सरसफाइको क्रममा प्रतिक्रिया दिँदै मुख्यमन्त्री राउतले प्रदेशलाई स्वच्छ बनाउन नियमित सरसफाइमा ध्यान दिनुपर्ने बताएका थिए । उनले मठमन्दिरको छेउछाउ र सार्वजनिक स्थलमा जथाभावी फोहर फाल्नेलाई प्रचलित कानूनबमोजिम कारबाही गर्ने प्रक्रियामा जानुपर्ने समेत उल्लेख गरेका थिए । मुख्यमन्त्री राउतले सुरु गरेको जनकपुर सफाइ अभियान कहाँ पुग्यो र त्यसको अवस्था के छ कसैलाई वास्ता छैन । विगतको कार्यक्रमको समीक्षा नगरी हठात रुपमा त्यसै प्रकृतिको अभियान प्रदेश सरकारले वीरगञ्जबाट सुरु गरेको छ ।
अभियानको शुभारम्भ पछि मुख्यमन्त्री राउतले आफैं वीरगन्जको घण्टाघर, माइस्थान, आदर्शनगर, विर्ताहुँदै छपकैयासम्मको सडकमा झाडूले बढाएर फोहोर सफा गरेका थिए ।
यो अभियानका लागि प्रदेश सरकारले २० करोड रुपैयाँ विनियोजन गरेको छ । अभियानका क्रममा प्रदेश २ का आठवटै जिल्लामा दुई दुईवटा सार्वजनिक शौचालय निर्माण गरिने छ भने अभियानअन्तर्गत नै प्रदेशमा रहेका मठमन्दिर र सार्वजनिक पोखरीको सरसफाइ र सौन्दर्यकरण पनि गरिनेछ ।
आफू नजिकको बस्ती सरसफाइ गर्नु राम्रो बानी हो । यसले स्वच्छ पर्यावरण र आदर्श जीवन शैलीलाई प्रोत्साहन गर्छ । यद्यपी मुख्यमन्त्रीबाट सुरु गरिएको यो अभियान मात्र उनको दायित्व भित्र पर्दैन । यो सम्पूर्ण प्रदेशबासीको साझा जिम्मेवारी हो । हामी सबैको स्वस्थ जीवनका लागि यो अभियानमा सम्पूर्ण रुपमा सहभागी हुनुपर्छ ।
स्वस्थ जीवनका लागि सरसफाइको महत्वपूर्ण स्थान हुन्छ । सरसफाइ भन्नाले व्यक्तिगतदेखि लिएर सामूहिक, समाजिक, आन्तरिक र बाह्य वातावरणको सरसफाइसमेत बुझाउँछ । एउटा व्यक्ति व्यक्तिगतरूपमा जतिसुकै सरसफाइमा रहे तापनि यदि सामूहिक, सामाजिक, आन्तरिक र उसको बाह्य वातावरणको सरसफाइ राम्रो र उपयुक्त भएन भने त्यो व्यक्तिगत सरसफाइले मात्र केही तात्विक महत्व राख्दैन ।
यस सन्दर्भमा मुख्यमन्त्री अहिले सफाइ अभियानमा जुटेका छन् । काम नै गरेन भन्नेहरुलाई चुनौती दिँदै उनले वीरगञ्ज गएर प्रदेशलाई सफा बनाउने आफै खटिएका हुन ।
प्रदेशको निर्वाचन सम्पन्न भएर पदबहाली गर्न नपाउँदै मुख्यमन्त्रीले काम नै गरेन भन्ने चर्चा चल्न थालेपछि उनले मुख्यमन्त्री स्वच्छता अभियानमा जुटे । सञ्चार माध्यमले पनि राम्रै सहयोग र प्रचार गरे ।
प्रदेश २ का अधिकांश गाउँलाई खुल्ला दिसामुक्त ताम झामका साथ घोषणा गरियो । त्यो घोषणाले केही दिन त चर्चा कमायो तर त्यो चर्चाले सार्थकता भने अहिले सम्म पाएको छैन । अहिले पनि बिभिन्न गाउँमा अनुगमनमा जाने हो भने शौचालय निर्माण भएका छैनन । निर्माण भएका शौचालय प्रयोग भएका छैनन । प्रायः जसो पानीको अभावका कारण शौचालय प्रयोग नभएको बताइन्छ ।
कुनै पनि अभियानहरु आफैमा नराम्रा हुँदैनन् तर त्यस्ता अभियानहरु सञ्चालनका लागि स्थानीय जनतादेखि सरकारी ओहदासम्मका व्यक्तिहरुले देखाउनुपर्ने चासो र चिन्ता सँगै हुनु पर्छ ।
तपाईको प्रतिक्रिया