जनकपुरधाम, ५ मंसिर । प्रत्येक वर्ष जस्तै यो वर्ष रामजानकी विवाह पञ्चमी महोत्सव धुमधामसँग मनाउने तयारी थालिएको छ ।
यसपटक मंसिर २६ गते परेको सीताराम विवाह पञ्चमी महोत्सवमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी समेत सहमागी हुने कार्यक्रम छ ।
मुख्यमन्त्री योगी अयोध्याबाट साधुसन्तको जन्तीको नेतृत्व गर्दै महोत्सवमा सहभागी हुन जनकपुर आउने जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले जानकारी दिए ।
मुख्यमन्त्री योगी आउने भएकाले विशेष धुमधामको साथ यसटपटक सीताराम विवाह पञ्चमी महोत्सव मनाउने तयारी थालिएको जानकी मन्दिरका सह महन्त वैष्णवले बताए । सप्ताहव्यापी रुपमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सव यस वर्ष मंसिर २१ गतेबाट विधिवत रुपमा शुरु हुँदैछ ।
सीताराम विवाह पञ्चमी महोत्सवका मूल समारोह समितिका अध्यक्ष समेत रहेका सह महन्त वैष्णवका अनुसार विवाह पञ्चमी महोत्सवकै मुख्य दिन मंसिर २६ गते उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी जनकपुर आउने छन् ।
साधुसन्तको जन्तीकासाथ जनकपुर आउने मुख्यमन्त्री योगीले सबैभन्दा पहिला जानकी मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम तय भएको छ । त्यसपश्चात मुख्यमन्त्री योगीको स्वागतमा प्रदेश २ सरकारले मधेश भवनमा आयोजना गर्ने दिवाभोजमा सरिक हुनेछन् ।
प्रदेश २ सरकारको सचिवालय रहेको मधेश भवनमा मुख्यमन्त्री योगीको स्वागतमा साधुसन्त, जन्ती, विशिष्ट व्यक्तित्व र सर्वसाधारणका गरी एक हजार १ जनाको भोज प्रदेश सरकारले आयोजन गर्ने तयारी गर्न लागेको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले बताए ।
मधेश भवनमै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच विशेष भेटवार्ता हुने छ ।
भोज पश्चात दिउँसो जनकपुरको ऐतिहासिक रंगभूमि मैदान बाह्रबिघामा हुने सीताराम स्वयंम्बरमा दुवै मुख्यमन्त्री एवं समकक्षी सहभागी हुने कार्यक्रम छ ।
तपाईको प्रतिक्रिया