काठमाडौं । अप्रतिम श्रीवास्तव र आङसोनाम शेर्पा सम्मिलित डिएनएन ’ए’ले ढाकामा भएको असेन्सन २०१८ मा हाईस्कुल विजेता बन्दै नेपालका लागि ऐतिहासिक सफलता हासिल गरेका छन् ।
त्यस्तै त्रिभुवन विश्वविद्यालयका पवन अधिकारी र सौरभ भट्टले खुल्लातर्फ ‘रिजर्भ ब्रेक’ प्राप्त गरेका छन् । सुरुवाती वक्ताहरुको ‘नोभिस’ विधातर्फ नेपालका दुईवटा टिम आर्या घमिरे र आनुस्का पन्तको काठमाडौँ विश्वविद्यालय स्कुल अफ ल ’ए’ तथा शालुपा खनाल र शुभम विक्रम शाहको बृहस्पति विद्या सदन स्कूल ’ए’ फाइनलसम्म पुगे । अन्ततः उक्त विधामा केयुएसएल ’ए’ ले दोस्रो स्थान र शालुपाले पाचौं उत्कृष्ट वक्ताको उपाधि प्राप्त गरे ।
असेन्सन बहस प्रतियोगिता बेलायती संसदीय प्रणालीअन्तर्गत असोज ४, ५ र ६ गते ढाकास्थित इन्डिपेन्डेन्ट विश्वविद्यालय बंगलादेशमा भएको थियो । प्रतियोगतामा २३ नेपाली प्रतियोगी, निर्णायक र अनुगमनकर्ता सहभागी थिए भने भारत, बंगलादेश, मलेसिया, सिंगापुर, बेलायत, ताइवान, इन्डोनेसिया र नेपालका सहित कुल ११६ टिम सहभागी थिए । डिएनएन ’ए’ का श्रीवास्तव र शेर्पाले नेपालका तर्फबाट क्रोएसियामा सम्पन्न भएको विश्व स्कूल वादविवाद प्रतियोगितामा सहभागिता जनाउँदै २६औं स्थान हात परेका थिए, जुन नेपालको राष्ट्रिय किर्तिमान पनि हो ।
सन् २०१५ मा दर्ता भएदेखि नै डिबेट नेटवर्क नेपालले विभिन्न नेपाली टिमहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी गराउँदै आएको छ । विगतका वर्षमा नेपाल ’वर्ल्ड स्कुल्स डिबेट च्याम्पेनशिप’, ’वर्ल्ड युनिभर्सिटीज डिबेट च्याम्पेनशिप ’, ’युनाइटेड एसियन डिबेट च्याम्पेनशिप’, ’जिएनएलयु डिबेट’ र ’आइयुबि असेन्सन’ सहित विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी हुँदैआएको छ ।
तपाईको प्रतिक्रिया