वासस्थान र शौचालय तत्काल आवश्यक छ : जयप्रकाश दास

वडाअध्यक्ष, फेटा गाउँपालिका–१, बारा

स्थानीय सम्वाद्

4/19/2019

० हावाहुरीबाट प्रभावित तपाइँका वडाका पीडितहरूलाई कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?

— हावाहुरी लगत्तै हामी आफ्ना सम्पूर्ण साधन र स्रोत प्रयोग गरी उद्धार तथा राहत कार्यमा लगायौं । घाइतेहरूलाई उपचारका लागि अस्पतालमा पु¥यायौं । घरबारविहीनहरूको सुरक्षित वासका लागि व्यवस्थापन ग¥यौं । खानाका लागि सामूहिक रूपमा नै व्यवस्था गरेका थियौं । त्यसपछि विभिन्न ठाउँहरूबाट सहयोगी हातहरू पनि आए । अहिले अलि सहज भएको छ । तत्कालका लागि हामीले बासस्थान पनि निर्माण गरेका छौं । यसमा नेपाली सेनाले सहयोग गरिरहेको छ ।

० पुनर्वासका लागि के गर्नुभएको छ ?

— तत्कालका लागि अस्थायी टहराहरू निर्माण भएको छ । त्यसमा नेपाली सेनाको कार्य सराहनीय छ । प्रदेश सरकारले पुनर्वासका लागि घर बनाइदिने प्रतिबद्धता पनि जनाएको छ । हामीले पीडितहरूको विवरण संकलन गरिरहेका छौं । पीडितहरूका लागि हामीले छुट्टै कार्ड वितरण गरेका छौं । त्यो कार्डअनुसार राहत सामग्री वितरण तथा पुनर्वास गरिनेछ ।

० हुरी पीडितहरूका लागि विभिन्न ठाउँबाट ठूलो मात्रामा राहत घोषणा भइसकेको छ, त्यसलाई कसरी व्यवस्थितरूपमा पु¥याउने सोच्नुभएको छ ?

— खासगरी पीडितहरूका लागि मुख्यमन्त्री राहत कोष नै खडा भएको छ । जसमा देश तथा विदेशबाट सहयोगी हातहरूले सहयोगका घोषणाहरू गरेका छन् । जति पनि राहतको नाममा सहयोगहरू उपलब्ध हुन्छ, त्यसले पीडितहरूलाई पुनः सामान्य अवस्थामा पु¥याउन सहयोग मिल्छ । हामीले टोल–टोलमा राहत वितरण तथा संकलन समिति पनि बनाएका छौं । त्यो समितिमा दाताहरूले राहत सामग्री जम्मा गराइरहेका छन् । त्यहाँबाट हामी आफैले पीडितहरूको घर–घरमा गएर वितरण कार्य गरिरहेका छौं । हामीले समिति नबनाउँदा अव्यवस्थित तरिकाले राहत वितरण भइरहेको थियो । त्यस्ता गुनासाहरू आएपछि हामीले त्यसलाई व्यवस्थित गरेका छौं ।

० यस्तो विनाशकारी हावाहुरी आउँछ भन्ने कुराको पूर्वानुमान गरिएको थियो ?

— त्यस्तो कुनै किसिमको पूर्वानुमान गरिएको थिएन । कसैले नसोचेको जस्तो एक्कासी हावाहुरी आयो । जसले गर्दा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति हुन गयो ।

० पीडितहरूको राहत तथा उद्धारका लागि तीनै तहका सरकारबीच कस्तो सहकार्य हुँदैछ ?

— अहिलेसम्म राहत तथा उद्धारमा सबैको सहयोग रहेको छ । तर, पुनर्निर्माणमा खासै चासो देखिएको छैन । हुन त प्रदेश र केन्द्र सरकारले घर बनाइदिने भनेको छ । तर, काम सुरू भएको छैन । तत्काल बस्नका लागि नेपाली सेनाले अस्थायी टहराहरू निर्माण गरेको छ । अहिले विवरण संकलन मात्रै भएको छ । विवरण संकलनपछि चाँडै नै पीडितहरूको वासका लागि स्थायी घर टहरा निर्माण हुने हामीले आश्वासन पाएका छौं । तीन महिनाभित्र सबै पीडितहरूका लागि घर बनाइदिने भन्ने कुरा हामीले सुनेका छौं ।

० घाइतेहरूको अवस्था कस्तो छ ?

— घाइतेहरूको अवस्थामा सुधार हुँदै गएको छ । कतिपयले उपचार गराएर फर्किसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली आफै यहाँ आएर सम्पूर्णहरूको निःशुल्क उपचार सरकारले गर्ने घोषणा गर्नुभएको थियो । त्यस्तै, प्रदेश सरकारले पनि घाइतेको उपचारमा तदारूकता देखाएको छ । मुख्यमन्त्रीले घाइतेहरूसँग आफै भेट्न आउनुभएको थियो । त्यसैले, घाइतेहरूको उपचारमा कुनै कमी छैन । घटनालगत्तै म आफै यो वडाको अध्यक्ष भएको नाताले स्वास्थ्य चौकी तथा अस्पतालहरूमा पुगेर उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह गरेको थिएँ ।

० केन्द्रीय सरकारबाट कतिको राहतहरू आयो ?

— केन्द्रीय सरकारबाट राहतहरू आएको हामीलाई जानकारी छैन । प्रदेश सरकारले विभिन्न किसिमका सहयोगहरू गरिरहेको छ ।

० प्रभावित क्षेत्रमा तत्काल प्राथमिकताका साथ के गर्नुपर्ने हो ?

— अहिले यस क्षेत्रमा बस्नका लागि सुरक्षित वासस्थान अति आवश्यक छ । अस्थायी टहराहरू निर्माण भएका छन् तर त्यो पर्याप्त होइन । आकाशमा बादल लाग्ने बित्तिकै पीडितहरू आत्तिन थाल्छन् । फेरि पनि त्यस्तै विनाशकारी हावाहुरी आउँछन् कि भन्ने त्रासमा छन् पीडितहरू । पानी परेपछि त्यो टहराले धान्न सक्ने अवस्था छैन । अर्को कुरा यहाँ शौचालयको पनि समस्या देखिएको छ । त्यसैले वास र शौचालयको तत्काल बनाउनुपर्ने हो ।

० जसरी राहतहरू घोषणा भएका छन्, त्यसबाट पीडितहरूलाई कतिसम्म पूर्ति गर्न सकिन्छ ?

— जहाँसम्म मानवीय क्षति भएको छ, त्यसको पूर्ति त गर्न सकिँदैन । तर, भौतिक क्षतिको पूर्ति अवश्य गर्न सकिन्छ । केन्द्र र प्रदेश सरकारले घर बनाइदिने भनेको छ । त्यसअनुसार यदि निर्माण भयो भने कुनै समस्या हुँदैन । यस्तै, विभिन्न सहयोगहरूले पनि मुख्यमन्त्री राहत कोषमा रकमहरू जम्मा गरेको हामीले सुनेका छौं । ती सबै सदुपयोग भयो भने पुनर्वासमा समस्या आउँदैन । तर, अब वर्षात्को मौसम पनि सुरू हुँदैछ, त्यस अगावै नै सरकारले घर निर्माण गरिसक्नुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ