सिंहदरबार गाउँमा भन्ने कुरा नारामै सीमित : रामबाबु यादव

मेयर, गणेशमान चारनाथ नगरपालिका, धनुषा

स्थानीय सम्वाद्

10/4/2019

० गणेशमान चारनाथ नगरपालिकामा निर्वाचित भएको दुई वर्ष भयो, के–के कामहरू भए त ?

— हामीले नगरपालिकामा जनप्रतिनिधिको रूपमा निर्वाचित भएर आएदेखि विभिन्न विकास निर्माणका कामहरू गरेका छौं । यहाँका प्रत्येक विद्यालयहरूमा कम्पाउण्ड वाल, सौचालय लगायतका निर्माण भयो । त्यस्तै, पर्यटन क्षेत्रमा कमला नदीको छेउमा स्वीमिङ्ग पुल, शिवजीको मन्दिर निर्माण गरेका छौं । यस पटकको योजनामा एउटा हस्पिटल बनाउने, नगर भवन बनाउने लगायतका कामहरू सुरू गरेका छौं ।

० करिब दुई दशकदेखि जनप्रतिनिधिविहीनताको अवस्थामा तपाइँहरू निर्वाचि त भएर आउँदा काम गर्न कस्ता समस्याहरू आए ?

— लामो समयको अन्तरालपछि स्थानीय तहका जनप्रतिनिधि आउँदा धेरै नै चुनौती र समस्याहरू छन् । जबसम्म नेपालमा कर्मचारीतन्त्र हट्दैन तबसम्म कुनै पनि प्रतिनिधिले काम गर्न सक्दैनन् । कर्मचारीहरूले जसरी यत्रो समयसम्म बाउको सम्पत्ति बुझेर जसरी लुटेका छन्, अहिलेसम्म उनीहरूको त्यो बानी व्यवहार त्यस्तै छ । सबै काम कर्मचारीहरूकै हातमा हुन्छ । हामीलाई देखाउनका लागि मात्र राखिएको जस्तो छ ।

० जनताको आकांक्षा कस्ता छन् ?

— लगभग दुई दशकदेखि जसरी स्थानीय तहमा विकास भएको थिएन, जनता अहिले आतुर छन् । तर, कर्मचारीहरूका कारण विकास गर्न कठिनाइ भइरहेका छन् ।

० जनताले स्थानीय सरकारको अनुभूति गरेका छन् त ?

— निश्चितरूपमा जनताले स्थानीय सरकारको अनुभूति गरेका छन् । तर, कर्मचारीहरूले गर्दा जुन कठिनाईका बाटाहरू छन्, त्यसले हामीलाई काम गर्न असजिलो भइरहेको छ । जनता हाम्रो कामबाट एकदम सन्तुष्ट छन् ।

० स्थानीय निर्वाचनपश्चात् सिंहदरवार गाउँमा भनिएको थियो, हो त ?

— सिंहदरबार गाउँमा भनाई मात्र हो । खसवादतन्त्र जबसम्म रहन्छ, तबसम्म सिंहदरबार गाउँमा कहिल्यै पनि जान सक्दैन । संविधानले हामीलाई धेरै अधिकारहरू दिएको छ तर, हामीले त्यसको उपयोग गर्न पाएका छैनौं । शिक्षाको क्षेत्रमा एउटा पिउनलाई पनि सरूवा गर्न सक्दैनौं । त्यसैले सिंहदरबार गाउँमा भन्ने कुरा नारामै सीमित छ ।

० मुख्यमन्त्रीको ‘बेटी बचाउ बेटी पढाउ अभियान’ कतिको प्रभावकारी छ ?

— यो कार्यक्रम हामीले पनि आफ्नो नगरपालिकामा राखेका थियौं । विद्यालयहरूमा साइकल पनि वितरण गरेका छौं । तर, साइकल बाँडेर मात्रै विद्यालयहरूको शैक्षिकस्तरमा सुधार आउँदैन । हामीले साइकल वितरण गरिसकेपछि महसुस भयो कि यो त्यति राम्रो कार्यक्रम होइन । छोरी बीमा कार्यक्रम राम्रो छ, यस्तै कार्यक्रमहरू ल्याउनुप¥यो । मुख्यमन्त्रीज्यूले हरेक छात्रालाई साइकल वितरण गर्नुभएको छ । तर, त्यसरी साइकल बाँड्नु राम्रो होइन । जेहेन्दार विद्यार्थीहरूलाई साइकल बाँड्नुपर्ने थियो । त्यसले गर्दा विद्यार्थीहरूमा प्रतिस्पर्धा गर्ने क्षमतामा वृद्धि हुन्थ्यो र त्यसले राम्रो परिणाम पनि दिन्थ्यो । जेहेन्दार विद्यार्थीलाई साइकल वितरण गर्नुको साथै केही राशी रूपैयाँ पनि बाँड्नुपर्ने थियो । त्यसले गर्दा विद्यार्थीहरूमा मनोबल बढ्छ ।

० बेटी बचाउ बेटी पढाउ कार्यक्रमलाई प्रभावकारी बनाउन के गर्नुपर्छ त ?

— यो कार्यक्रम प्रभावकारी बनाउनका लागि प्रत्येक विद्यालयमा कक्षा १ देखि ५ सम्मका छात्रछात्राहरूलाई पुरस्कृत गर्ने व्यवस्था गर्नुपर्छ । जेहेन्दार विद्यार्थीहरूलाई पुरस्कृत गर्दा त्यसको देखासिकी अन्य विद्यार्थीहरूले पनि गर्नेछन् । जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षादिक्षा दिने व्यवस्था गरिदियो भने प्रतिस्पर्धा गर्ने बानी बस्थ्यो । त्यसैले जेहेन्दार विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप पुरस्कृत गर्दै जाने हो भने यो कार्यक्रम सफल हुन्छ । विद्यालयहरूमा जसरी खाजाको व्यवस्था गरिएको छ, त्यस्तै निःशुल्क, पोसाक लगायतका कुराहरू पनि दिनुपर्छ । सबै दिँदा अलि समस्या हुन्छ तर प्रतिस्पर्धा गरेर दियो भने शिक्षामा सुधार हुन्छ ।

० तपाइँ आफ्नो कार्यकालभित्र चारनाथ नगरपालिकालाई कस्तो बनाउने योजना छ त ?

— हामीले बाटोघाटो निर्माणका कामहरू गरेका छौं, त्यो त सधैं चलिरहन्छ । तर, त्यसमा हामीले तीन चार वटा कार्यहरूलाई दीर्घकालीन योजनाको रूपमा लिएका छौं । हामीले नगर भवन, एक सय सय्याको अस्पताल बनाउने र गोदारदेखि कालोपानीसँग पक्की बाटो निर्माण गर्ने हाम्रो सोच छ । तर, हाम्रा उपमेयरले ममाथि मुद्दा नै हाल्नुभएको छ ।

० उपमेयरले तपाइँमाथि किन मुद्दा हाल्नुभएको हो ?

— उहाँले बजेटको रकम बाँडेर चलाउनुपर्ने भन्नुभएको थियो । तर, त्यो रूपैयाँ त कसैको होइन, विकासका लागि हो । उहाँले वार्डले एक–एक करोड रूपैयाँ लिएको हो भने उहाँलाई पनि तीन–चार करोड रूपैयाँ चाहियो भन्नुभयो । तर, यस विषयमा मैले दिन मानिनँ । त्यसैले, उपमेयरले ममाथि मुद्दा हाल्नुभएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ