उखु किसानको भुक्तानीका लागि राजपाका सहमहामन्त्रीसहित कृषकहरु अनसनमा

समाचार

5/19/2019

सर्लाही, ५ जेठ । उखु उद्योगले किसानहरुको भुक्तानी नदिएपछि राष्ट्रिय जनता पार्टी नेपालका सहमहामन्त्री राकेश मिश्रको नेतृत्वमा रिले अनसन थालिएको छ ।

तीन सूत्रीय मागसहित राजपा नेपालका सहमहामन्त्री मिश्रको नेतृत्वमा आइतबारदेखि सर्लाही सदरमुकाम मलंगवाको सहिद चौकमा किसानहरुले रिले अनसन सुरु गरेका छन् ।

उखु किसानको भुक्तानी तुरुन्त दिनुपर्ने, चिनी मिलले आफूखुशी निर्धारण गरेको मूल्य खारेज गरी नेपाल सरकारले तोकेको मूल्य कायम गर्नुपर्ने र उखुको तौलमा प्रतिक्विन्टल २० प्रतिशतसम्म ढालटा (सुख्खा कटी) को नाममा काटिएको रकमसमेत भुक्तानी दिनुपर्ने माग राख्दै अनसन थालिएको हो ।

विगतका तीन आर्थिक वर्षदेखि अन्नपूर्ण चिनी मिल धनकौल र गत आर्थिक वर्षदेखि महालक्ष्मी सुगर प्रालि बगदहले उखु किसानको भुक्तानी हालसम्म दिएको छैन ।

पटक–पटक किसानको पैसा ठगी गर्ने नियतले भुक्तानी नदिएको आरोप लगाउँदै बाध्य भएर उखु किसान आन्दोलनमा होमिनुपरेको बताएका छन् ।

७२ घण्टा भित्र भुक्तानीको माग गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बुझाएको ज्ञापनपत्रबाट कुनै सुनवाई नभएपछि किसान पूर्व घोषित आन्दोलनको कार्यक्रमअनुसार किसान रिले अनसनमा बसेका छन् ।

भुक्तानीको माग गर्दै किसान वैशाख ३१ गते जिल्ला प्रशासन कर्यालय सर्लाहीमा ज्ञापनपत्र बुझाएका थिए । आफूहरुको मागमा कुनै सुनवाई नभए अनिश्चितकालसम्म अनसनमा बस्ने अनसनको नेतृत्व गरिरहेका राजपा सहमहासचिव मिश्रले चेतावनी दिएका छन् ।

सर्लाही निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा उम्मेद्वारसमेत रहेका राजपा नेता मिश्रले रिले अनसनबाट पनि कुनै सुनवाई नभए उखु किसानहरुको हक अधिकारका लागि बजार बन्द गराउने र चक्का जाम समेत गर्ने चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ