राकेश प्रसाद चौधरी
मटिहानी, १६ मंसिर । प्रदेश नं. २ को मटिहानी नगरपालिका ७ मा अवस्थित ३०३ वर्ष पूरानो संस्कृत पाठशालामा १११ वर्ष अगाडि बनाइएको छात्रावास भत्किएपछि पुनर्निर्माणका लागि दाताको खोजी हुन थालेको छ ।
तत्कालीन समयमा नागर शैलीमा बनाइएको भवन २०७२ सालको भुकम्पमा कमजोर भई यस वर्षको मूसलधारे वर्षाले भत्किएको राजकीय संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेलले बताए ।
छात्रावास निर्माणका लागि प्रयोग भएको ईटामा स्थान मटिहानी छापिएको थियो भने सुर्खी, चुना र गुड मिलाएर बनाइएको मसालाबाट तयार गरिएको थियो ।
राजा त्रिभुवनले जिम्मेवारी सम्हालेको एक महिना नबित्दै मटिहानीको संस्कृत पाठशालामा अध्ययन गर्नेमध्ये ५४ ब्राम्हण बटुकका लागि छात्रावास निर्माण गर्ने आदेश भएको थियो ।
राजा त्रिभुवन पाँच वर्षको मात्र भएकोले शासनभार दिव्येश्वरी लक्ष्मी देवीको हातमा थियो भने कार्यकारी अधिकार प्रधानमन्त्री चन्द्र शम्शेर जबराकले सम्हालेका थिए ।
इतिहासकार महेशचन्द्र रेग्मीको अनुसन्धानपत्रमा समेत यस छात्रावासको बारेमा चर्चा गरिएको छ । सन् १९७५ मा प्रकाशित अनुसन्धानपत्र अनुसार राजा त्रिभुवनले ५४ ब्राम्हण बटुकलाई छात्रावास एवं भोजनका लागि वार्षिक ४ हजार १ सय ५० भारतीय रुपैयाँ आम्दानी हुने ख्रेसराहाको जग्गा गुठी बन्दोबस्त गरेका थिए ।
सय वर्ष नाघिसकेको भवनलाई पुरातात्विक महत्वको मान्ने प्रावधान अनुरुप पुरातत्व विभाग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, प्रदेश सरकार, युनेस्को एवं हिमानी ट्रष्टलाई भवन पुनर्निर्माणको काम पूरानै नागरशैलीमा गराइदिनका लागि अनुरोध गरेको प्रधानाध्यापक पौडेलले बताए ।
तपाईको प्रतिक्रिया