लालबन्दी नगरपालिका नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाउ“पालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा विशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्येको २ नं. प्रदेश अन्तर्गतको सर्लाही जिल्लामा पर्ने एक स्थानीय तह हो ।
नेपालमै गोलभेडा (टमाटर) उत्पादन र निर्यातका लागि देशव्यापी रूपमा ख्यातिप्राप्त यस नगरपालिका साविकको लालबन्दी नगरपालिका (साविक गारू.वि.स. लालबन्दी, पत्थरकोट र जब्दी), र नेत्रगरूंज, रानिगंज, परवानिपुर तथा नारायणखोला गा.वि.स. समायोजन भई निर्माण भएको हो ।
० नगरप्रमुखको रूपमा निर्वाचित भएदेखि के कस्ता कामहरू गर्नुभयो ?
— हामीले जनताको बीचमा गएर जनताका समृद्धिसँग प्रत्यक्ष सम्बन्धित, सडक, शिक्षा, नदी नियन्त्रण लगायतका क्षेत्रमा कामहरू गरिरहेका छौं । खानेपानीको विषयमा हामी सम्वेदनशील भएर लागेका छौं । हाम्रो नगरपालिका भौगोलिक हिसावले एकदमै विकट हो । हामीले खासगरी, बाटो र शिक्षामा केन्द्रित गरेर दुई वर्षदेखि काम गरिरहेका छौं ।
० भनेपछि, जनताले स्थानीय सरकारको उपस्थिति महसुस गरेका छन् ?
— एकदमै महसुस गरेका छन् । हामीले स्वास्थ्य, शिक्षा, सडक लगायतका क्षेत्रमा काम गरिरहेका छौं । त्यसैले जनताले स्थानीय सरकारको महसुस गरेका छन ।
० लालबन्दीका जनता केमा आत्मनिर्भर हुनसक्छन् ?
— हामीले यहाँका जनतालाई आत्मनिर्भर बनाउन तरकारी खेतीका लागि विभिन्न काम गरेका छौं । यस्तै दुधको उत्पादन बनाउन पनि योजनाहरू ल्याएका छौं । दुध उत्पादनका लागि पशु पाल्ने किसानहरूका लागि प्रोत्साहनस्वरूप भत्ता दिइरहेका छौं । तरकारी खेती गर्नेहरूका लागि बजार व्यवस्थापन गरेका छौं । त्यसैगरी, हामीले रोजगारमूलक तालिमहरू पनि व्यापकरूपमा दिएका छौं ।
० लालबन्दी नगरपालिका कसरी विकट भयो ?
— हाम्रो नगरपालिकामा पहिले सात वटा गाविसहरू मिसिएको थियो । त्यसमध्ये दुईटा चुरेभित्र छ । त्यहाँ यातायातको एकदमै असुविधा छ । बाटो, विद्युत पुगेको छैन । त्यहाँ माविस्तरका विद्यालयहरू छैन् । शुद्ध खानेपानीको अभाव छ, त्यसैले अभावैअभाव छ । त्यसैले, विकट त भन्नुप¥यो ।
० शिक्षाको अवस्था कस्तो छ ?
— यहाँ कहीं कहीं शिक्षाको राम्रो अवस्था छ भने कतै दयनीय अवस्था पनि छ । सर्लाही जिल्लाको सबभन्दा बढी विद्यालय भएको पालिका हो लालबन्दी । यहाँ ४८ वटा विद्यालय छन्, जसमध्ये ७–८ वटामा दरबन्दी पनि छैन । हामीले आन्तरिक स्रोतबाट व्यवस्थापन गरेर चलाउने काम सुरू गरेका छौं । कतिपय उत्तरी भेगमा मावि चलेको छ तर दरबन्दी छैन । संघीय सरकारले पनि त्यो खालको व्यवस्था गर्न सकेन र प्रदेशले पनि झन् शिक्षा र स्वास्थ्य कुनै कामै गरेको छैन । यो अर्थमा हामी आफ्नो तवरमा साधन स्रोत जुटाउँदै विद्यालय चलाएको अवस्था छ । केही भागमा असाध्यै राम्रो पठनपाठन भएको अवस्था पनि छ ।
० सिंहदरबार गाउँ–गाउँमा भन्ने नारा नगरवासीले महसुस गरेका छन् ?
— केही हदसम्म महसुस गरेका छन् । तर पूर्णरूपले सिंहदरबार गाउँ–गाउँमा आएको छैन । यसका लागि केही समय लाग्छ । यहाँ जनताको आशा र आकांक्षा धेरै छन् । ती सबै पूरा गर्न सजिलो छैन । धेरै अपेक्षा भएकोले एक दुई वर्षमै पूरा हुने अवस्था नरहेकोले हामी अभ्यासमा छौं ।
० प्रदेश र संघीय सरकारसँग कस्तो किसिमको सहकार्य भइरहेको छ ?
— संघीय सरकारले हामीलाई सशर्त र निःशर्त माध्यमबाट उपलब्ध गराएको छ । सशर्त पैसाबाट हामीले तोकेको काम गर्नुपर्ने गरिरहेका छौं । त्यसैले गर्दा संघीय सरकारले हामीलाई राम्रै पैसा दिएको छ । हामीले निर्माण कार्यहरू गरिरहेका छौं । हामीले पाँच वर्षको अवधिमा धेरै काम गर्छौं । तर, प्रदेश सरकारबाट हामीले जुन तरिकाले कार्यक्रमहरू पाउनुपर्ने हो, त्यसमा एकदम न्यून छ । प्रदेशले हामीलाई कार्यक्रम दिँदा समन्वय नगरेको महसुस गरिरहेका छौं । हामीले माग एउटा गरेको र सम्बोधन अर्को भएको अवस्था पनि छ ।
० छोरी शिक्षा बीमा लालबन्दीमा लागू भएको छ ?
— त्यो कार्यक्रम असाध्यै राम्रो छ तर हामीकहाँ लागू हुन सकेको छैन । यसबारे हामीले पटक–पटक बुझेका छौं । तर, हामीबीच समन्वयको अभावले हो कि के कारणले हो यो कार्यक्रम हाम्रो नगरपालिकामा आएको छैन ।
० तपाइँको ड्रीम प्रोजेक्ट के हो ?
— हामीले आफ्नो कार्यकालको पाँच वर्षभित्र व्यापक रोजगारको सिर्जना गराउँछौं र नगरपालिकामा बेरोजगारी रहँदैन । हामीले ठूलठूलो कलकारखाना खोल्न त सक्दैनौं तर हामी सीपमूलक तालिम दिन्छौं र कृषिलाई उत्पादनमूलक बनाउँछौं । शासन र सिस्टमलाई अनुशासित बनाई समाजलाई सभ्य बनाउँछौं ।
० पर्यटनको सम्भावना कति छ ?
— यहाँ पर्यटनको ठूलो सम्भावना छ । त्यसमा हामी काम पनि गरिरहेका छौं । यो पर्यटन विकास गर्ने भनेर प्रदेश सरकारले भ्यू टावरसहित बजेटमा व्यवस्था ग¥यौं तर पछि संशोधन गरेर त्यो बजेट नै प्रदेश सरकारले काटिदियो । त्यसबाट हामी पीडित पनि छौं । हामीले टेलिस्कोपसहित भ्यू टावर बनाउने भनेर प्रदेश २ कै सबभन्दा अग्लो ठाउँ हो त्यो । त्यहाँबाट प्रदेश २ का आठवटै जिल्ला हेर्न सकिन्छ । त्यस्तै, हामीले विद्युत उत्पादन गर्ने सम्भावना पनि अध्ययन गरिरहेका छौं । अर्को कुरा के छ भने हाम्रै क्षेत्रमा जुनार र सुन्तला पनि फल्छ । यस प्रदेशका जनताले आफ्नै प्रदेशमा फलेको जुनार र सुन्तला फलेको हेर्न पाउने सम्भावना पनि छ ।
तपाईको प्रतिक्रिया