उपभोक्ता समितिले गत वर्षको भुक्तानी छिटै पाउँछन् : अर्थमन्त्री यादव

समाचार

2/17/2020

जनकपुरधाम, ६ फागुन । आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले गत आर्थिक वर्षमा उपभोक्ता समिति मार्फत भएको विकास निर्माण कामको बाँकी भुक्तानी चाँडै हुने बताएका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री यादवले प्रदेशको सर्वोच्च निकाय प्रदेश सभाले निर्देशनात्मक आदेश गरेको र मन्त्री परिषद्को बैठकले समेत भुक्तानी दिने निर्णय गरिसकेको हुँदा भुक्तानी दिन कुनै कानूनी अड्चन नरहेको बताए । 

गत आर्थिक वर्षको बाँकी भुक्तानीको लागी विभिन्न मन्त्रालयहरुले मांग गरेको थप बजेट सम्बन्धमा अर्थ मन्त्रालयले सुनिश्चितताको पत्र पठाइसकेको र आवश्यक प्रक्रियाहरु पुरा गरि मन्त्रालयले पत्र पठाउने वितिकै अर्थ मन्त्रालयबाट रकम निकास हुने उनले बताए ।

बाँकी रकम भुक्तानीको लागी भौतिक पूर्वाधार विकास मन्त्रालयले ३२ करोड ८८ लाख ७४ हजार २५४, समाजिक विकास मन्त्रालयले २७ करोड ७३ लाख २० हजार ४११, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले १५ करोड ७ लाख ७५ हजार ७१३, र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १ करोड ५८ लाख ९९ हजार ७१५ आर्थिक मामिला तथा योजना मन्त्रालयसँग थप रकम माग गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ