प्रदेश सरकारका कुनै पनि कार्यक्रम आएको छैन : सन्तोष कुमार मेहता

मेयर, ईशनाथ नगरपालिका, रौतहट

स्थानीय सम्वाद्

5/24/2019

० नगरप्रमुखको रूपमा निर्वाचित भए पछि जनताले अनुभूति गर्ने के–कस्ता कामहरू गर्नुभएको छ ?

— हामीले हरेक क्षेत्रमा काम गरेका छौं, गरिरहेका छौं । २० वर्षदेखि जनप्रतिनिधिविहीनताको अवस्था थियो त्यसैले जनताको आकांक्षा धेरै छन् । हामी निर्वाचित भएर आएदेखि जनताको आकाक्षां अझ बढेको छ र सोहीअनुसार काम गरिरहेका छौं । हामीले शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, सरसफाई र खानेपानीमा विशेष ध्यान दिएका छौं । हाम्रो काम गराईबाट जनताले स्थानीय सरकारको अनुभूति गरेका छन् ।

० जनताले महसुस गर्ने खालका के कस्ता कामहरू भएको छ त ?

— सबभन्दा पहिलो कुरा शिक्षामा रौतहट जिल्ला नेपालकै सबभन्दा कमजोर थियो । नगरपालिकाको शैक्षिकस्तर सुधार्नका लागि विभिन्न किसिमका कामहरू गरेका छौं । विद्यालयहरूमा फर्निचर, भौतिक पूर्वाधार निर्माणमा जोड दियौं । भर्खरै हामीले छात्राहरूलाई साइकल पनि वितरण गरेका छौं । त्यसैले, हाम्रो बढी जोड शिक्षामा नै छ । पहिला विद्यालयमा शिक्षकहरूले राम्रोसँग समय दिइरहेका थिएनन् । हामी अहिले हरेक विद्यालयमा डिजिटल हाजिरीको व्यवस्था गरेका छौं । हामीले विद्यालयमा कस्तो पढाइ भइरहेको छ भन्ने कुराको निरन्तर निगरानी गरिरहेका छौं । यसैगरी, स्वास्थ्य क्षेत्रमा पनि हामीले ३० लाखको औषधि किनेर निःशुल्क वितरण गरेका थियौं । ठाउँ–ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी स्वास्थ्य चेकजाँच लगायतका काम गरेका छौं ।

० ईशनाथ नगरपालिकाको मुख्य आय स्रोत के हो ?

— यहाँको जनजीवन कृषिमा नै आधारित छ । कृषकहरूका लागि हामीले विभिन्न व्यवस्थाहरू ल्याएका छौं । सिंचाइका लागि बोरिङको व्यवस्था गरेका छौं । कृषकहरूलाई बीउ, खाद्य र कीटनाशक औषधि वितरण गरेका छौं । विगतका आर्थिक वर्षको बजेटमा हामीले कृषिमा बढी बजेट दिन सकेनौं तर आगामी आर्थिक वर्षदेखि कृषिमा बढी बजेट दिन्छौं । असार १० गते हामीले नगर परिषद् गर्दैछौं, त्यो नगर परिषद्बाट कृषिलाई बढी प्राथमिकता दिन्छौं ।

० यो आर्थिक वर्ष सम्पन्न हुन लागेको छ, कति बजेट खर्च भयो ?

— यस आर्थिक वर्षको ७५ प्रतिशत बजेट हामीले खर्च गरिसकेका छौं र २५ प्रतिशत खर्च गर्न बाँकी छ । बाँकी रहेका २५ प्रतिशत बजेट हामीले असार २० गते पहिला नै खर्च गरिसक्छौं ।

० स्थानीय निर्वाचनपश्चात् सिंहदरबार गाउँ–गाउँमा आएको छ ?

— सिंहदरबार गाउँ–गाउँमा जनताले महसुस गरेका छन् । जनताले जुन किसिमका अपेक्षा गरेका थिए त्यो अनुसारको नभए पनि अहिले सेवा सुविधाहरू गाउँमै पाउन सकेका छन् । लामो समयपछि जनप्रतिनिधि आउँदा जनताका धेरै आवश्यक्ता र आकांक्षाहरू छन् । ती सबै विस्तारै हामी पूरा गर्दैछौं ।

० प्रतिपक्षीहरूको भूमिका कस्तो छ ?

— प्रतिपक्षीहरूले हामीलाई सहयोग गरिरहेका छैनन् । हामीले काम गर्न खोज्दा उनीहरूले विभिन्न किसिमका बाधा अवरोधहरू खडा गर्न खोज्छन्, तैपनि हामी काम गरिरहेका छौं । अवरोधका बाबजुद पनि हामी काम गरिरहेका छौं यो हाम्रो लागि चुनौती र अवसर दुवै हो ।

० प्रदेश सरकारको बेटी बचाउ बेटी पढाउ र छोरी बीमा कार्यक्रम लागू भएको छ ?

— प्रदेश सरकारले सञ्चालन गरेको बेटी बचाउ बेटी पढाउ र छोरी बीमा कार्यक्रम यहाँ अहिलेसम्म लागू भएको छैन । प्रदेश सरकारले दाबी गर्छ कि प्रदेश २ को हरेक स्थानीय तहमा यो कार्यक्रम लागू भएको छ तर हाम्रो नगरपालिकामा पटक्कै भएको छैन । प्रदेश सरकारको यो दाबी झुटो हो । प्रदेश सरकारका कुनै पनि कार्यक्रम ईशनाथ नगरपालिकामा आएको छैन । प्रदेश सरकारको त्यो कार्यक्रम नारामा नै सीमित छ ।

० संघीय सरकारको तराई मधेश समृद्धि कार्यक्रममार्फत् कति बजेट पाउनुभएको छ ?

— तराई मधेश समृद्धि कार्यक्रममार्फत् यहाँको एउटा विद्यालयमा ४० लाख रूपैयाँ आएको छ । त्यो विद्यालयको भौतिक संरचना निर्माण भइरहेको छ । त्यसको ५० प्रतिशत काम सम्पन्न भइसकेको छ । अन्य नगरपालिकाहरूमा तीन करोडसम्मको बजेट आएको छ तर हाम्रोमा ४० लाख मात्र आयो । दुई÷तीन करोड रूपैयाँ ल्याउने र नगरपालिकामा भौतिक पूर्वाधार निर्माण गर्ने हाम्रो प्रयास छ ।

० आगामी आर्थिक वर्षको बजेटमा के–के प्राथमिकतामा पर्छ ?

—आगामी आर्थिक वर्षमा नगरपालिकालाई धुवाँरहित बनाउने कार्यक्रम हामीले बनाउँदैछौं । विपन्न घरपरिवारलाई निःशुल्क गैस सिलिन्डर, चुल्हा वितरण गर्ने हाम्रो योजना छ । अपाङलाई ह्वीलचेयर वितरण गर्ने लगायतका योजनाहरू छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ