अपराध र भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्छ : प्रहरी महानिरीक्षक खनाल

समाचार

3/10/2019

रुपन्देही, २६ फागुन । नेपाल सरकार गृह मन्त्रालयको वार्षिक कार्यक्रम अनुरुप विविध विषयमा छलफल, अन्तरक्रिया तथा प्रस्तुतीकरण हुने ५ नम्बर प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी रुपन्देहीको भैरहवामा आइतबारदेखि सुरू भएको छ ।

गृहमन्त्रीका सुरक्षा सल्लाहकार सुरक्षाविद् प्रा.डा. ईन्द्रजित राईको प्रमुख आतिथ्यमा सुरू भएको उक्त गोष्ठीको आजको सत्र सम्पन्न भएको छ ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठित अपराध र तस्करी नियन्त्रणमा सबै सुरक्षा निकायको समन्वयकारी भूमिका हुनुपर्ने बताए । आगजनी, अवैध हातहतियार ओसारपसार जस्ता गतिविधि विरुद्ध कडा रुपमा प्रस्तुत हुनुपर्ने उनले उल्लेख गरे ।

साइबर अपराध, मानव बेचबिखन तथा लागूऔषध कारोबार नियन्त्रण गर्न विशेष पहल गरिएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले लागूऔषध दुव्र्यवसनी समस्या समाधान गर्न ७ वटै प्रदेशमा छिट्टै पुनर्स्थापना केन्द्र स्थापना गर्ने योजना रहेको बताए ।

नागरिकको सुविधाका लागि आवश्यकता अनुसार छोटी भन्सार स्थापना गरिनुपर्नेमा उनले जोड दिए ।

अपराध र भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्नेमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जोड दिए ।

घरेलु हिंसाका घटनामा मिलापत्र होइन मुद्दा दर्ता गरी कानुनी कार्वाही गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘अधिकार मानव अधिकार रक्षाका लागि हो, दानव अधिकार रक्षाका लागि होइन ।’

समुदाय–प्रहरी साझेदारी कार्यक्रम फलदायी भएको चर्चा गर्दै उनले यसलाई अझै सशक्त रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

गोष्ठीको आजको सत्रमा उक्त प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय, विपद तथा द्वन्द्व व्यवस्थापन एवं आगामी कार्यक्रम लगायतका विविध विषयमा छलफल, अन्तरक्रिया र प्रस्तुतीकरण भएको थियो ।

सोमबार सम्पन्न हुने उक्त गोष्ठीमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, ५ नम्बर प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, उक्त प्रदेश अन्तर्गतका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ