नगरपालिकामा अनिश्चतकालिन तालाबन्दी

समाचार

1/9/2020

रौतहट, २४ पुस । तलब नपाएको भन्दै रौतहटको फतुवा बिजयपुर नगरपालिकामा शिक्षक तथा कर्मचारीहरुले तालाबन्दी गरेका छन् । नगरपालिकामा कार्यरत शिक्षक, स्वास्थ्यका र अन्य कर्मचारीहरुले बुधबार नगरपालिकाको ढोकामा ताला लगाइदिएका हुन् ।

तलबको माग राख्दै गत असोज ६ गतेदेखी शान्तिपुर्ण रुपमा आन्दोलन गदै आएपनि नगरपालिकाले बेवास्ता गरेको बिजयपुर माविका प्रधानाध्यापक सुदामा यादवले जानकारी दिए ।

तलब नपाएसम्म आन्दोलन जारी हुने उनले बताए । जनप्रतिनिधिहरुको विवादले कर्मचारीलाई मार परेकाले जतिसक्दो चाँडो तलब उपलब्ध गराउन कर्मचारीहरुको माग छ । यो नगरपालिकामा १ सय ९३ जना शिक्षकसहित २ सय ८० भन्दा बढी कर्मचारी कार्यरत छन् ।

यी कर्मचारीले गत साउन महिनादेखिको तलब पाएका छैनन् । असार मै गरिसक्नुपर्ने नगरसभा समयमा नगरिदिदा कर्मचारीहरुले तलब खान नपाएका हुन । गत पुस ११ गते नगरप्रमुख गोपाल रायले नगरसभा गरेको भएता पनि उपप्रमुख कान्ती देबीले विरोध गदै आएकी छिन् ।

नगरसभा सकिनासाथ सो कार्यालयका प्रमुख प्रशासकीय अधिकृत जयचन्द्र साहको सरुवा गरिएको थियो । जसरी पनि प्रशासकीय अधिकृत ल्याउने भन्दै नगरप्रमुख राय अहिले काठमाडौं गएका छन् । कर्मचारीहरुले चाहिँ नगरपालिकामा अनिश्चतकालिन तालाबन्दी गरिदिएका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ