उत्तरपूर्वी भारतसँग पर्यटकीय साइनो

समाचार

2/3/2019

काठमाडौं, २० माघ । पोखरासँगको पर्यटनमा साझेदारी गर्ने उद्देश्यले भारतको उत्तरपूर्वी विभिन्न राज्यको प्रवद्र्धनात्मक भ्रमण गर्न लागिएको छ ।

भारतका पर्यटन व्यवसायी एवं पर्यटन सम्बद्ध संस्थासँग पोखराको पर्यटन प्रवद्र्धन गर्ने प्रयासस्वरुप माघ २२ गतेदेखि २७ गतेसम्म सिलगुडी, गुवाहाटी लगायतका शहरको भ्रमण गर्न लागिएको बताइएको छ ।

पोखरासँगको पर्यटनमा साझेदारी गर्ने उद्देश्यका साथ पाँच वर्षअघि नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराको पहलमा इष्टर्न हिमालयन ट्राभल्स एण्ड टुर अपरेटर एशोसिएशन, भारत र पोखरा पर्यटन परिषद्बीच सम्झौतापत्रमा संयुक्त हस्ताक्षर समेत भएको थियो ।

भ्रमणका क्रममा भारतीय उत्तरपूर्वी ६ वटा राज्यका पर्यटन व्यवसाय सञ्चालन गर्ने व्यवसायीको छाता सङ्गठन इस्टर्न हिमालय ट्राभल एण्ड टुर अपरेटर एशोसिएशनका साथै पर्यटन सम्बद्ध व्यवसायीसँग अन्तक्र्रिया गरिने छ ।

उत्तरपूर्वी भारतका पश्चिम बङ्गाल, आसाम, सिक्किम, मणिपुर, मेघालय, मिजोरमलगायतका राज्यबाट धेरै पर्यटक धार्मिक रुपले पनि नेपालको भ्रमणमा आउने गर्दछन् ।

अफगानिस्तानबाट पाकिस्तान हुँदै शुरु हुने विश्वको पूर्वी हिमाली शृङ्खला भारतको उत्तरपूर्वी राज्य भएर भुटान हुँदै नेपालमा आएर टुङ्गिने भएकाले पर्यटकीय विकास र पर्यावरणीय संरक्षणका दृष्टिले पनि पछिल्लो समयमा यसले चर्चा पाउन थालेको छ ।

नेपाल आउने विदेशी पर्यटकमध्ये सन् २०१८ मा १७.०९ प्रतिशत भारतीय पर्यटक हवाई मार्गहुँदै आएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ