कैलाली, १७ जेठ । महान्यायाधिवक्ताको कार्यालय, काठमाडौंका नायव महान्यायाधिवक्ता खगराज पौडेलको प्रमुख आतिथ्यमा अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको दोस्रो प्रादेशिक सम्मेलन २०७६ धनगढीस्थित शुभश्री प्यालेसमा शुक्रबारदेखि शुरु भएको छ ।
‘सुदृढ फौजदारी न्याय प्रशासनको आधार, अनुसन्धानकर्ता र अभियोजनकर्ताको सरोकार’ भन्ने मूल नाराका साथ सुरु भएको सम्मेलनको उद्घाटन गर्दै नायव महान्यायाधिवक्ता पौडेलले फौजदारी न्याय प्रशासनमा अनुसन्धान पश्चात हुने अभियोजनमा अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता वकिलबीच हुने सहकार्य र समन्वयले थप सहयोग पुर्याउने चर्चा गरे ।
अनुसन्धान र अभियोजनमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता वकिलहरुका मात्रै नभई विज्ञ चिकित्सकहरु समेतको भौतिक प्रमाण संकलन महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै नायव महान्यायाधिवक्ता पौडेलले अनुसन्धान तथा अभियोजनमा देखिएका कमिकमजोरीहरु हटाउन सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
विगतमा भएका सम्मेलनले अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता वकिलबीच न्याय सम्पादनमा महत्वपूर्ण सफलताहरु प्राप्त गर्न सहज भएको समेत बताउँदै उनले यस सम्मेलनमा आएका राय सुझाव केन्द्रीय समन्वय समितिमा समेत छलफल गरिने बताए ।
उनले यस्ता कार्यक्रम अनुसन्धान र अभियोजनमा अत्यन्त फलदायी हुने चर्चा गर्दै ठोस रुपमा निष्कर्ष निकाल्ने तथा आइपर्ने समस्याहरु समाधानका लागि समेत उपयोगी हुने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईले नेपाल प्रहरीको आयोजना र पहलमा भएका सम्मेलनहरुले प्रहरी, सरकारी वकिल, मेडिको अधिकृत, अदालत एवं सम्बन्धित अन्य निकायहरु बीचको सम्बन्ध, समन्वय र सहकार्य अझ मजबुत हुन गई फौजदारी न्याय निरुपणको कार्य सहज, चुस्त र प्रभावकारी हुँदै गएको बताए ।
विगतका राष्ट्रिय र प्रादेशिक सम्मेलनहरुले सुझाएका विषयहरुलाई अझ गम्भिरताका साथ कार्यान्वयन गर्ने प्रयास गरिरहेको चर्चा गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक राईले अपराध अनुसन्धानमा सीमित स्रोत, साधन र जनशक्तिका बाबजुद पनि कार्यरत कर्मचारीहरुको अहोरात्र खटाई र लगनशिलताले अपराध अनुसनधान एवं अभियोनजमा महान्यायाधिवक्ता कार्यालयको हालैको अभिलेख अनुसार ७२.२८ प्रतिशत सफलता प्राप्त भएको समेत बताए ।
तपाईको प्रतिक्रिया