मोरङ, १२ कार्तिक । मोरङको उर्लाबारी नगरपालिका–३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको मुख्य कार्यालय परिसरमा ‘मदन भण्डारी चिल्ड्रेन पार्क’ निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।
सो स्थानमा यसअघि मदन भण्डारी सङ्ग्रहालयमा सञ्चालनमा आइसकेको छ । दशैँको अवसर पारेर प्रतिष्ठान परिसरमा निर्माण गरिएको बालोद्यान सञ्चालनमा ल्याइएको हो ।
जननेता मदन भण्डारीका योगदानलाई समाजका सबै वर्गसँग परिचित गराउने उद्देश्यले चिल्ड्रेन पार्क स्थापना गरिएको प्रतिष्ठानका कार्यकारी निर्देशक विनोद अर्यालले राससलाई बताए ।
प्रतिष्ठानको मुख्य कार्यालयमा रहेको एक बिगाहा क्षेत्रफलमा करीब एक करोडको लागतमा बाल उद्यान निर्माण भएको हो ।
बाल उद्यानमा बालबालिकालाई मनोरञ्जनका लागि विद्युतीय रेल, चिप्लेटी, पिङ, फूलबारी, जननेता भण्डारीको पूर्ण कदको शालिक, पानीको फोहोरा लगायतका सामग्री रहेका छन् ।
सो स्थानमा विद्यार्थीका लागि वित्रान पार्क निर्माण अन्तिम चरणमा पुगेको छ । सो बाल उद्यानमा मोरङको उर्लाबारी, पथरी, लेटाङ, मिक्लाजुङ, रतुवामाई, सुन्दरहैचाका साथै झापा र सुनसरीका विभिन्न स्थानबाट बालबालिकालाई बिदाको समयमा स्थानीय क्षेत्रमै मनोरञ्जनसँगै ज्ञानवद्र्धक शिक्षा सिक्न प्रेरणा मिल्ने अपेक्षा गरेको प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बराल बताउँछन् । सङ्ग्रहालय विद्यार्थीका लागि सूचनाको केन्द्र जस्तो र आम सर्वसाधारणका लागि घुम्न आउने आकर्षक केन्द्र बनेको अध्यक्ष बरालले बताए ।
उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले नगरको विकासमा मदन भण्डारी स्मृृति प्रतिष्ठानले प्राविधिक शिक्षा, जीविकोपार्जन एवं पर्यटन प्रवद्र्धनको क्षेत्रमा गरेको योगदानले उर्लाबारीको नाम तथा प्रतिष्ठा उच्च भएको बताउँदै अझ जनमुखी र सर्वसाधारणको पहुँच पुग्ने परियोजना सञ्चालन गर्न सुझाव दिएका छन् । मदन भण्डारी प्रतिष्ठानमा यसअघि गत चैत १८ गतेदेखि मदन भण्डारी सङ्ग्रहालय सञ्चालनमा आएको थियो ।
सङ्ग्रहालयमा जननेता भण्डारीका विषयमा अध्ययन गर्न स्थानीयवासी, विद्यार्थी, पत्रकार, प्राध्यापक एवं राजनीतिज्ञ आउने गरेका छन् । सङ्ग्रहालयमा जननेता भण्डारीको जन्म भएको ताप्लेजुङको ढुङ्गेसाँघु, कर्मथलो मोरङको इटहरादेखि मृत्यु भएको स्थान चितवनको दासढुङ्गासम्मका सम्पूर्ण विषयलाई प्रस्तुत गरिएको छ ।
सो स्थानमा मदन भण्डारीका दुलर्भ सामग्री एवं दस्तावेजलाई संरक्षण गर्नका लागि अभिलेखालय पनि निर्माण भइरहेको छ । अभिलेखालय निर्माणको काम ५० प्रतिशत बढी सम्पन्न भएको र आगामी माघभित्रमा सम्पन्न गरेर सञ्चालनमा ल्याउने सो कामको मुख्य जिम्मेवारी लिएकी प्रतिष्ठान अन्तर्गतको प्रकाशन एकाइकी सदस्य जयन्ता पोख्रेलले बताउनुभयो ।
प्रतिष्ठानमा तिहारका लागि सयपत्री फूल
मदन भण्डारी स्मृति प्रतिष्ठानले यस वर्षदेखि व्यावसायिक सयपत्री फूलको खेती शुरु गरेको छ । प्रतिष्ठानको परिसरमा उपयोगविहीन अवस्थामा रहेको ३० कट्ठा क्षेत्रफलमा डेढ महीनाअघि १५ हजार बिरुवा रोपिएको थियो । लागत शुल्क कटाएर सर्वसाधारण सबैका लागि प्रतिकेजी रु २५० मा सयपत्री फूल बिक्री गर्ने योजना रहेको प्रतिष्ठानका कार्यकारी निर्देशक अर्यालले बताए ।
भारतबाट आयात हुने सयपत्री फूल पूर्वी मोरङका बासिन्दाले महङ्गो मूल्य लगाएर किन्दै आएका छन् । उर्लाबारी, पथरी, झापाको दमकका बासिन्दालाई पुग्ने सयपत्री फूल उपलब्ध गराउने प्रतिष्ठानले जनाएको छ ।
तपाईको प्रतिक्रिया