नवलपरासीमा त्रिवेणी माघे मेला सुरु

समाचार

2/3/2019

नवलपरासी पश्चिम, २० माघ । नवलपरासीको त्रिवेणीमा माघे औसीका दिन विशाल मेला लाग्ने गरेको छ ।

विनयी त्रिवेणी गाउँपालिका वडा नं.६ त्रिबेणी धाममा करिब एक हप्तासम्म चल्ने मेलामा विशेष गरी माघे औशीको दिन त्रिवेणीधामस्थित नारायणी नदीमा स्नान पश्चात सूर्यको अराधना गर्दा पुण्य प्राप्त हुने विश्वास गरिन्छ ।

ऐतिहासिक एव पर्यटकीय क्षेत्र मानिने त्रिवेणीधाममा नारायणी, सोन भद्र र पूर्ण भद्र नदीको संगमस्थल मानिन्छ । त्रिवेणी धाममा माघे औशीको दिन हरेक वर्ष मेला लाग्ने गरेको छ ।

मेलामा नेपाल लगायत भारतको बिहार, उत्तर प्रदेश, झारखण्ड, दिल्ली, गुजरात, लगायत प्रान्तबाट लाखौं श्रधालु भक्तजनहरु आउने गरेका छन् ।

मेला तथा श्रधालु भक्तजनहरुलाई सरल र सुलभ बनाउनका लागी मेलामा करिब साढे २ सय सुरक्षाकर्मी परिचालन गरिएको नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिएका छन् ।

नेपालका अनुसार सुरक्षाका लागि थप सहयोग नवलपरासी पश्चिमबाट समेत मागिएको छ । नवलपरासी पश्चिम जिल्लाको महेशपुर, भुजहवा र झुलनिपुर नाका बाट भारतीय श्रृद्धालु भक्तजनहरु बढि आउने गरेकोले भक्तजनको सुरक्षाका लागि ती नाकाहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको पश्चिमका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताएका छन् ।

साथै उपसमिति, स्वयम्सेवक, ठाउँ ठाउँमा निःशुल्क स्वास्थ्य शिविर, सार्वजनिक शौचालय, ऐम्बुलेन्स, सशस्त्र प्रहरी बल बाट रेस्क्यु टिम, गोताखोर ,रातिको समयमा मेलाको चारैतिर बाट बत्ती, चिसोबाट बच्नका लागि ठाउँ ठाउँमा धुई बाल्ने भक्तजनको लागि व्यवस्था गरिएको त्रिवेणी मेला व्यवस्थापन समितिले बताएको छ ।

त्यसैगरी पानीको सतह स्थिर राख्नका लागि गण्डक ब्यारेज बिहारसँग सम्झौता समेत भएको जनाइएको छ । औशी मेलामा स्नान तथा अवलोकनका लागि करिब ५ लाख श्रधालु भक्तजनहरु आउने वडा अध्यक्ष पृतम बहादुर गुरुङले बताएका छन् ।

सोना, नारायणी र तपसा नदीको संगमस्थलको रुपमा प्रशिद्ध त्रिवेणी धाम पर्दछ ।

त्रिवेणी धामको महत्त्व

यसको महिमागान वराह पुराण र स्कन्द पुराणको हिमवत्खण्डले पनि गरेका छन् । त्रिवेणी धाममा गजेन्द्रमोक्ष, भक्तेश्वर शिव मन्दिर, लक्ष्मी वेंकटेश्वर मन्दिर, नागाबाबा कुटी, राधाकृष्ण मन्दिर, कोटिहोम यज्ञशाला, संस्कृत विद्यालय र सुन्दर बगैंचाहरू छन् ।

यो स्थान प्राकृतिक रूपमा सुन्दर र धार्मिक रूपमा महत्वपूर्ण छ । स्नान, पितृतर्पण, श्राद्ध, उपनयन, कर्णभेदन, अन्नप्राशन, चूडाकर्म तथा अन्य संस्कारहरू सम्पन्न गर्ने उपयुक्त स्थानका रूपमा त्रिवेणी धामलाई नै लिने गरिएको पाइन्छ ।

कात्तिक मेला, कुम्भ मेला, रामनवमी, व्यास पूर्णिमा, होली, छठ र बुद्ध जयन्तीका अवसरमा यहाँ ठूलठूला मेला लाग्दछन् । त्यति बेला तीर्थयात्रीहरूको ठूलो भीड लाग्ने गर्दछ ।

त्रिवेणी धामका मेलामा नेपालका भन्दा भारततिरका श्रद्धालुहरूको ज्यादा घुइँचो हुने गर्दछ । त्रिवेणीको स्नान अति उत्तम मानिन्छ ।

स्वर्गबाट देवता र अप्सराहरूसमेत यहाँ स्नानका लागि आउने गर्दथे भन्ने जनविश्वास छ ।त्रिवेणी धामको ख्याति जनक वंशदेखि चलेको मानिन्छ ।

तसर्थ यस स्थानको महिमा राम–सीता तथा रामका गुरु वाल्मीकिसँग पनि गाँसिएको छ ।

नारायणी नदीको किनारमा रहेको हुनाले पनि यसको धार्मिक महत्व ज्यादा रहेको हो । नारायणी नदीमा शालिग्राम नदीका रूपमा रहेको कालीगण्डकी मिसिने र शालिग्राम विष्णुको प्रतिरूप मानिने हुँदा त्रिवेणी धाम वैष्णव तीर्थका रूपमा पनि प्रसिद्ध छ ।

नजिकै वाल्मीकि आश्रम, हरिहरक्षेत्र र देवघाट लगायतका अन्य प्रसिद्ध तीर्थहरू रहेकाले पनि त्रिवेणी धामको महत्व बढेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ