लुम्बिनी सांस्कृतिक नगरपालिका पर्यटकको मुख्य गन्तव्य : मनमोहन चौधरी

मेयर, लुम्बिनी सांस्कृतिक नगरपालिका, रूपन्देही

स्थानीय सम्वाद्

8/16/2019

रूपन्देही जिल्ला सदरमुकाम भैरहवादेखि १८ कि.मी. मा अवस्थित लुम्बिनी सांस्कृतिक नगरपालिकाका तीन वटा वडा दक्षिणी सीमा भारतसँग सीमा जोडिएका छन् । यस नगरपालिकाको केन्द्रमा शाक्यमुनि गौतम बुद्धको जन्मभूमी मायादेवी मन्दिर रहेको र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र रहेको पावनस्थल रहेका कारण नगर क्षेत्रमा राष्ट्रिय अन्तर्राष्ट्रिय बौद्ध धर्मावलम्बी एवं आन्तरिक एवम् बाह्य पर्यटकहरूको अत्याधिक आगमन हुने गरेको छ । यस नगरलाई पर्यटकीय नगरको रूपमा विकास गर्न सकिने प्रशस्त आधारहरू रहेका छन् ।

 
० लुम्बिनी सांस्कृतिक नगरपालिकामा अहिले के कस्ता कामहरू भइरहेका छन् ?

— लुम्बिनी सांस्कृतिक नगरपालिका एकदम गाम्रीण एरिया हो । मैले यो नगरपालिकामा सडकलाई बढी महत्व दिएर काम गरिरहेको छु । यस नगरपालिकामा १३ वटा वडाहरू रहेका छन् । एक गाउँबाट अर्को गाउँमा जान पनि समस्या रहेको छ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि ध्यान दिएर काम गरिरहेका छौं । शिक्षा क्षेत्रमा कर्मचारीको व्यापक अभाव रहेको छ । यहाँ सामुदायिक, नीजि र मदरसा गरी लगभग १३५ वटा विद्यालय रहेका छन् तर त्यहाँको निगरानी गर्र्ने १ जना मात्र कर्मचारी छन् । 

० विकास निर्माणको काममा के–कस्ता चुनौतीहरू झेल्नु परेको छ ?

— चुनौती त खासै छैन । गाउँ–गाउँमा बाटो फराकिलो गर्ने काम अगाडि बढिरहेको छ । त्यसबाट अहिले तत्काललाई केही असर हुनसक्छ । अन्य काममा हाम्रो जनताको समर्थन रहेका छन् ।  

० नयाँ आर्थिक वर्षमा समृद्ध नगरपालिका निर्माणका लागि भावी योजनाहरू के–के तय गर्नुभएको छ ?

— हामीले हाम्रो नगरपालिकामा सुकन्या बीमा योजना लागू गरेका छौं । साउन महिनादेखि छोरी जन्मने प्रत्येक घरमा घरमुलीले पाँच हजार र २० हजार नगरपालिकाले गरी जम्मा २५ हजारमा छोरीको बीमा गरिन्छ । जब उसले विद्यालय तहको शिक्षा पूरा गरिसक्छे त्यसपछि त्यो पैसा उसलाई फिर्ता गर्ने भन्ने नियम हामीले नगरपालिका भित्र बनाएका छौं । यो योजनालाई सुकन्या नाम दिएका छौं । नगरपालिका भित्र फुसको घरलाई क्रमशः विस्थापित गर्दै टिनको छानो लगाउन सुरू गरेका छौं ।

० २० वर्षभन्दा पहिले नै बिचैमा पढाई छोड्ने अथवा विवाह गरेर जाने भयो भने के गर्नुहुन्छ ?

— त्यस्तो अवस्था भयो भने नगरपालिकाले दिएको २० हजार हामीले फिर्ता लिन्छौं । अन्य रकम उसको आफ्नै हुन्छ । समाजमा देखिएका यस्ता विकृत्तिहरू हटाउनकै लागि हामीले सुकन्या बीमा योजना ल्याएका हौं ।

० तपाईहरूको काम गराईबाट जनता कतिको सन्तुष्ट छन् ?

— हाम्रो कामबाट जनता एकदम सन्तुष्ट छन् । हामीले जनताको आवश्यकताअनुसार नै काम गरिरहेका छौं ।

० स्थानीय निर्वाचनपश्चात् सिंहदरबार गाउँ–गाउँमा भन्ने गरिन्थ्यो, त्यहाँका जनताले सिंहदरबार गाउँ–गाउँमा आएको महशुस गरेका छन् ?

— अहिले देश नयाँ संरचनामा गएको हुनाले केही समस्याहरू अझ यथावत् नै रहेका छन् । नयाँ संघीय संरचना भएकोले जनताले सिंहदरबार गाउँमा अझ पनि महसुस गर्न पाएका छैनन् । तर, जनताले पाउनुपर्ने सेवा सुविधाहरू अवश्य पनि गाउँ–गाउँमा पुगेका छन् । यस नगरपालिकामा कर्मचारीको व्यापक अभाव रहेको छ । त्यसैले जनताको काम समयमा सम्पन्न हुन सकिरहेको छैन । यदि कर्मचारीको पदपूर्ति हुने हो भने यस नगरपालिकामा अन्य केही समस्या हुने छैन ।

० तपाइँको नगरपालिका र प्रदेश सरकारसँग कतिको सहकार्य हुन्छ ?

— हाम्रो नगरपालिका प्रदेश ५ अन्तर्गत पदर्छ । प्रदेश र स्थानीय सरकारको सम्बन्ध राम्रो छ । नियम कानुन बन्दैछ । यसले पुरा रूप लिइसकेपछि हामी सहकार्य गरेर अगाडि बढ्छौं ।

० तराई–मधेश समृद्धि कार्यक्रमअन्तर्गत तपाइँको नगरपालिकाले पाएको बजेट केमा खर्च गर्नुभयो ?

— हामीले त्यो बजेट सिँचाइका लागि खर्च ग¥यौं । केही बजेट बाँकी रहेको छ त्यो अब आउने बजेटमा मिसाएर फेरि सिँचाइकै लागि काम गर्ने योजना बनाएका छौं । कृषकलाई बीउ, मलखाद वितरण गर्ने पनि हाम्रो कार्यक्रम गरेको छ । अहिले मलखाद बजारमा खोजेजति उपलब्ध नहुँदा कृषकहरूलाई समस्या परिरहेको छ ।

० तपाइँको नगरपालिकामा पर्यटनका सम्भावनाहरू के–के छन् ?

— लुम्बिनी सांस्कृतिक नगरपालिका भनेर हाम्रो नगरपालिकाको नाम नै रहेको छ । नामबाटै थाहा हुन्छ कि यो क्षेत्र पर्यटनका लागि प्रमुख गन्तव्य हो । तर, यहाँ पर्यटक आएर लामो समय बस्दैनन् । आएकै दिन फर्कछन् । यो यहाँको प्रमुख समस्याको रूपमा रहेको छ । सुविधायुक्त होटेल तथा लजको व्यवस्था प्रभावकारी हुन सकेको छैन । त्यतातिर ध्यान दिएर प्रत्येक वडामा एउटा पर्यटकीय स्थल विकास गर्ने मैले योजना बनाएको छु ।  

० नगरपालिकामा घुम्नै पर्ने ठाउँहरू के–के छन् ?

— यहाँको प्रमुख पर्यटकीयस्थल मायादेवी मन्दिर हो । त्यसपछि भारत, श्रीलंका, चीन, कम्बोडिना, कोरिया लगायत अन्य राष्ट्रहरूले आफ्नै शैलीमा निर्माण गरेका मन्दिरहरू रहेका छन् भने अशोक स्तम्भको पनि आफ्नै ऐतिहासिक महत्व रहेको छ ।

० पर्यटकलाई केही दिन त्यही टिकाउनका लागि के–कस्ता योजनाहरू ल्याउनु भएको छ ?

— यो नगरपालिका अन्तर्गत पर्ने वडा नम्बर १२ मा हामीले एउटा पार्क निर्माण गर्न सुरू गरेका छौं । १६ करोडको लगानीमा निर्माण हुने उक्त पार्कको डिपीआर निर्माण भइसकेको छ ।

० तपाइँले त्यहाँका जनतालाई आत्मनिर्भर बनाउन केही सीपमूलक तालिमहरूको व्यवस्था गर्नुभएको छैन ?

— युवाहरूलाई प्रधानमन्त्री रोजगार योजनाअन्तर्गत पनि कामहरू दिएका थियौं । उपभोक्ता समितिहरूद्वारा पनि विभिन्न कामहरू भइरहेका छन् । त्यसमा युवालाई नै प्राथमिकता दिएका छौं । महिलाहरूलाई सशक्तिकरण, सिलाई कटाई सम्बन्धी तालिमहरू दिइरहेका छौं । यस नगरपालिकामा पछिल्लो समयमा हामीले एउटा एम्बुलेन्स पनि संचालनमा ल्याएका छौं ।

० नगरपालिकाको विकासका लागि तपाइँको भावी योजनाहरू के–के रहेका छन् ?
— सुकन्या समृद्धि योजना, फुसको छाप्रोको घरलाई टिन लगाउने योजना, २४ सै घण्टा सरकारी अस्पताल संचालन गर्ने र इर्मजेन्सीको लागि १५ वटा बेड सुचारू ग्र्नका लागि पनि हामी काम गरिरहेका छौं ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ