काठमाडौं, १७ माघ । भारतले विदेशबाट आयात हुने पाम आयलमा कडाइ गरेसँगै नेपालबाट निर्यात प्रभावित भएको गुनासोपछि भारतीय टोली पाम आयल उद्योग हेर्न आउने भएको छ । यसअघि पनि नेपालबाट निर्यात हुने पाम आयलमा भारतले चासो दिँदै आएको थियो ।
दुई पटकसम्म भारतले नेपाललाई पत्र नै पठाएर पाम आयलमा भ्यालु एडबारे नेपालसँग सोध्दै आएको थियो । त्यस विषयमा नेपाल सरकारले पनि ३० प्रतिशत हाराहारीमा भ्यालु एड रहेको उत्तर पठाउँदै आएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त जानकारी गराए पनि भारतीय पक्ष विश्वस्त हुन नसकेको देखिएको छ ।
भारतले मलेसियासँगको विवादका कारण गत पुस २३ देखि आयातमा पूर्ण कडाइ गरेको छ ।
सोही कारण नेपालबाट निर्यात हुने पाम आयल भारत जान सकेको छैन । यस विषयमा नेपालले पहल गरिरहेको छ । उद्योग वणिज्य मन्त्रालयले भारतीय दूतावाससँग छलफल गरेको छ । भारतीय पक्षको ‘रेष्ट्रिक्सन’ नेपाल लक्षित नभएको भारतीय दूतावासले स्पष्ट पारेको मन्त्रालयले जनाएको छ ।
भारत नेपालको निर्यात खुलाउन तयार भए पनि भ्यालु एडमा सशंकित अवस्थामै रहेकाले टोलीले उद्योगको अवलोकन गर्न लागेको हो ।
उद्योग मन्त्रालयका सहसचिव नवराज ढकालले भारतीय पक्ष नेपालको पाम आयल उद्योग हेर्न आउन लागेको बताए । उनका अनुसार भारतीय पक्षले नेपालमा रहेको उद्योगहरु हेर्न चाहेको छ ।
भारतमा खपत हुने आम आयलमा नेपालबाट २ प्रतिशत बराबरको निर्यात हुँदै आएको छ । चालू आर्थिक वर्षको पहिलो ५ महिनामा नेपालको कुल निर्यात ४७ अर्ब ६१ करोड रहेकोमा पाम आयल मात्र साढे ११ अर्बको निर्यात भएको थियो ।
तपाईको प्रतिक्रिया