० मिर्चैया नगरपालिकाले कर वृद्धि ग¥यो भनेर आन्दोलन हुँदैछ, के हो त्यो ?
— करको विषयमा आन्दोलनरत् पक्षसँग छलफल गरेका थियौं । हामीले कुनै नयाँ कर लगाएका छैनौं, विगतदेखि चलिआएको करलाई नै निरन्तरता दिएका छौं । हामी निर्वाचित भएर आइसकेपछि कसैक कसैलाई आपत्ति र अपचको विषय बनेको छ । यहाँका उद्योग वाणिज्य संघका सदस्य र बौद्धिक व्यक्तित्वहरूसँग कुरा गर्दा उहाँहरूले यदि करकै विषय हो भने छलफल होस् भन्नुभएको छ । हामीले आन्दोलनरत् पक्षलाई वार्ताका लागि दुईटा पत्र पठायौं तर आउनुभएन । हामीले करको विषयमा वडा–वडामा गएर जनतामाझ बिफ्रिङ गरिसकेका छौं । जनताहरू सन्तुष्ट छन् । तर भ्रममा पार्ने कोशिस भइरहेको छ ।
० तपाइँहरूले कुनै नयाँ कर लागू गर्नुभएको छैन ?
— हामीले कुनै किसिमको नयाँ वा जनतालाई भार पर्ने कर लगाएका छैनौं । जतिबेला मिर्चैया नगरपालिका घोषणा भयो, त्यो बेला करको जुन दायरा थियो त्यसैअनुसार अहिले पनि चलिरहेको छ । तर, यहाँ जनतालाई भ्रममा पार्न विभिन्न किसिमका कुरा गरिँदैछ ।
० यदि कुनै नयाँ कर लगाउनुभएको छैन भने किन आन्दोलन हुँदैछ ? तपाइँहरूले जनतालाई बुझाउन सक्नुभएको छैन कि ?
— हामीले उहाँहरूलाई बोलाएर भन्यौं कि जिल्लाका अन्य नगरपालिकाहरूको कर हेर्नुस् र हाम्रो नगरपालिकाको कर हेर्नुस् । यदि त्यहाँभन्दा कुनै कर बढी छ भने तुरून्त फिर्ता लिन्छौं । जनतालाई भार पर्ने कर पनि हामीले लगाएका छैनौं । तर, उहाँहरूको जुन रूढीवादी संस्कार छ, उहाँहरूले भने अनुसार नै नगरपालिका चलोस् भन्ने चाहनुहुन्छ । तर, स्थानीय सरकार आफ्नो नियमअनुसार चलाउँदा उहाँहरूको आपत्ति छ । करको विरोधमा आन्दोलनमा रहेका व्यक्तिहरू सबै भूपु प्रधानपञ्च र चुनाव हारेकाहरू छन् । केही व्यक्तिहरू कांग्रेसका पनि छन्, उनीहरूले विरोधका लागि विरोध गरिरहेका छन् । तर, बौद्धिक व्यक्तित्वहरू हामीसँग छन् । किनभने मिर्चैया नगरपालिका सफल नगरपालिका मध्ये एक हो । आम जनताले पनि हाम्रो कार्यको सराहना गर्दैछन् । जहाँ विकासको मुखै देखिएकै थिएन, त्यहाँ करोडौं करोड खर्च गरेर जनतालाई विकासको अनुभूति गराएका छौं ।
० विरोध गर्नेहरू कांग्रेसका नेताहरू हुन् ?
— कांग्रेसका पनि छन्, पूर्वएमालेका नेताहरू जो वार्ड अध्यक्षमा पराजित भएकाहरू पनि छन् ।
० तर, तपाइँहरूले आर्थिक वर्ष २०७५/७६ को कर सम्बन्धी व्यवस्थाभन्दा बढी कर लगाइएको आरोप छ नि ?
— हामीले उहाँहरूलाई भन्यौं कि कुनै आरोप लगाउँदा त्यसको प्रमाण पनि दिनुस् । तर, उहाँहरूले प्रमाण दिन सक्नुभएको छैन । सडक कर वृद्धि भयो भनेर हल्ला मात्र गरेर हुँदैन नि ।
० तपाइँलाई ज्ञापनपत्रसमेत दिएको थियो संघर्ष समितिले, किन वार्ता गर्नुभएन ?
— हामीले उहाँहरूलाई वार्ताका लागि आह्वान गरेका थियौं । तर, उहाँहरू वार्तामा आउन चाहनुभएन । मैले सबैलाई आएर छलफल गरौं, नगरपालिकालाई नमूना नगरपालिका बनाऔं भनेर आह्वानसमेत गरेको थिएँ । मैले उहाँहरूको मागलाई सम्बोधन गर्छु भनेर पत्र पठाएको थिएँ । यदि हामीले कही अनावश्यक कर लगाएका छौं भने त्यसलाई फिर्ता लिन्छौं समेत भनेको थिएँ । उहाँहरूसँग कुनै मुद्दा नै नरहने अवस्था देखिएपछि उहाँहरू वार्तामा आउन चाहनुभएन । एउटा हास्यास्पद कुरा के छ भने विरोध प्रदर्शन गर्नका लागि नगरका जनताहरू नआएपछि नगर बाहिरबाट मान्छेहरू बोलाएका थिए । त्यसैले, हामी जनअपेक्षा विपरीत कुनै पनि कर लगाएका छैनौं र जनता हामीसँग छन् । जनताले हामीलाई जे भन्छन्, त्यो गर्न तयार छौं ।
० आन्दोलनकारीहरू वार्तामा पनि आउन चाहँदैनन् भने विवादलाई कसरी मिलाउनुहुन्छ ?
— वार्ताको दुईटा पाटो हुन्छ, आवश्यक्ता र औचित्य । हामीले यो विवाद समाधान गर्न आवश्यक ठान्यौं तर उहाँहरूले ठान्नुभएन । वार्ता गरियो भने कुरा टुंगिन्छ र राजनीति गर्ने कुनै एजेन्डा रहँदैन भन्ने सोचले उहाँहरू वार्तामै आउन चाहनुहुन्न । चुनावमा पराजित भइसकेपछि उहाँहरूको राजनीति गर्ने कुनै एजेन्डा थिएन, कर वृद्धि भयो भन्ने भ्रम फैलाएर आफ्नो राजनीति अगाडि बढाउने उहाँहरूको सोच छ । तर, यहाँका जनताले बुझिसकेका छन् ।
० कर वृद्धिको विरोधमा जसरी आन्दोलन भइरहेको छ, यसबारे त्यहाँका जनताको प्रतिक्रिया के छ त ?
— उहाँहरूको आन्दोलनमा जनताको कुनै चासो वा संलग्नता छैन । केही पूर्वपञ्चहरूले आफ्नो राजनीतिक रोटी सेक्नका लागि बाहिरबाट मान्छे ल्याएर भएपनि विरोधका लागि विरोध गरिरहेका छन् । जनतालाई हामीले विकास गरेर सन्तुष्ट बनाइरहेका छौं र जनता सन्तुष्ट पनि छन् । करको विरोध जतिसुकै जनतामा भ्रम छर्न प्रयास गरिएपनि जनताले उनीहरूमाथि विश्वास गरेका छैनन् ।
० भनेपछि कर वृद्धि भयो भनेर हल्ला फिँजाएर स्थानीय सरकारलाई असफल बनाउन खोजिँदैछ ?
— हो । यो नगरपालिका समृद्धि र विकासतर्फ अगाडि बढिसकेपछि हिजोका जुन नेताहरू थिए उहाँहरूको पसल बन्द हुँदैछ । अब उहाँहरूले के गर्ने भनेर आत्तिएर जनतालाई उक्साएर स्थानीय सरकारलाई विफल बनाउने प्रयास मात्रै हो । जनताको हामी सेवक भएर काम गर्ने वाचा गरेका छौं, ती जनतामाथि केही अन्याय भयो भने सहने छैनौं । विगतमा एउटा पनि पक्की सडक थिएन, पक्की नाला थिएन तर आज मुहार फेरिएको छ । त्यसैले जनताले बुझेका छन् कि अब यो नगरपालिका पाँच वर्षमा बिना पिचको बाटो कुनै हुँदैन । तर, वार्ड अध्यक्षमा पराजित भएका केही पूर्वपञ्चहरूले जनताको सरकारलाई विफल बनाउने षड्यन्त्र रचिरहेका छन् । तर यो सरकारलाई हामी जनताको पक्षमा सफल गराएर नै छाड्छौं ।
० तपाइँको नगरका जनताले सिंहदरबार गाउँ–गाउँमा भन्ने महसुस गरेका छन् ?
— यहाँका जनताले निश्चितरूपमा सिंहदरबार गाउँ–गाउँमा महसुस गरेका छन् । जुन कामका लागि अन्त जानुपर्ने अवस्था थियो, त्यो अन्त्य भएको छ । जनतासँग सम्बन्धित कामहरू वडा–वडामा भइरहेको छ । जनताको चित्त बुझ्ने काम गर्नुस् भनेर हामीले वडाअध्यक्षहरूलाई निर्देशन दिएका छौं । त्यहीअनुसार कामहरू अगाडि बढेका छन् र जनताले पाउनुपर्ने सुविधाहरू पाएका छन् ।
प्रकाशित मिति : २०७५ साल भदौ २२ गते शुक्रबार ।
तपाईको प्रतिक्रिया