्ता विकासमा केन्द्रित भएको छु । वडाको पर्यटकीय र खेल क्षेत्रको विकासमा लागेको छु ।

० शिक्षामा के–के सुधार भयो ?

— विकासको मूल आधार शिक्षा हो । त्यसैले वडाको शौक्षिक क्षेत्रको सुधारमा जोड दिएको छु । शैक्षिक सुधारअन्तर्गत सामुदायिक विद्यालयमा नेपाली र अङ्ग्रेजी दुवैबाट कक्षा संचालन गरेको छु । अहिलेको चासो र विद्यार्थीको आर्कषण भएकाले प्राविधिक शिक्षामा पनि जोड दिएका छौं ।

० मधेशमा अहिले चिसो बढेको छ, त्यसबाट बच्न के–के गर्नुभएको छ ? 

— प्रत्येक वर्षझैं यस वर्षमा चिसो बढिसकेको छ । शीतलहरबाट जनजीवन व्यापकरूपमा प्रभावित हुने गरेका छन् । त्यसका लागि हामीले विभिन्न पहलहरू थालेका छौं । हुन यहाँका सामाजिक संस्थाहरूले पनि विपन्न वर्गहरूलाई कम्बल बाँड्ने, न्यानो कपडा वितरण गर्ने, प्रशासनले दाउराको व्यवस्था गर्ने, चिया खुवाउने लगायतका कार्यक्रमहरू पनि गर्दै आएको छ । हामीले जनचेतना जगाउनेतिर लागेका छौं । चिसोबाट बच्ने उपायहरूबारे जनचेतना जगाउँछौं ।

० जनताबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?  

— यहाँका जनतामा ठूलो अपेक्षा देखियो । सोहीअनुसार म वडाध्यक्ष निर्वाचित भएर आएपछि जनताको सेवामा अहोरात्र खटेको छु । जनताको सेवा सुविधामा कुनै कसर राखेको छैन । त्यसैले होला, जनताबाट मैले सकारात्मक प्रतिक्रिया पाएको छु । आफूले चुनेको जनप्रतिनिधिबाट सेवा सुविधा पाउँदा जनता खुसी नै छन् । 

० जनप्रतिनिधिको रूपमा काम गरिरहँदा कतिको अप्ठ्याराहरू आउँछन् ? 

— करिब दुई दशकदेखि स्थानीय तह जनप्रतिनिधिविहीन थियो । यत्रो लामो समयपछि स्थानीय तहमा जनप्रतिनिधि आएका छन् । विगतमा वडामा केही पनि काम भइरहेको थिएन । सानोभन्दा सानो कामका लागि पनि जनताले विभिन्न कठिनाई भोग्नुपर्ने थियो । हामी निर्वाचित आउँदा जनताको अपेक्षा धेरै ठूलो थियो । विकास निर्माण हुन नसक्दा जनताका धेरै अपेक्षाहरू छन् । तर हामीले विस्तारै जनताका सबै अपेक्षाहरू पूरा गर्दै गइरहेका छौं । जनताले हामीलाई काम गर्नका लागि पठाएका हुन्, त्यसैले अप्ठ्याराहरूलाई हामीले अवसरको रूपमा लिँदै अगाडि बढिरहेका छौं । खासै अप्ठ्याराहरू छैनन् । काम गर्ने इच्छा शक्ति भएपनि कुनै किसिमको समस्या हुँदैन । 

० प्रतिपक्षीहरूसँग कतिको सहयोग हुन्छ ? 

— स्थानीय तह भनेको कुनै राजनीतिक अखाडा होइन, जनताका लागि काम गर्ने हो । यहाँका प्रतिपक्षीहरूले पनि हामीलाई सहयोग नै गरिरहेका छन् । सबैको सहयोगमा नै हामीले कामहरू अगाडि बढाइरहेका छौं । प्रतिपक्षी दलहरूबाट खासै असहयोग भइरहेको छैन । आफ्नै समाजमा विकास र समृद्धिका लागि सबैको आआफ्नो ठाउँबाट सहयोग गरिरहेका छन् । हामीले सबैको सल्लाह र सुझावलाई आत्मसात गर्दै कामहरू अगाडि बढाइरहेका छौं । त्यसैले यहाँ कोही पनि प्रतिपक्षी जस्तो देखिएका छैनन् । सबैको सहयोग नै पाइरहेका छौं । 

० तपाइँ आफ्नो कार्यकालभित्र वडालाई कस्तो बनाउने सोच्नुभएको छ ?

— म आफ्नो कार्यकालभित्र यो वडालाई एउटा नमूना वडाको रूपमा बनाएर देखाउँछु । निर्वाचनका बेला गरेका प्रतिबद्धताहरू पूरा गर्ने नै मेरो मूल उद्देश्य हो । हामीले विभिन्न किसिमका योजनाहरू छनौट गरेका छौं र सोहीअनुसार काम कारबाही अगाडि बढाइरहेका छौं । यहाँको शिक्षा, स्वास्थ्य, सडक नै उच्च प्राथमिकतामा राखेका छौं । शिक्षाको अवस्थालाई सुधारका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराएका छौं । भौतिक पूर्वाधार निर्माणतिर पनि हामीले जोड दिइरहेका छौं । प्राथमिक स्वास्थ्यका लागि पनि केही हदसम्म सुधार भए पनि अझ प्रभावकारीरूपमा जनताको घरआँगनमै सेवा दिनेका लागि प्रयासरत छौं । बाटोघाटो निर्माणलाई पनि हामीले उत्तिकै प्राथमिकता दिएका छौं । किनभने विकासको मुख्य पूर्वाधार भनेकै सडक हो । आवतजावतको सुविधा भएपछि मात्रै जनताले विकासको अनुभूति गर्न पाउँछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ