जनकपुर, १५ माघ । उमेर नपुगेकाहरुले आफूखुशी भागी विवाह गर्न थालेपछि सामाजिक समस्या बढ्न थालेको छ । कम उमेरमै बच्चा जन्म हुँदा उनीहरुलाई झनै कानूनी समस्यासँगै सास्ती भोग्नु परेको छ ।
लहान प्रहरीमा नाबालक केटाकेटी भागेर विवाह गरेको समस्या समाजकै केही मानिसहरु आएर गुनासो गरे । केटाकेटी घरबाट बाहिर भागिसकेकाले पहिला दुबैलाई खोजी गरेर ल्याउन दुबैपक्ष सहमत भएर त्यहाँबाट फर्किए ।
अहिले सिरहालगायत प्रदेश २ को अधिकांश जिल्लामा यस्तो समस्याहरु देखिन थालिएको हो । छोराछोरीको विवाह २० वर्षपछि गर्नुपर्ने कानूनी प्रावधान थाहा भएपछि अभिभावकले यस्तो विवाहलाई निरुत्साहित गर्न थाल्दा केटाकेटी भागेरै विवाह गर्ने समस्या बढ्न थालेको देखिन्छ ।
विद्यालयमा अध्ययनरतसँगै र विद्यालयको मुख नदेखेकाहरुले समेत यस्तो विवाह गर्ने गरेको घटनालाई समस्याको रुपमा लिन थालिएको छ । संख्यात्मक रुपमा विपन्न र दलित समूदायको केटाकेटी भागेर विवाह गर्दा समाजमा बढी चर्चा हुने गरेको सिरहाका अभियानी प्रमोद सदाले बताए । वर्षभरिमा अभिभावकको सहमति तथा आफूखुशी केटाकेटीले २० बर्षमूनिमा गर्ने विवाहको यकिन तथ्यांकको अभाव छ ।
प्रदेश २ ले छोरी शिक्षा बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन शिविर संचालनका लागि आयोजना गरिएको उद्घोष कार्यक्रमहरुमा समेत २० वर्षमुनिका आमाबाबुबाट जन्मेका बच्चालाई जन्मदर्तालगायतको समस्या रहेको सहभागीहरुले ध्यानाकर्षण गराएका थिए ।
सहभागिहरुले बिवाहकै उमेर १८ बर्ष कायम हुनुपर्ने माग राखेका थिए । मुख्य न्याधिवक्ता दिपेन्द्र झाले एकपटकलाई २० बर्षमुनिकै बाबुआमाबाट जन्मभएका सम्पूर्ण बालबालिकको जन्मदर्ताको समस्या समाधान गर्न पहल भइरहेको जानकारी दिए । यो कानून निर्माण प्रक्रियासँग सम्बन्धित रहेकोले तत्कालै समस्या समाधान हुन नसक्ने बताए ।
विवाहको उमेर १८ बर्ष गर्दा समेत आफूखुशी कम उमेर भागेर बिवाह गर्ने समस्या समाधान हुन नसक्ने मानवअधिकार पैरवी संजाल सिरहाका अध्यक्ष सत्यनारायण ठाकुरको जिकिर छ ।
उनले यसका लागि केन्द्र र प्रदेश सरकारबाट तथ्यांक संकलन गरि उमेर नपुगेकाहरुलाई बच्चा जन्माउन नहुने विषयलाई सामाजिक र स्वास्थ्य जागरणसँग जोड्नुपर्ने बताए ।
तपाईको प्रतिक्रिया