बारा, ३० असोज । गढीमाई मेला व्यवस्थापन तथा रेखदेख गर्ने अधिकारबारे प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत र भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले विवादास्पद अभिव्यक्ति दिएको भन्दै एक जनप्रतिनिधिले प्रतिवाद गरेका छन् ।
बाराको महागढीमाई नगरपालिका बरियारपुरका मेयर उपेन्द्रप्रसाद यादवले प्रदेश २ का मुख्यमन्त्री राउतलाई चेतावनी दिँदै पदको गरिमालाई ध्यानमा राखेर बोल्न आग्रह गरेका हुन् ।
मुख्यमन्त्री राउत र मन्त्री जितेन्द्र सोनलले महागढीमाई नगरपालिका वडा नम्बर–१ स्थित बरियारमा रहेको गढीमाई मेलाको व्यवस्थापन तथा रेखदेख गर्ने अधिकार महागढीमाई नगरपालिकालाई नभएको भन्दै मेला हेर्ने अधिकार गढीमाई सञ्चालन तथा विकास समितिलाई मात्रै रहेको जिकिर गर्दै सार्वजनिक भाषणमै बोलेका थिए ।
सोको बिरोधमा पत्रकार सम्मेलन आयोजन गर्दै मेयर यादवले प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुलाई स्थानीय तहको काम, कर्तव्य र अधिकारको बारेमा पढेर र बुझेर मात्र बोल्न सुझाए ।
मेयर यादवले स्थानीय कानुन देखाउँदै भने, ‘स्थानीय स्वायत शासन नियवमाली २०७४ मा स्थानीय तह अन्तर्गत रहेको मठ, मन्दिर, धर्म, जात्रा, पर्व र संस्कृतिको संरक्षण तथा नियन्त्रण गर्ने अधिकार स्थानीय तहलाई दिए पनि प्रदेशको मुख्यमन्त्री राउत र मन्त्री सोनलले सार्वजनिक कार्यक्रममा स्थानीय तहले गर्ने कार्यको विरोध गरेर पदीय मर्यादा गिराउने कार्य गरेका छन् ।’
मुख्यमन्त्री र मन्त्रीले संघ, प्रदेश र स्थानीय गरी तीन तहको सरकारले गर्ने कामहरुको बारेमा अध्ययन नै नगरी जथाभावी बोल्दै जनतामा भ्रम सृजना गरेको आरोप उनले लगाए । यसले प्रदेश सरकारको छविलाई नै खराब बनाएको यादवले दाबी गरे ।
तपाईको प्रतिक्रिया