काठमाडौँ, १२ चैत । इन्टरपोल महासचिवालयको आयोजना तथा इन्टरपोल नेपालको सहआयोजनामा आपराधिक सूचना विश्लेषणसम्बन्धी प्रशिक्षण काठमाडौँमा शुरु भएको छ ।
इन्टरपोल वातावरण सुरक्षाअन्तर्गत राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा शुरु भएको १० दिने प्रशिक्षणमा प्रशिक्षकसहित १३ विदेशी र चार नेपाली प्रतिनिधिको सहभागिता रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
तालीममा चार नेपाली, दुई कम्बोडियन, दुई भियतनामी, तीन भारतीय, दूई मलेसियन, दुई थाई, एक बेलायती र एक फ्रेन्च नागरिकको सहभागिता छ ।
तालीममा वातावरण सुरक्षा, वन्यजन्तु, आपराधिक क्रियाकलापलगायत विभिन्न विषयमा अनुसन्धान कार्यमा सक्रिय रहेका सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको प्रहरीले जानकारी दिएको छ । फ्रान्सको लियोनमा रहेको इन्टरपोलको महासचिवालयमा हाल १९४ सदस्य राष्ट्र छन् ।
तपाईको प्रतिक्रिया