इस्लाम धर्मावलम्बीहरुको ‘चलिस्मा पर्व’ सम्पन्न

समाचार

11/4/2018

विराटनगर, १८ कार्तिक । इस्लाम धर्मावलम्बीका अगुवा इमाम र हसनको स्मृतिमा मनाइने मोहरर्म पर्वको ४०औँ दिनपछि मनाउने ‘चलिस्मा पर्व’ आइतबार सम्पन्न भएको छ ।

मोरङको कटहरी गाउँपालिका–४ को खरवन्दामा आयोजित दुईदिने उक्त पर्वका अवसरमा विभिन्न स्थानबाट आएका ४० समूहका खेलाडीले लाठीको विभिन्न कार्यक्रम प्रस्तुत गरेका थिए । 

एक समूहमा आठदेखि १० खेलाडीको सहभागिता रहेको थियो । लाठी पर्वमा सहभागी खेलाडीले लाठीका विभिन्न प्रतिस्पर्धा देखाउनाका साथै दुस्मनबाट जोगिने कलाकौशलसमेत प्रदर्शन गरेका थिए ।सामाजिक सद्भाव कायम राख्नु नै पर्वको उद्देश्य रहेको चलचित्रका नायक तथा युवानेता सलिम अन्सारीले बताए ।

कटहरी गाउँपालिका–४ का अध्यक्ष मन्टु शेखले मुस्लिम धर्मावलम्बीको संस्कृतिको जगेर्ना र शत्रुबाट जोगिन लाठीको अभ्यास गर्नु नै पर्वको विशेषता हो भने ।

उक्त पर्वका संयोजक मुख्तार शेखले प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेका थिए । मोरङका विभिन्न स्थानमा बसोबास गर्ने मुस्लिम समुदायमा  प्रत्येक वर्ष पालैपालो यो पर्व मनाइने गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ