एउटै घरमा हिन्दू र क्रिश्चियन, समाजमा भोज बहिष्कार

समाचार

10/30/2018

सिरहा, १३ कार्तिक । सिरहा जिल्लाको सखुवानन्कारकट्टीमा हिन्दूबाट नव क्रिश्चियन बनेका सत्यनारायण पासवानको भाईबुहारीको मृत्युपछि सोही संस्कार अनुसार सद्गत गरियो । आफ्नै जातीय समूदायलाई त्यसबारे जानकारी दिइएन ।

काजकृया समाप्त भएपछि १५ औं दिन सत्यनारायणले सामाजिक भोजको आयोजना गर्यो । जन्मदेखि मृत्युसम्मका संस्कारमा भोज गरिनु समान्य अर्थमै लिने गरिन्छ ।

तर उनका आफ्नै पासवान जातिले भोज बहिष्कार गरे । जातिय मान्यजनले भाईबुहारीको संस्कार गर्दा कपाल नकाटेको र समाजिक बैठकबिना नै भोज आयोजना गरिएकोले बहिष्कार भएको हुनसक्ने स्थानीयले बताए।

एउटै घरमा हिन्दू र क्रिश्चियन धर्म मान्ने भएपनि घरको मूलव्यक्तिले मान्ने धर्म अनुसार नै व्यवहार गर्ने गरिएको छ । सोही कारणले समेत घरभित्रै समेत द्वन्द्वको अवस्था छ ।

पासवानहरुले आफ्नै जातिका नवक्रिश्चियनको भोज बहिष्कार गरेपनि त्यसभेगका यादवलगायतका ब्यक्तिहरुले भोज खाएको शुभकलाल यादवले बताए । भोज खानेहरुमा हिन्दू र नवक्रिश्चियनहरु थिए । सत्यनारायणको भाईबुहारीको उपचारमा सातलाख रुपैयासम्म खर्च भइसकेको थियो भने ऋण लिएर भोज आयोजना गरेका थिए ।

सिरहा जिल्लामा मात्र नभई केही समय अगाडि महोत्तरीको गोरिगम्मा र रतवारामा समेत यस किसिमको घटना भइसकेको छ ।

जातिय छुवाछुत र विभेदको जरो उखेल्न नसक्दा दलित समूदायहरु हिन्दूधर्म त्यागेर नवक्रिश्चियन बन्ने गरेको तर्क स्थानीय रामचन्द्र साहेको छ । सिरहा जिल्लाको ग्रामिण क्षेत्रमा क्रिश्चियनलाई कृष्णाण धर्म भनेर समेत प्रचारप्रसार गर्ने गरिएको पाइन्छ ।

महेशवारीमा क्रियाशिल मानवअधिकार पैरवी संजालका अध्यक्ष सत्यनारायण ठाकुरले यो घटना आफूहरु समक्ष आएपनि धार्मिक गतिविधि एवं मानवअधिकारसँग जोडिएको यस विषयमा दुवैपक्ष राखेर छलफल गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ