सप्तरी जिल्लाको मध्य दक्षिण भाग तथा पूर्व पश्चिम राजमार्गको दक्षिण भागमा पर्ने यस नगरपालिका वि.सं. २०७३ सालमा पातो बजारमा केन्द्र राखी १० वटा गा.वि.स.हरू मिलेर नगरपालिकाको स्थापना गरिएको हो । पातो अवस्थित शक्तिपीठ डाक्नी माताका नामले यसको नामाकरण गरिएको छ । साविक १० गा.वि.स. हाल १० वडा, कविलासा, हरिराहा, तरही, भुतही, पातो, औरही, ब्रहमपुर, गम्हरिया प्रवाहा, पत्थरगाडा र बनौला वडामा विभाजन गरिएको हो । यस नगरपालिका कुल क्षेत्रफल ६९.११ वर्ग कि.मी. ४४,७८२ जनसंख्या रहेको छ ।
० तपाइँ मेयर भएदेखि अहिलेसम्म के–के काम भयो ?
— नेपाल अहिले नयाँ संरचनामा छ । तीन तहको सरकार छ । करिब दुई दशकदेखि जनप्रतिनिधिविहीनताको अवस्थामा जब हामी निर्वाचित भएर आयौं, जनताका धेरै अपेक्षाहरू देखिए । हामीले जनताका हरेक आवश्यकतालाई मध्यनजर गर्दै विकास निर्माणका कामहरू गरिरहेका छौं । मुख्यरूपमा हामीले शिक्षा, स्वास्थ्य, बाटोघाटोको अवस्था सुधारमा केन्द्रित भएका छौं । यो नगरपालिकामा अहिले ६ वटा बर्थिङ्ग सेन्टर सञ्चालन भएको छ । सबै वार्डहरूमा स्वास्थ्यचौकीको स्थापना गरेका छौं । यस नगरपालिकामा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम भएको छ । त्यस्तै, शिक्षामा पनि सुधार आएको छ । शिक्षातर्फ केन्द्र सरकारको उदारता नै देखिएको छ । विकास निर्माणका कामहरू पनि भइरहेका छन् ।
० तपाइँहरूको काम गराईबाट जनताले स्थानीय सरकारको अनुभूति गरेका छन् ?
— डाक्नेश्वरी नगरपालिकाका जनताले स्थानीय सरकारको बहुत अनुभूति गरेका छन् । हामीले जनताको चाहना र अपेक्षाअनुसार योजनाहरू सञ्चालन गरिरहेका छौं । कुनै पनि योजना सञ्चालन गर्दा हामीले सबै पक्षसँग सल्लाह गर्ने गरेका छौं । लामो समयको अन्तरालपछि जनताको सबभन्दा नजिकको सरकार आउँदा अपेक्षा धेरै देखिन्छन् । तर, हामी विस्तारै ती अपेक्षाहरू पूरा गर्ने क्रममा छौं । हामीले संघीयतालाई संस्थागत गर्ने कार्यमा पनि जनतालाई सम्झाइरहेका छौं । नयाँ व्यवस्था भएकोले जनतालाई सोही बमोजिमको सुविधाहरू दिने भन्ने हाम्रो सोचाइ छ । युवाहरूको क्षमता अभिवृद्धिका लागि पनि हामीले धेरै योजनाहरू ल्याएका छौं । युवाहरूका लागि खेलकुददेखि विभिन्न किसिमका तालिमहरू पनि ल्याएका छौं ।
० मुलुकमा तीन तहको सरकार हुँदा पनि जनतामा व्यापक असन्तुष्टिहरू देखिएका छन् नि ?
— मुलुक अहिले नयाँ संरचनामा जाँदा एकैचोटि सबै कुरा पूरा हुँदैन । विस्तारै जनताका चाहना र अपेक्षाहरू पूरा हुने हो । जनताका हरेक अपेक्षा एकैचोटि पूरा हुन अप्ठ्यारो नै छ । सबै कुरा एकैचोटि पूरा होस् भन्ने जनताको चाहना राम्रै हो तर, काम गर्दा समय लाग्छ नै । एउटा पार्टीको सरकार हुँदा अर्को पार्टीले आलोचना गर्नु नराम्रो होइन । ती आलोचनाहरूलाई हामीले सकारात्मक रूपमा लिँदै काम गर्दै आएका छौं । सकारात्मक कुराहरूलाई अंगीकार गर्ने नीति हाम्रो रहेको छ । तर, जनताले स्थानीय सरकारको अनुभूति गरेकै हुन्, नगरेको होइन ।
० ‘स्थानीय सरकारपछि सिंहदरबार गाउँ–गाउँमा’ भन्ने नारा जनताले महसुस गरेका छन् ?
— सिंहदरबार गाउँ–गाउँमा भन्ने कुरा सुन्दा हामीलाई पनि लागेको थियो कि जनताले सबैथोक गाउँमै पाउँछन् । यस्तो अपेक्षा हामीले पनि गरेका हौं । हामी काम गर्दै जाँदा कतै न कतै ऐन कानूनहरू बाँझ्दै गएको जस्तो लाग्छ । हामीलाई जनताको काम गर्न ऐन नियमले बाँधिदिएको छ कि भन्ने महसुस हुन्छ । सिंहदरबार गाउँ–गाउँमा त छ तर केही अप्ठ्याराहरू अहिले पनि छन् । खासगरी शिक्षाको क्षेत्रमा केन्द्रले पूर्णरूपमा जिम्मे अहिलेसम्म पनि स्थानीय सरकार हस्तान्तरण गर्न सकेको छैन । शिक्षा क्षेत्रको सम्पूर्ण अधिकार हामीलाई नदिँदा सुधार कसरी गर्ने भन्ने अहिलेसम्म पनि हामी अन्योलमै छौं । शिक्षाबाहेक लगभग अन्य अधिकारहरू हामीले पाएकै छौं ।
० भनेपछि पूर्णरूपमा सिंहदरबार गाउँ–गाउँमा आएको छैन ?
— केही क्षेत्रमा सिंहदरबारका सबै अधिकारहरू गाउँमा आएको छैन । अहिले सबै ऐन कानूनहरू बनिसकेको छैन । हामीले ऐन कानूनहरू बनाउँदैछौं । केन्द्रले कतिपय कानूनहरू अलि छिट्टै बनाइदिनुप¥यो । जस्तै, शिक्षा क्षेत्रकै कुरा गर्ने हो भने हामीले चाहेअनुसारको काम गर्न सकिरहेका छैनौं । शिक्षा क्षेत्रमा अलि स्पष्ट नभएकोले हामी गर्न पाइरहेका छैनौं । केन्द्रबाट हामीलाई तलब पठाइदिन्छ र हामीले वितरण गरिदिन्छौं । शिक्षामा योभन्दा बढी अधिकार हामीलाई दिइएको छैन । स्वास्थ्यमा पनि त्यस्तै अवस्था छ । हामीले एउटा राम्रो अस्पतालको अवधारणा पनि ल्याएका छौं ।
० तपाइँ आफ्नो कार्यभित्र डाक्नेश्वरी नगरपालिकालाई कस्तो बनाउने योजनामा हुनुहुन्छ ?
— ‘समृद्ध डाक्नेश्वरी नगरपालिका हामी सबैको चाहना’ भन्ने हाम्रो मूल नारा हो । यही नाराका साथ आफ्ना कार्य योजनाहरू अगाडि बढाउँदै आएका छौं । अहिलेसम्म हाम्रो नगरपालिकाको कार्यालयसमेत छैन । आफ्नो कार्यालय बनाउने सोचमा छौं । यहाँका बाटोघाटोको अवस्था राम्रो बनाउने लक्ष्यका साथ काम गरिरहेका छौं । त्यस क्षेत्रमा हामीले सफलता पनि प्राप्त गर्दै आएका छौं । स्वास्थ्य क्षेत्रमा पनि सुधारका लागि योजना अगाडि बढाउँदैछौं । यस नगरपालिकामा कमसेकम दुईटा बजार बनाऔं भन्ने योजनामा छौं । यो नगरपालिकालाई समृद्ध बनाउनका लागि हामीले दीर्घकालीन तथा अल्पकालीन योजनाहरू पनि ल्याएका छौं । तसर्थ, यहाँका जनताले सिंहदरबार गाउँ–गाउँमा महसुस गर्ने प्रयासमा लागेका छौं । सबै सेवा सुविधाहरू आफ्नो ठाउँमा पाओस् भन्ने हाम्रो चाहना हो ।
तपाईको प्रतिक्रिया