आगलागीबाट कपिलवस्तुमा ११ घर र ५ गोठ जलेर नष्ट

समाचार

3/23/2019

कपिलवस्तु, ८ चैत । जिल्लाको शिवराज नगरपालिका ६ पैकीवण्डामा शुक्रबार भीषण आगलागी भएको छ ।

आगो बुधई कुर्मीको घरबाट सल्किएको थियो । आगलागीबाट ११ घर र ५ गोठ जलेर नष्ट भएका छन् भने करिब ५५ लाख बराबरको क्षति भएको अनुमान प्रहरीले गरेको छ ।

आगलागीबाट बुधई कुर्मी, वहब मुसलमान, इलाकत मुसलमान, हरिद मिया, राहत मिया, अब्दुल मुसलमान, भगवती पाल, अब्दुल कलाम मुसलमान, सनिउल्ला मिया, समीम नाउ, मन्जुर नाउ, वर्मा कुर्मी, कोदई कुर्मी, किसलावती कुर्मी, मिताउल्ला मिया र बरसती मुसलमानको घर जलेको प्रहरीले बताएको छ ।

यस्तै आगलागीबाट अन्दाजी ४५ वर्षीय समिउल्ला मिया घाइते भएका छन् भने उनको अहिले स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीबाट १ गाई पनि मरेको छ भने २ गोरु घाइते भएको बताइएको छ । शुक्रबार दिउँसो अत्याधिक हावाहुरी चलेको थियो ।

आगलागीबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । यसअघि पनि शिवराज नगरपालिकाको वनकसावासमा भीषण आगलागी भएको थियो ।

वनकसावासमा ४ घर जलेको थियो । जिल्लामा प्रत्येक वर्ष हावाहुरी सुरु हुन साथ आगलागी हुने गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ