सिरहा, २८ मंसिर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले समृद्ध मुलुक निर्माणका लागि उत्पादनमूलक उद्योग सञ्चालनमा विशेष जोड दिएका छन् ।
व्यापारले मात्र देश समृद्ध नहुने भन्दै व्यवसायीहरुलाई उत्पादनमूलक उद्योग संचालन गर्न उनले आग्रह गरेका छन् ।
उद्योग व्यापार संघ गोलबजारका नव निर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री यादवले भने “बाहिरबाट सामान ल्याएर बेच्ने कामले मात्र मुलुक बन्दैन, आफैले उत्पादन नगरेसम्म अवस्थामा फेरबदल पनि आउँदैन, तसर्थ तपाईहरु उद्योगमा लगानी गर्नुस् ।”
उनले अगाडी भने “आजपनि युवाहरुको ठूलो हिस्सा रोजगारीका लागि विदेश पलायन भईरहेका छन, यसलाई आफ्नै मूलुकमा रोजगारी सृजना गरेर रोक्न सकेमात्र मुलुक समृद्धिको दिशामा अगाडी बढ्छ ।”
नयाँ उद्योग सञ्चालनका लागि सरकारको तर्फबाट गर्न सकिने सवैखालको सहयोग गर्न आफू तयार रहेको समेत उनले आश्वासन दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले संघियता अझैपनि संक्रमणकालमै रहेको बताए । संघियता विरोधीहरुले विभिन्न खालको भ्रम फैलाईरहेको भन्दै उनले कर्मचारीतन्त्रले पनि संघियतालाई आत्मसात गर्न नसकेको बताए ।
प्रदेश नं. २ मा २ हजार १ सय ८१ कर्मचारी आवश्यक रहेपनि अहिलेसम्म २ सय ५१ जना कर्मचारी मात्र रहेको भन्दै मन्त्री यादवले कर्मचारी विभिन्न बाहाना देखाएर संघियताकै विपक्षमा उभिएको आरोप लगाए ।
कार्यक्रममा संघिय सासंद लिलानाथ श्रेष्ठ, पूर्व कानुन मन्त्री अजयशंकर नायक, प्रदेश सासंदहरु रामकुमार यादव, प्रमोद यादव, जगत प्रसाद यादव, गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साह लगायतकाले मन्तव्य राखेका थिए ।
कार्यक्रममा उद्योग व्यापार संघ, गोलबजारका नवनिर्वाचित अध्यक्ष भरत अग्रवालले गोलबजारको व्यापारलाई नयाँ उचाईमा पुर्याउँदै व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे ।
तपाईको प्रतिक्रिया