वीरगञ्ज, १७ माघ । अघिल्लो वर्षको तुलनामा यस वर्ष पर्सा जिल्लामा रु चार करोड ५४ लाख ४० हजार मूल्य बराबरको दुई हजार ८४० मेट्रिक टन बढी आलु उत्पादन भएपछि उपभोक्ताले राहत पाएका छन् ।
यस भेगका उपभोक्ता चर्को मूल्य तिरेर भारतीय तथा पहाडको आलु खान बाध्य भएकामा यस वर्ष बढी आलु उत्पादन भएपछि उपभोक्तालाई राहत भएको वीरगञ्ज महानगरपालिका–२७ रामगढवाका शेषमन पण्डितको भनाइ छ ।
हिउँदमा पानी नपरेको तथा समयमा आलु रोपाइँ गरेकाले किसानले यस वर्ष प्रतिहेक्टर २० मेट्रिक टन आलु उत्पादन गरेको ज्ञान केन्द्रका प्रमुख डा रामचन्द्र यादवले बताए । पश्चिमी पर्साको बिरुवा गुठी, बेलवा, भिखमपुर गादीमा किसानले व्यवसायी रुपमा कुण्डी, सिचरी, लालगुलाब ३४ र गाढा जस्ता उन्नत जातको आलु खेती गर्दै आइरहेका छन् ।
पहिला सरकारले किसानलाई अनुदानमा आलुको बीउ उपलब्ध गराउँदै आएकोमा अहिले स्थानीय सरकारले सो अनुदान बन्द गरेकाले सरकारी सुविधाबाट वञ्चित हँुदै आएको अर्का किसान अजय पण्डितको भनाइ छ । प्रतिदिन करीब रु पाँच लाखको आलु वीरगञ्ज बजारमा स्थानीय आलु बिक्री हुन थालेपछि भारतीय तथा पहाडका आलु विस्थापित हुँदै गएको छ ।
स्थानीय बजारमा थोक तथा खुद्रा गरी करीब १०० को हाराहारीमा आलु व्यापारी रहेका छन् । स्थानीय बजारमा अहिले नयाँ आलु प्रतिकिलो रु १३ को दरले बिक्री हुँदै आएको छ ।
तपाईको प्रतिक्रिया