सर्लाहीमा २६ जना मलेरियाका बिरामी भेटिए

स्वास्थ्य शैली

सर्लाही, २० जेठ । सर्लाहीको बलरा नगरपालिकामा मलेरियाका थप ४ जना बिरामी भेटिएका छन् । गाउँमा स्वास्थ्यकर्मी खटाएर रगत परीक्षण गर्दा थप ४ जना बिरामी थपिएका जिल्ला स्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ ।

बलरा नगरपालिका–२ हथियौल र वडा नम्बर ९ नरहरगञ्जमा यसअघि २२ जनामा मलेरिया अर्थात् औलोरोग देखा परेको थियो । ठूलो संख्यामा मलेरियाका बिरामी भेटिएपछि सदरमुकाम मलंगवाबाट किट र औषधिसहित चिकित्सकको टोली गाउँमा खटाएर रगत परीक्षण गर्दा थप ४ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय मलंगवाका प्रमुख डा. नवलकिशोर झाले जानकारी दिए ।

डा. झाका अनुसार सबै बिरामीको अवस्था सामान्य नै छ । एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट मलेरिया सर्दछ। मलेरियाका बिरामीहरू भेटिएपछि स्वास्थ्य कार्यालय मलंगवाले बलरामा केही दिन अघिदेखि लामखुट्टे मार्न घर–घरमा कर्मचारी खटाएर औषधि छर्कने काम भइरहेको छ ।

सरकारले सन् २०२२ भित्र मलेरियाको ‘केश’ शून्य पार्ने र सन् २०२५ भित्र यो रोगलाई उन्मूलन नै पार्ने लक्ष्य लिएको अवस्थामा जिल्लाको दक्षिण–पश्चिम भेगस्थित भारतीय सीमावर्ती क्षेत्रमा पर्ने बलरा नगरपालिकामा भने २६ जनामा यसको संक्रमण देखा परेको हो ।

सरकारको लक्ष्यमा नै असर पर्ने गरी मलेरियाका बिरामी भेटिएपछि स्वास्थ्य सेवा विभाग र प्रदेश स्वास्थ्य निर्देशनालयले समेत बलरामा चिकित्सकसहितको टोली खटाएर वस्तुस्थितिबारे जानकारी लिइसकेको छ ।

ती २ गाउँबाट अत्यधिक ज्वरो आएका बिरामीहरु प्रादेशिक अस्पताल मलंगवामा उपचार गर्न आएपछि स्वास्थ्य परीक्षण गर्दा उनीहरूमा मलेरिया संक्रमण रहेको पुष्टी भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ