प्रदेश नम्बर ५ बर्दिया जिल्लाको मध्य उत्तर खण्डमा अवस्थित यस नगरपालिकाको पूर्वमा बबई नदी, पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्ज, उत्तरमा पनि सोहि राष्ट्रिय निकुञ्ज दक्षिणमा मधुवन नगरपालिका पर्दछ । साविकको ठाकुरद्वारा गा.वि.स.मा रहेको ठाकुरबाबा मन्दिरको नामबाट यस स्थानीय तहको नाम राखिएको हो । यस नगरपालिकाले १०४.५७ वर्ग किलोमीटर क्षेत्रफल ओगटेको छ भने साबिकका चारओटा बगनाह, नेउलापुर, शिवपुर र ठाकुरद्वारा गाउँ विकास समितिलाई गाभेर ९ वटा वार्डमा बिभाजन गरि सेवा प्रवाह गरिएको छ । जनगणना २०६८ अनुसार यस नगरपालिकाको जनसंख्या ४४,३१६ रहेको छ । उक्त जनसंख्याको साठी प्रतिशत बढी आदिवासीका रूपमा रहेको थारू जतिको छ । लैंगिक हिसाबले २४,४१३ महिला तथा १९,९४८ पुरष रहेका छन् ।
० जनताको प्रतिनिधिको रूपमा निर्वाचित भएपछि जनताले अनुभूति गर्ने केकस्ता कामहरू गर्नुभयो ?
— लामो समयदेखि जनप्रतिनिधिविहीनताको अवस्थामा हामी निर्वाचित भएर आयौं । हामीसँग जनताको ठूलो आशा र अपेक्षाहरू छन् । नेपालमा यो नयाँ संरचना भएकोले कर्मचारीको अभावदेखि भौतिक पूर्वाधारहरू पनि अस्तव्यस्त थियो । हामीले यी सबै कुराहरूलाई व्यवस्थित गर्दै लाने प्रयत्न गर्दैछौं । सबै वडाहरूमा वडा कार्याहरू थिएन, अहिले व्यवस्थापन गरेका छौं । हामीले समग्र ठाकुरबाबा नगरपालिकाका लागि योजनाहरू बनाएका छौं । यसै वर्ष हामीले २० वर्षे गुरूयोजना तयार गरेर एउटा भिजन तयार गरेका छौं । सबै वडाहरूमा स्वास्थ्य केन्द्र स्थापना गरेर स्वास्थ्य सेवा प्रवाह गर्न थालेका छौं । त्यसैगरी, हामीले शिक्षा, सडक, भौतिक पूर्वाधार निर्माण, कृषि, युवाहरूलाई स्वरोजगारका कार्यक्रमहरू लगायतका क्षेत्रमा कार्यहरू गरिरहेका छौं । यो नगरपालिका नेपालमा मात्र नभएर विश्वकै मानचित्रमा पर्यटकीय क्षेत्रको हिसावले उल्लेख रहेको छ, ठाकुरद्वारा क्षेत्र । समग्रमा हाम्रो कामबाट यस नगरपालिकाका जनताहरू अत्यन्त प्रभावित हुनुभएका छन् ।
० जसरी जनताका ठूलो अपेक्षाअनुसार काम गर्न कतिको चुनौतीहरू छन् ?
— जहिले पनि जनताका अपेक्षा र आशा बढी नै हुने गर्छन् । हामीले पनि जनअपेक्षाअनुसार काम गर्ने प्रयत्न गरिरहेका छौं । जनताले सबैखालका समस्याहरू एकैपल्ट समाधान होस् भन्ने अपेक्षा राखेका हुन्छन् । तर, विकासको गति त्यसरी अगाडि बढ्दैन । त्यसैले हामीले योजनाबद्ध ढंगले विकासका कार्यहरू अगाडि बढाएका छौं । त्यसैले, जनतामा आशा पलाएको छ कि पहिला जुन अव्यवस्था थियो त्यो अहिले विस्तारै सुधार हुँदै गइरहेको छ । त्यसले गर्दा जनताहरू अहिले यो संघीय लोकतान्त्रिक गणतन्त्रप्रति धेरै आशा र अपेक्षा राखेका छन् । हामी जनताबाट पनि निरन्तर सहयोग नै पाइरहेका छौं ।
० सिंहदरबार गाउँ–गाउँमा गएको छ त ?
— हामीले निर्वाचनका बेला पनि यही नारा दिएका थियौं । स्थानीय निर्वाचनपश्चात् सिंहदरबार गाउँ–गाउँमा आउँछ भन्ने प्रतिबद्धता दिएका थियौं । त्योअनुसार नै हामीले जनतालाई चाहिने सेवासुविधाहरू दिइरहेका छौं । सबै वडाहरूबाट जनताको सेवा प्रवाहमा हामी लागेका छौं । विकास निर्माणका कार्यहरू मात्रै नगरपालिकाबाट गरिरहेका छौं भने जनताका अन्य सेवासुविधाहरू वडा कार्यालयहरूबाट नै दिइरहेका छौं । त्यसैले, जनताले सिंहदरबार गाउँ–गाउँमा महसुस गरेका छन् । तर, अहिले पनि जुन अधिकारहरू हामीले पाउनुपर्ने हो त्यो नआइसकेको अवस्था अवश्य हो । अहिले विभिन्न ऐन कानूनहरू बन्न बाँकी छ ।
० ठाकुरबाबा नगरपालिकाको ऐतिहासिक पृष्ठभूमि के छ ?
— राजनैतिक विभाजन अनुसार प्रदेश नम्बर पाँच (५) बर्दिया जिल्लाको मध्य उत्तर खण्डमा अवस्थित यस नगरपालिकाको पूर्वमा बबई नदी, पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्ज, उत्तरमा पनि सोहि राष्ट्रिय निकुञ्ज दक्षिणमा मधुवन नगरपालिका पर्दछ । साविकको ठाकुरद्वारा गा.वि.स.मा रहेको ठाकुरबाबा मन्दिरको नामबाट यस स्थानीय तहको नाम राखिएको हो । यस नगरपालिकाले १०४.५७ वर्ग किलोमीटर क्षेत्रफल ओगटेको छ भने साबिकका चारओटा बगनाह, नेउलापुर, शिवपुर र ठाकुरद्वारा गाउँ विकास समितिलाई गाभेर ९ वटा वार्डमा बिभाजन गरि सेवा प्रवाह गरिएको छ । जनगणना २०६८ अनुसार यस नगरपालिकाको जनसंख्या ४४,३१६ रहेको छ । उक्त जनसंख्याको साठी प्रतिशत बढी आदिवासीका रूपमा रहेको थारू जतिको छ । लैंगिक हिसाबले २४,४१३ महिला तथा १९,९४८ पुरष रहेका छन् । तर वार्षिक जनसंख्या वृद्धिदर, बाहिरबाट हुनेगरेको बसाईसराइ तथा वैदशिक रोजगार र अन्य शिलशिलामा देश बाहिर रहेको जनसंख्यालाई एकीकृत गर्ने हो भने आजका दिनमा यस नगरपालिकाको जनसंख्या लगभग साठी हजार हुनपुग्छ । तर पनि यस नगरपालिका भित्र आजका दिनमा ८,६५२ घरधुरीमा रहेका जनतासंग शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, ढल निकास, सिचाई, कृष्षि, पर्यटन, जैविक विविधता, वन र वन्यजन्तु, सहकारी, बजार, सृचना प्रविध, बिधुत्त, सञ्चार र प्राकृतिक प्रकोप, लगायतका थुप्रै क्षेत्रसंग सम्बन्धित संभावना र चुनौती दुवै छन् ।
० ठाकुरबाबामा पर्यटकलाई लोभ्याउने योजनाहरू के–के छन् ?
— भर्खरै जर्मनीमा विश्वभरिकै पर्यटन व्यवसायीहरूको सम्मेलन भएको थियो, त्यो सम्मेलनले एसिया प्यासिफिक क्षेत्रको जैविक पर्यावरणीय दृष्टिकोणले पहिलो गन्तव्यको रूपमा बर्दिया राष्ट्रिय निकुञ्जलाई राखेको छ । त्यसो भएको हुनाले यो क्षेत्र एकपटक भ्रमण गर्नैपर्ने क्षेत्र हो । त्यसले गर्दा ठाकुरबाबा नगरपालिकाले पहुँचका लागि मार्गहरू प्रशस्त निर्माण गरेको छ । हामीले धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनलाई जोड्ने गरी कामहरू थालनी गरेका छौं ।
० ठाकुरबाबालाई आत्मनिर्भर बनाउन सक्ने मुख्य आधार के हो ?
— हामीले गुरूयोजना बनाइरहँदा दुई कुरालाई जोडेका छौं । एउटा पर्यटन नै हाम्रो आधार हो भने अर्को कृषि । कृषिको हिसावले पनि अत्यन्त उर्बर क्षेत्र हो । यसको पूर्वतिर बबई नदी र पश्चिमतिर कर्णाली नदी बग्छ । हाम्रो पूर्वतिर पाँचवटा वडाहरूमा बबई नदीबाट सिंचाइ भइरहेको छ भने पश्चिमतिर एउटा वडामा कर्णाली नदीबाट सिंचाइ भइरहेको छ । त्यसैले अत्यन्त उर्बर भूमिको रूपमा रहिआएको छ । त्यसैले, हामीले कृषि उत्पादन क्षेत्रको रूपमा पनि विकास गर्न खोज्दैछौं । हामीले कृषि पेशालाई सम्मानित बनाउँदै पलायन भइरहेका युवाहरूलाई आकर्षण गर्न चाहन्छौं ।
तपाईको प्रतिक्रिया