कैलाली, २८ माघ । कैलालीको गेटा आँखा अस्पतालले सुदूरपश्चिम प्रदेशमा तेस्रोपटक अन्धोपनको सर्वेक्षण सुरु गरेको छ । कैलाली, डडेल्धुरा र डोटीमा आँखाका बिरामीको अवस्था, आँखा रोग संक्रमणलगायत विषयमा तेस्रोपटक अन्धोपनको सर्वेक्षण सुरु गरेको हो ।
अस्पतालका व्यवस्थापक रमेशचन्द्र भट्टका अनुसार प्रदेशका नौ वटै जिल्लाका १३२ स्थानमा अन्धोपनको सर्वेक्षण गरिनेछ । आँखा अस्पतालले अन्धोपन सर्वेक्षणका लागि नेत्र विशेषज्ञको नेतृत्वमा तीनवटा टोली गठन सर्वेक्षणको कार्य थालनी भइसकेको उनले जानकारी दिए ।
५० वर्ष उमेरमाथिका जनसंख्यालाई समेटेर अन्धोपन सर्वेक्षण गरिने उनको भनाइ छ । उनले नेपालमा कुल अन्धोपनमध्ये ८२ प्रतिशत ५० वर्षमाथि उमेर समूहका व्यक्ति रहने गरेका कारण तेस्रो पटकको अन्धोपन सर्वेक्षणमा सोही समूहलाई लक्षित गरिएको बताए। सर्वेक्षणका लागि छनोट भएका प्रत्येक स्थानमा ३५ जनाको आँखा परीक्षण, मधुमेह तथा दृष्टिदोषको कारण लगायतबारे सर्वेक्षण गरिनेछ ।
यसपटकको अन्धोपनको सर्वेक्षणमा चार हजार ६२० जनालाई समावेश गरिने लक्ष्य रहेको जनाइएको छ । गेटा आँखा अस्पतालले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको दृष्टिदोषबारे पनि सर्वेक्षण गरेको जनाएको छ । अस्पतालका अनुसार धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका १८ वटा विद्यालयमा पाँचदेखि १० कक्षामा अध्ययनरत विद्यार्थीलाई समावेश गरेर दृष्टिदोषबारे सर्वेक्षण गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा पहिलोपटक सन् १९८१ मा अन्धोपनको सर्वेक्षण गरिएको थियो । त्यतिबेला सेती अञ्चलमा एक दशमलव दुई प्रतिशत र महाकाली अञ्चलमा शून्य दशमलव आठ प्रतिशत जनसङ्ख्यामा अन्धोपना देखापरेको र त्यसको मुख्य कारण मोतिविन्दु रहेको थियो भने दोस्रो कारण ट्रकोमा रहेको थियो ।
तपाईको प्रतिक्रिया