अपराध र शान्ति सुरक्षा विरुद्धका कार्यमा नेपाल प्रहरी खरो रुपमा उत्रने : प्रहरी महानिरीक्षक खनाल

समाचार

3/16/2019

सुनसरी, १ चैत । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी जुनसुकै बाहनामा हुने अपराध र सार्वजनिक शान्ति सुरक्षा विरुद्धका कार्यमा तत्काल खरो रुपमा उत्रने बताएका छन् ।

आसरा सुधार केन्द्रको धरान उपमहानगरपालिका(६ पानबारीस्थित नवनिर्मित शाखाको शुक्रबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्दै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन् ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमको उत्कृष्ट नमूनाको रुपमा सुधार केन्द्र स्थापना भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरी र स्थानीय समुदाय मिलेमा अपराध न्यूनिकरण तथा लागूऔषध नियन्त्रण गर्न ठोस उपलब्धी हासिल हुने बताए ।

उर्जाशील युवाशक्ति दूर्व्यसनमा फसेर जीवन बर्बाद गर्नुको साथै समाजमा विभिन्न किसिमका जघन्य अपराध हुने देखिएको उल्लेख गर्दै उनले दूर्व्यसनको रोकथाम र नियन्त्रणको प्रभावकारी कार्यान्वयन जरुरी छ भने ।

बाबुनानीहरुलाई अभिभावकले यथेष्ठ समय दिने, समाजमा युवामैत्री वातावरण सिर्जना गर्ने, उनीहरुलाई सामाजिक कार्यमा संलग्न गराउने, टोलटोलमा रोजगारी तथा उनीहरुका रुची अनुसारका रचनात्मक कार्यक्रमहरु समाज र राज्यले उपलब्ध गराउनुपर्ने चर्चा गर्दै उनले भने, “त्यस्ता कार्यक्रमको संचालन समेत युवाहरुलाई दिने हो भने कि त उनीहरु रोजगार कि त रचनात्मक कार्यमा व्यस्त भई कूलतबाट जोगिन सक्छन् ।”

केन्द्रको नयाँ शाखा व्यवस्थित र पारदर्शी रुपमा संचालन होस भन्ने शुभेच्छा व्यक्त गर्दै प्रहरी महानिरीक्षक खनालले अब यस्ता सुधार केन्द्रको आवश्यकता नहोस भन्ने सदीक्षा समेत व्यक्त गरे ।

उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष प्रमिला खनालले दुर्व्यसनमा फसेका समूहलाई उपचारात्मक तथा सुधारात्मक उपायबाट असल तथा सभ्य नागरिक बनाउने लक्ष्यका साथ नेपाल प्रहरीको पहलमा स्थापना भई नेपाल प्रहरी श्रीमती संघको सुपरिवेक्षणमा उक्त केन्द्र संचालन हुने बताइन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ