० तपाई निर्वाचित भए पश्चात् जनताले प्रत्यक्ष अनुभुति गर्ने गरी के कामहरू गर्नु भएको छ ?
– म निर्वाचित भएर आएसँगै यहाँ विकासका पूर्वाधारहरूका कामहरू अगाडि बढेका छन् । सडक, स्वास्थ्य र शिक्षालाई मैले प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको छु । सडक पनि पिच र ढलान गरी स्तरीय किसिमबाट निर्माण भइरहेको छ । भौतिक संरचना अभाव भएर समस्या भोगिरहेका विद्यालयहरूलाई सहयोग गरी भौतिक संरचनाको निर्माण गरेका छौं । ४ वटा गाविस मिलेर कोशी गाउँपालिका निर्माण भएको हो । गौरवका योजना अन्तर्गत मैले प्रदेशस्तरीय रिफ्रेसमेन्ट सेन्टरको निर्माण गर्छु भनेर घोषणापत्र मै उल्लेख गरेको थिएँ त्यसको पनि काम भइरहेको छ । त्यसको लागि १९ बिघा जग्गा पनि हामीले अतिग्रहण गरिसकेका छौं । प्रदेश सरकार र कोशी गाउँपालिकाको सहकार्यमा यो निर्माण भइरहेको छ । यो १ नम्बर प्रदेश कै नमूनाको रूपमा रहनेछ ।
० रिफ्रेन्समेन्ट सेन्टर भित्र भित्र के–के रहने छन् ?
– पर्यटकीय क्षेत्र कोशीटप्पु बन्यजन्तु आरक्षण क्षेत्र कोशी गाउँपालिकासँग जोडिएको हुनाले पर्यटन व्यवसायमा पनि फाईदा पुग्ने गरी लामो दुरीका सवारी साधनका चालकहरूको लागि विश्राम स्थल बनाए स्नान घर, रूमको व्यवस्था, कोशी टप्पुका पर्यटकहरूलाई प्रभाव पार्ने, चेतनामुलक पोष्टरहरू, ट्राफिकको मूल कार्यालय, नेचुरल स्विमीङ पुल, कोशी टप्पु तथा कोशी व्यारेजको अवलोकन गर्न सकिन्छ भने भारतको बोर्डरको पनि अवलोकन गर्न सकिने गरी भ्यु टावर लगायतका विभिन्न विषयवस्तु समावेश गरी रिफ्रेन्समेन्ट सेन्टर बनाउने योजना रहेको छ ।
० यो योजना कहिलेसम्म सम्पन्न गर्ने लक्ष्य राख्नुभएको छ ?
— यसका लागि प्रदेशमा परियोजना अफिस नै खडा गरिएको छ । आ.व. ०७५÷७६ को बजेटमा प्रदेश सरकारबाट पाँच करोड विनियोजन भएको थियो । तत्कालको प्रदेश बैठकबाट डीपीआर गरेर तुरून्तै यसको प्रक्रिया अगाडी बढाउने भन्ने निर्णय भएको छ । यो परियोजना २ वर्ष भित्रमा पुरा हुन्छ ।
० दुई दशकदेखि जनप्रतिनिधिविहीन भएको स्थानीय तहमा तपाईहरू निर्वाचन भएर आएसँगै कत्तिको चुनौती महसुस भएको छ काम गर्न ?
– नेताहरूले स्थानीय तहको सरकारलाई देखाएर सिंहदरबार गाउँ गाउँमा आईपुग्यो भनेर जसरी भाषण गर्नुहन्छ, त्यसबाट जनता ठूलो अपेक्षा बोकेर आउने र हामीबाट थोरै मात्र पाउँदा जनताले अल्ली खल्लो महशुस गर्ने गरेको पाइन्छ । स्थानीय सरकारको धेरै अधिकार कटौती भएको छ । संविधानसँग नबाझिने किसिमका निर्णयहरू गर्नुपर्ने छ । संघीय सरकारले विभिन्न किसिमका नीति नियम बनाएर पठाएको छ । त्यसकै मातहतमा बसेर स्थानीय सरकारले कार्ययोजनाहरू बनाउनुपर्ने हुन्छ । त्यस सन्दर्भमा जनताले जुन अपेक्षा राखेर आएका हुन्छन् त्यो अपेक्षा पूरा गर्न सक्ने अवस्था छैन । त्यो गाउँपालिकाका प्रतिनिधिहरूका लागि चुनौती रहेको छ ।
० कस्ता अधिकारबाट स्थानीय तह बञ्चित छ ?
– शिक्षा क्षेत्रमा अहिले ठूलो प्रश्न चिन्ह उठेको छ । शैक्षिक क्षेत्र सुधार गर्न स्थानीय तहलाइ पूर्ण अधिकार दिनुपर्दथ्यो । विद्यालयका कर्मचारीलाई तलब दिने र अनुदानमा आएको रकम पठाइदिने बाहेक स्थानीय तहलाई अरू अधिकार नै छैन । जिल्ला शिक्षा समन्वय इकाई भनेर राखिदिएको छ । स्थानीय तहले गरेको कामको विवरण ईकाइमा पठाइदिनुपर्छ । त्यसको निर्णय गर्ने अधिकार इकाइलाई मात्र हुन्छ । शिक्षा क्षेत्र, स्वास्थ्य, कृषि क्षेत्रमा पनि धेरै अधिकार कटौती भएको छ ।
० सिंहदरबार गाउँगाउँमा आएको महसुस गर्न पाएका छन् तपाईको क्षेत्रका जनताले ?
– स्थानीय सरकार बनिसकेपछि यहाँका जनताले केही मात्रामा विकासको अनुभूति त गर्न पाएका छन् । तर जुन अपेक्षा लिएर सिंहदरबार गाउँगाउँमा भन्ने गरिन्थ्यो त्यो अपेक्षा पूरा हुन सकेको छैन ।
० नयाँ आर्थिक वर्षमा के–कस्ता योजनाहरू ल्याउनुभएको छ ?
– मैले मेरो गाउँपालिकामा भैसी सुन्दरी प्रतियोगिता, जुन विगतमा पनि गराएको थियो, यसले गर्दा किसानहरूमा भैसी पालन गर्न चाहना बढ्दै गएको पाएको छु । भैसी जोन निर्माण गर्ने मेरो चाहना छ । यो नयाँ आर्थिक वर्षमा मैले कृषिलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्नेछु । वि.सं २०६५ भाद्र २ गते सप्तकोशीको बाँध फुटेर वडा नम्बर ४, ५ र ६ नम्बरमा रहेको जग्गा पूर्ण रूपमा क्षति भएको छ थियो, त्यो जग्गा अहिलेसम्म पनि खेती गर्न योग्य भईसकेको छैन त्यो जग्गामा जडिबुटी प्रशोधन केन्द्र स्थापना गरेर त्यो जग्गाको प्रयोग गर्ने मेरो योजना रहेको छ ।
० आफ्नो ५ वर्षे कार्यकालमा कोशी गाउँपालिकालाई कस्तो बनाउने योजना छ ?
– कोशी गाउँपालिका हराभरा हुनेछ । कोशी गाउँपालिकामा म निर्वाचित भएर आएको २ वर्ष बितेको छ । अबको तीन वर्ष भित्र व्यवस्थित किसिमबाट विकास गरेर प्रत्येक जनताको घरसम्म एम्बुलेन्स पुग्न सक्ने गरी काम गर्नेछु र २०३२ सालनमा स्थापना भएको कोशीटप्पु वन्यजन्तु केन्द्रलाई विश्वमा नै चिनाउने हिसाबले काम गर्नेछु । मेरो कार्यकालमा पर्यटन व्यवसायलाई व्यापक बनाएर जनताले यो क्षेत्रबाट आम्दानी लिन सक्ने बनाउनेछु ।
तपाईको प्रतिक्रिया